बेलायतमा आनी छोइङको च्यारिटी भव्य, ४५ हजार 
पाउण्ड संकलन

लन्डन । गायिका आनी छोइङ डोल्माको च्यारिटी नाइटबाट करिब ४५ हजार पाउण्ड संकलन भएको छ । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले रेडिङमा बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ गरेको च्यारिटीमा करिब ९ सय मानिस सहभागी भएका थिए । कार्यक्रम गत ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा भएको हो ।

आनीले बुद्ध सम्बन्धि प्रवचन र केही गीत गाएपछि 
गरिएको ‘ब्रेक’ मा करिब २५ हजार पाउण्ड प्रतिवद्धता आएको बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव एवं कार्यक्रम संयोजक कमल कोने गुरुङले जानकारी दिए । च्यारिटी नाइटको टिकेट शुल्क ५० र १०० पाउण्ड थियो । महासचिव गुरुङका अनुसार, गुम्बा निर्माणका लागि यो च्यारिटी नाइटसहित यसअघिका विभिन्न चन्दामार्फत करिब दुई लाख पाउण्ड संकलन भइसकेको छ ।

बुद्धिष्ट गुम्बा रेडिङ यूके अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त च्यारिटीमा आनी प्रमुख आकर्षण बनेकी थिइन् । उनले ‘फूलको आंखामा फूलै संसार’ सहित अन्य कयौं गीत गाइन् । अन्तिमतिर आमा… बोलको गीत गाउंदा हल स्तब्ध भएको दर्शकहरुले बताएका छन् । आफ्नो सम्पूर्ण जीवन बुद्ध धर्म र मानव कल्याणमा समर्पित गरेकी आनीको प्रवचनले पनि मानिसलाई मन्त्रमुग्ध पारेको थियो ।

आनीलाई लोकप्रिय संगीतकार न्यू बज्राचार्य, वाद्यवादकहरु रमन महर्जन, सुन्दरकुमार महर्जन र प्रिन्स नेपालीले साथ दिएका थिए । कार्यक्रममा संगीतकार बज्राचार्यले पनि आफ्ना चलेका आधा दर्जनजति गीत गाए ।

बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले रेडिङमा गुम्बाको आवश्यकता मध्यनजर गर्दै निर्माण परियोजना अगाडि बढाइएको बताए । यसमा स्थानीय मेयर र काउन्सिलले पनि सहयोगको वचन दिएका छन् । तस्विरहरु- शंकर गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री