बेलायती युवराजद्वारा ४० गोर्खालाई मेडल

लन्डन । बेलायती युवराज चार्लसले ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाजका सैनिकहरुलाई तक्मा प्रदान गरेका छन् ।

७० वर्षीय युवराजले लन्डन नजिकै केन्टमा रोयल गोर्खा राईफल्सको २५ औं वार्षिकोत्सव अवसरमा मंगलवार रोयल गोर्खा राईफल्सको पहिलो बटालियनका सैनिकहरुलाई तक्मा प्रदान गरेका हुन् । वान आरजीआरका दुई कम्पनी, थर्ड बटालियनको एक कम्पनी, प्यारासुट रेजिमेन्टसहित सयौं सैनिकमाझ युवराजले ४० गोर्खालाई मेडल दिए ।

फोक्सटनस्थित सर जोन मुर ब्यारेकमा अफगानिस्तानबाट फर्केका गोर्खा सैनिकहरुलाई युवराज चार्लसले तक्मा प्रदान गरेका थिए । ति गोर्खा सैनिकहरु नेटो मिसन अन्तर्गत अफगानिस्तानको काबुलमा सात महिनाको अपरेशनपछि हालै फर्किएका थिए ।

ब्रिटिश राजगद्दीका उत्तराधिकारी युवराज चार्लसलाई माला लगाइदिएर गोर्खा सैनिकहरुले स्वागत गरेका थिए । फिल्ड मार्शल युनिफर्ममा सजिएका चार्लसले तक्मा प्रदान गर्दा एकजना गोर्खा सैनिकसंग ठट्टा पनि गरेको बेलायती अखबारहरुले जनाएका छन् ।

युवराज चार्लस सन् १९७७ देखि रोयल गोर्खा राईफल्सको कर्नेल इन चिफ छन् । अब दुई बर्ष भित्र महारानी ९५ पुगेपछि चार्लसले राजगद्दी सम्हाल्ने समाचार हालै प्रकासित भएको छ ।

गोर्खा रेजिमेन्टसंगको शाही कनेक्सन सन् १८७६ देखि भएको हो जतिबेला प्रिन्स अफ वेल्स् पहिलो कर्णेल इन चिफ थिए ।

गोर्खा सैनिकहरुले बेलायती फोर्सेससंग हरेक प्रमुख युद्धमा अग्रपंक्तिमा एकसाथ लडाईं गरेका छन् । दुईवटा विश्व युद्धमा ४० हजार भन्दा बढि गोर्खाहरु दिवगंत भएका थिए भने १३ गोर्खाहरु सर्वोच्च उपाधि ‘भिक्टोरिया क्रस’ बाट सम्मानित भएका छन् । भूपू गोर्खाहरु भने समान पेन्सन आदिमा आफूहरुलाई भेदभाव गरिएको भन्दै बेखुसी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री