लन्डनमा कोसेलीको ३३ औं वार्षिक उत्सव

लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले लन्डनमा भव्य सांस्कृतिक समारोहबीच ३३ औं वार्षिक उत्सव मनाएको छ । ग्रीनफोर्ड टाउनहलमा शनिबार वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले कोसेलीको बेलायतमा नेपाली कला, संस्कृति र भाषा संरक्षण, संवर्धन एवं विकासमा अतुलनीय योगदान रहेको बताए । डा. सुवेदीले बेलायतमा पनि नेपाली कला संस्कृति जीउंदो र जीवन्त राख्न अनि समाजलाई जगाउन र जोगाउन कोसेलीले राजदूत र दूतावासले गर्ने भन्दा ठूलो योगदान गरेको भन्दै प्रशंसा गरे । ‘बेलायतमा नेपाली जाती र समाज जोगाउने अभियान हो तपाईंहरुको’, राजदूतले भने, ‘कोसेलीले नेपाल र नेपालीको पहिचान जोगाइराख्न सधैं चिन्ता र चिन्तन बोकेको छ ।’

अध्यक्ष शर्मिला सिंहले कोसेलीले स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति र भाषाको संरक्षण, संवर्धन र उल्लेखित कुरा नयां पुस्तामा हस्तान्तरण गर्न प्रयत्न 
गरिहेको जनाइन् । विदेशमा बसेर नेपाली मौलिक कला, संस्कृतिलाई जीवन्त राख्न ठूलो चुनौति सामना गर्नुपरिरहेको पनि सिंहले बताइन् । ‘अनेक व्यवधानबीच पनि विभिन्न स्वरुपबाट हामीहरु नेपाली पहिचानका लागि प्रयासरत छौं’- उनले भनिन् ।

सबै उमेर समूहका बालबालिका र किशोर किशोरीहरुलाई गीत संगीत अनि नृत्यको माध्यमबाट नेपाली कला संस्कृतिको केही अंश भावी पुस्तामा हस्तान्तरण गरिरहेको र आफूहरुको अभियानमा आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव एवं सक्रिय सहभागिता रहिरहने विश्वास अध्यक्ष सिंहको थियो ।

कार्यक्रममा कोसेली संस्थापक अध्यक्ष मदन थापाले पनि मन्तव्य दिएका थिए ।

कार्यक्रममा कोसेलीका पूर्व अध्यक्षहरु वसन्त रायक्षेत्री, अमृत गुरुङ, दूतावासका द्वितिय सचिव लव सुवेदी आदि अतिथी गरि सयौं सहभागी थिए ।

कार्यक्रममा कोसेली परिवार र बालबालिका गरि झण्डै ७५ जना कलाकारले विभिन्न गीत संगीत एवं नृत्य प्रस्तुत गर्दा माहोल निकै तातेको थियो । स-साना बालबालिकाले नेपाली राष्ट्रिय गान आफैंले गाए । सो अवसरमा नृत्यका विभिन्न ‘भेराइटी’ प्रस्तुत गरिए ।

पूर्व अध्यक्ष अमृत गुरुङले सन्चालन गरेको औपचारिक कार्यक्रममा महासचिव खेमराज गौतम र उपाध्यक्ष रुवी थापाले स्वागत मन्तव्य दिए ।

दोश्रो चरणको सांगीतिक कार्यक्रम सन्चालन निस्चल दाहाल  र रस्मिता दर्लामीले गरेका थिए भने संगीत संयोजन अमर लामा र डान्स कोअर्डिनेटर/कोरियोग्राफर गीता थापाले गहन भूमिका निर्वाह गरेका थिए ।

तस्विर- नेपालीसमाजयूकेडटकम

प्रतिक्रिया

सम्बन्धित सामाग्री