लण्डनमा एनआरएनको दोश्रो पुस्तालाई नेपालसंग जोड्नेबारे छलफल

लन्डन- नेपालको एउटा चर्चित विद्यालय युलेन्सका संस्थापकहरुमध्ये एक सोम पनेरुले सबै विद्यालयहरु मुनाफा नकमाउने ‘नट फर प्रफिट’ को रुपमा संचालन गरिनु पर्ने जनाएका छन्।

हालै लन्डनमा आयोजित एक भेटघाटमा शिक्षाविद् पनेरुले बेल्जियमका समाजसेवी  दम्पति गाए युलेन्स तथा मिरियम युलेन्सको सहयोगमा सन् २००६ मा स्थापित विद्यालयमा झन्डै २० प्रतिशत बालबालिका निशुल्क छात्रवृत्तिमा अध्ययन गरिरहेको बताए।

“युलेन्स एक नाफा नकमाउने स्कुल हो। शुरुमा यसको सम्पत्ति २३ लाख डलर जति रहेकोमा अहिले झन्डै २ करोड २० लाख डलर पुगेको छ,” उनले भने।  “निजी विद्यालयको रुपमा रहेको भए यो सबै सम्पत्ति संस्थापकको खातामा जाने थियो, तर ट्रस्टको रुपमा रहेकाले विद्यालयको एक रुपियां पनि संचालकहरुको खल्तीमा जांदैन,” पनेरूले भने।  उनले निजी विद्यालयका संचालक श्रीमान, श्रीमतीको पारपाचुके भएपछी नाम चलेका स्कुल नै बन्द भएको उदाहरण पनि दिए।

बेलायत भ्रमणको क्रममा आफु ४०२ वर्ष पहिले स्थापना भएको रिचार्ड हेल स्कुलमा पनि पुगेको बताउंदै पनेरुले भने, “साहुजीहरु ले चलाएको भए अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालय अहिलेसम्म रहिरहन्थे होला? सयौं वर्षमा कति पटक तिनको किनबेच भै सक्थ्यो?”

युलेन्स एडुकेशन फाउन्डेशनको माध्यमबाट आफूहरुले सार्वजनिक विद्यालयहरुसंग पनि सहकार्य गरिरहेको बताउंदै पनेरुले काभ्रे जिल्लाको ताञ्चोकमा ४८३ रोपनी जग्गा किनेर फाउन्डेशनले झन्डै १६०० विद्यार्थी पढ्ने आवासीय सुविधा सहितको विश्वस्तरको लिबरल आर्ट्स कलेज निर्माण गर्ने तथा बालबालिकाको सर्वांगीण विकासका लागि अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने योजना बनाएको बताए।

उनले फाउन्डेशनले आगामी जनवरी २०२० देखि नै शुरु हुनेगरी १२ वर्ष माथिका किशोर, किशोरीहरुका लागि सात दिने आवासीय शिविर संचालन गर्न लागेको जानकारी पनि दिए।

“एनआरएनको दोश्रो पुस्तालाई नेपालसंग कसरी जोड्ने?” भन्ने विषयमा बोल्दै पनेरुले आवासीय शिविरमा बालबालिकाहरुलाई प्रकृति र संस्कृतिको बारेमा जानकारी दिनुका साथै स्थानीय समुदायसंग घुलमिल गराइने, हाइकिङ्ग, ट्रेकिंग तथा अन्य आउटडोर गतिविधिमा संलग्न गराइने जानकारी दिए।  

सोम पनेरु

हाम्रो पुर्खाको थलो कुन हो? हाम्रो पहिचान के हो? भन्ने थाहा पाएका बालबालिकामा आत्मविश्वास बढ्ने र तिनले संसारकै राम्रो विश्वविद्यालयमा ठाउँ पाउन सक्ने पनि उनले बताए। विदेशमा हुर्किरहेका नेपाली बालबालिकालाइ प्याकेज टुरको व्यवस्था गरी नेपालका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराउने आफूहरुको योजना रहेको पनि उनले सुनाए।

कार्यक्रम संयोजक व्यवसायी तथा समाजसेवी कृष्ण तिमल्सेनाले हालै आफू काभ्रेको ताञ्चोक पुगेको र त्यो क्षेत्र निकै रमणीय लागेको बताए। उनले युलेन्स एडुकेशन फाउन्डेशनले शुरु गर्न लागेको समर क्याम्प विदेशमा बसोबास गरिरहेका नेपाली बालबालिकालाई नेपाल चिन्न निकै उपयोगी हुने विश्वास पनि व्यक्त गरे।

कार्यक्रम संचालन एनआरएनएका आइसीसी सदस्य रामशरण सिम्खडाले गरेका थिए।

तस्बिर-नरेन्द्र बस्नेत 

प्रतिक्रिया

सम्बन्धित सामाग्री