शनिबार, मंसिर ७ २०७६ | Sat, November 23, 2019
नेपालको समय: ०७:०८ | UK Time: 01:23

इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा

विनेपाली
२०७६ असार २७ गते ६:४५

लण्डन- इंग्ल्यान्ड २७ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । आयोजक इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा पाँचपल्टको विजेता अस्ट्रेलियालाई ८ विकेटले सजिलै पराजित गरेपछि आइतबार लर्डसमा हुने फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । न्युजिल्यान्डले अघिल्लो दिन पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पारेको थियो । न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनल खेल्दै छ । समूह चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि १ सय १९ रनको जित हात पारेको थियो ।

सन् १९९२ मा पछिल्लो पटक इंग्ल्यान्डले फाइनल खेलेको थियो, जहाँ टोली पाकिस्तानसँग उपाधि भिडन्तमा पराजित भयो । त्यसयता इंग्ल्यान्ड सेमिफाइनल पनि पुग्न सकेको थिएन । १९७९ को फाइनलमा इंग्ल्यान्डलाई वेस्ट इन्डिज र १९८७ मा अस्ट्रेलियाले पराजित गरेको थियो । चार वर्षअघि विश्वकपमा इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो ।

त्यसयता इंग्ल्यान्डलाई यो स्थितिमा पुर्‍याउन अस्ट्रेलियाका प्रशिक्षक ट्रेभोर बेलिसको उल्लेखनीय योगदान छ । चार वर्षको अन्तरमा एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक बनिसकेको टोली विश्वकप उपाधि नजिक पनि पुगेको छ । अस्ट्रेलिया पहिलोपल्ट सेमिफाइनलमा पराजित भएको हो । यसअघिका सात सेमिफाइनल जित्दा अस्ट्रेलिया पाँचपल्ट विश्वविजेता बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक