सुशीला राईद्वारा एनआरएनए यूके अध्यक्षमा उम्मेदवारी दिने घोषणा

लन्डन । महिला अभियन्ता सुशीला राईले एनआरएनए यूकेको नयां कार्यसमिति (२०१९–२०२१) नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । राईका तर्फबाट आइतबार एम्पायर हलमा आयोजित सभामार्फत औपचारिक घोषणा गरिएको हो । सन् २००७ मा बेलायत आएदेखि नै गैरआवासीय नेपाली संघ युकेको सदस्य रहेकी राई यसअघिको कार्यसमितिमा महिला संयोजक र हाल उपाध्यक्ष छिन् ।

अस्वस्थताका कारण राईको प्रतिवद्धता एनआरएनए युके पूर्व महासचिव विजय विक्रम लिङ्देनले पढेर सुनाएका थिए ।

गैरआवासीय नेपाली संघलाई बहुसंख्यक आम प्रवासी नेपालीसित जोड्न, उनीहरुलाई यो संस्था र अभियान ‘हाम्रो पनि हो’ भन्ने भावना जागृत गर्न आफूले यसपटक एनआरएनए युकेको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको राईको प्रतिवद्धतामा छ ।

लामो समयदेखिको सामाजिक कार्यको रुचि र अनुभव, एनआरएनए युकेमा दुई कार्यकालको अनुभव र बेलायतको १२ वर्षको बसाइले यहांका प्रवासी नेपालीको पीडा, समस्या, दुःख राम्रोसंग बुझेको र एनआरएन युके जस्तो संस्थाले के गर्नुपर्छ भन्ने पनि चाल पाएको जनाउंदै राईले गैरआवासीय नेपाली संघ युकेको नवौं कार्यसमितिमा अध्यक्ष पदमा उम्मेदवारी दिने आंट गरेको बताइन् ।

डा. सुमाया राई प्रमुख अतिथी रहेको घोषणासभामा ड्यासमा बस्ने अधिकांश महिला थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तमुधिं यूके अध्यक्ष नन्दजंग गुरुङ, प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी, जनप्रगतिशील नेपाली मञ्च यूके अध्यक्ष सुरेश गौतम, काउन्सिलर प्रवेश केसी, किरात याक्थुङ चुम्लुङ यूके अध्यक्ष कमला लिम्बु, किरात राई यायोख्या बेलायत अध्यक्ष कल्पना राई, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, जंग सुनुवार, नन्दकुमारी लिम्बु, लिला सेलिङ, कोपिला सुब्बा, कर्मा पहाडी शेर्पा, राम गलामी, मानबहादुर गुरुङ, भोलाविक्रम राई, सूर्य खापुङ, नैनसिंह गुरुङ लगायतले शुभकामना दिएका थिए । वक्ताहरुले राईलाई ‘कम बोल्ने तर धेरै काम गर्ने’ स्वभाव भएको महिलाका रुपमा चित्रित गर्दै उनी अध्यक्ष पदका लागि योग्य भएको बताएका थिए ।

खुशी लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा विमला लिम्बुले स्वागत मन्तव्य दिइन् भने काठमाडौंस्थित प्राध्यापक लक्ष्मी राईले प्रत्यासी राईको व्यक्तित्व र वाल्यकालबारे बोलिन् । तस्विर- शिव भण्डारी

राईको प्रतिवद्धता जस्ताको तस्तै-
‘सबै प्रवासी नेपालीका लागि एनआरएन’
गैरआवासीय नेपाली संघ युकेमा मेरो उम्मेदवारी किन?
–सुशीला राई, अध्यक्ष पदको उम्मेदवार, एनआरएनए युके (२०१९–२०२१)

आदरणीय एनआरएनए युकेका अग्रज तथा अभियन्ताज्यूहरु, संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, उपस्थित आमाबुबा, दाजुभाइ, दिदीबहिनी, ईष्टमित्र, साथीभाइ, मेरा शुभचिन्तक, उद्यमी, व्यापारी लगायत पत्रकारज्यूहरु ।

सर्वप्रथम त, मैले एनआरएनए युकेको नवौं कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको कुरा सार्वजनिक गर्न आयोजित ‘उम्मेदवारी घोषणसभा’ मा मेरो निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइदिनुभएकोमा मेरो हृदयदेखिनै तपाईंहरु सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

तपाईंहरुको उपस्थिति, साथ र सहयोगले मेरो हौसला बढाएको छ र यस क्षणमा म मेरा हजुरबुबा २००७ सालको क्रान्तिका नायक स्वर्गीय रामप्रसाद राईलाई स्मरण गरिरहेको छु । उहांकै प्रेरणा र गौरवगाथाका कारण मलाई सानै उमेरदेखि सामाजिक कार्यमा लाग्न उर्जा मिल्यो । त्यसैक्रममा नेपालका विभिन्न संघसंस्था हुंदै म बेलायत आएपछि यहांहरुकै साथ र समर्थनले एनआरएनए युकेको महिला संयोजक र उपाध्यक्षको भूमिकामा रहेर काम गर्ने अवसर पाएं ।

उपस्थित महानुभावहरु,
अहिले विश्वभर रहेका प्रवासी नेपालीहरुलाई ओत दिन सफल गैरआवासीय नेपाली (एनआरएन) अभियान बेलायतबाट नै शुरु भएको हो । गैर आवासीय नेपाली अभियान क्रमशः प्रभावकारी बन्दै जांदा यसको उत्पत्ति थलो बेलायतमै भने त्यति सशक्त र एकतावद्ध बन्न नसकेको गुनासो सुनिन्छ । करिब डेढ लाख प्रवासी नेपालीको बसोबास रहेको ठानिने बेलायतमा त्यसको पांच प्रतिशतभन्दा कम जनसंख्याले मात्र गैरआवासीय नेपाली संघमा सदस्य लिनुले पनि सोको पुष्टि गर्दछ ।

गैरआवासीय नेपाली संघमा सीमित दायरा, वर्गबाहेक आम प्रवासी नेपालीहरुले अपनत्व जनाउन नसक्नुको कारणबाट यस्तो हुन गएको धेरैलाई ज्ञात भएकै कुरा हो । त्यसैले गैरआवासीय नेपाली संघलाई बहुसंख्यक आम प्रवासी नेपालीसित जोड्न, उनीहरुलाई यो संस्था र अभियान हाम्रो पनि हो भन्ने भावना जागृत गर्न मैले यसपटक गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । यही कुराको जानकारी गराउनका लागि बेलायतस्थित पत्रकारहरुको विशेष उपस्थितिमा यस घोषणासभाको आयोजना गरिएको हो ।

मेरो जन्म तेह्रथुम जिल्लामा भई हालको बसोबास नेपालमा विराटनगर र बेलायतमा अल्डरसटमा रहंदैआएको छ । विद्यार्थीकालदेखि नै सामाजिक सेवामा होमिएकी मैले विवाहपश्चात पनि सामाजिक कार्यलाई निरन्तरता दिइ नै रहें । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) महिला समिति मोरङको संस्थापक अध्यक्ष, किरात राई यायोख्या विराटनगर प्रारम्भिक समितिको सदस्य, सुम्निमा सांस्कृतिक परिवार विराटनगरको अध्यक्ष, महिला क्षमता विकास केन्द्र सहकारी संस्था विराटनगरको कोषाध्यक्ष, एबीसी नेपाल विराटनगरको सदस्य, मकालु यातायात सहकारी लिमिटेडको सञ्चालक समिति सदस्य, सामुदायिक फोहोरमैला व्यवस्थापन समितिको सदस्य लगायतका संघसंस्थामार्फत मैले सामाजिक कार्यमा योगदान दिएको छु । म सन् २००७ मा बेलायत आएदेखि नै गैरआवासीय नेपाली संघ युकेको सदस्य छु र यसअघिको कार्यसमितिमा महिला संयोजक र हाल उपाध्यक्ष पदमा कार्यरत रहेको छु । यसबाहेक संखुवासभा समाज युकेको सल्लाहकार, आदिवासी जनजाति महिला महासंघ बेलायतको कोषाध्यक्ष पनि रहिआएको छु ।

म सन् २०१५–१७ एनआरएनए युकेको महिला संयोजक हुँदा १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसमा मेरै संयोजकत्वमा महिला फोरमद्वारा च्यारिटी कार्यक्रम आयोजना गरी कार्यक्रममा संकलित रकम १० लाख ८७ हजार रुपियां चेतना समूहद्वारा घुक्र्यौली–२ सर्लाहीमा सञ्चालित द्वन्द्व पीडित अनाथ गृहका लागि सहयोग हस्तान्तरण गरिएको थियो । त्यसैगरी, दैलेखका आङ खस्ने समस्याबाट पीडित महिलाहरुका लागि सहयोग संकलन गरी १ हजार पाउण्ड नेपाल पठाइएको थियो । यस्तै, सुदूरपश्चिमको डोटी जिल्लाका आङ खस्ने समस्याबाट पीडित महिलाहरुको उपचारका लागि १ हजार ७०० पाण्ड सहयोग संकलन गरी गैरआवासीय नेपाली संघको जर्मनीमा भएको युरोप भेलामा तत्कालीन केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी र सहसंयोजक रजनी प्रधानलाई हस्तान्तरण गरें ।
म एनआरएन युकेको गत निर्वाचनबाट उपाध्यक्ष निर्वाचित भएपछि मलाई भैपरी तथा राहत संकलन अनि वितरण समन्वय विभागको संयोजकको जिम्मेवारी दिइयो । सो क्रममा मेरै संयोजकत्वमा ब्लड क्यान्सरले पीडित बालिका क्रिस्टिना सुनुवारको लागि सहयोग संकलन गरिएको थियो । जसबाट संकलित ५ लाख १ हजार रुपियां पीडितका परिवारलाई हस्तान्तरण गरिएको थियो । साथै, बारा पर्सामा आएको हावाहुरीबाट पीडितहरुको सहयोगका लागि ४ लाख ११ हजार रुपियाँ मेरै संयोजकत्वमा संकलन गरी हस्तान्तरण गरिसकिएको छ । यसबाहेक, बेलायत भ्रमणमा आउनुभएकी माननीय उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र प्रतिनिधि सभा सदस्य नविना लामालाई स्वागत तथा भेटघाट कार्यक्रम पनि मेरै संयोजकत्वमा आयोजना गरिएको थियो । सो क्रममा उहाँहरुलाई गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरता लगायतको मागसहितको ज्ञापनपत्र पनि बुझाइएको थियो ।

म एनआरएनए युकेमा कार्यसमितिमा आवद्ध भएपछि भएका प्राय सबै बैठक, सभा, सम्मेलनमा नछुटाई सहभागी हुंदै आएको छु । यसैगरी एनआरएनएका युरोपस्तरीय सम्मेलन र विश्व सम्मेलनमा सहभागी हुंदै आएको छु । यसबाट राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय समिति कसरी सञ्चालन हुंदो रहेछ, उनीहरुबीच एकआपसमा कस्तो सम्बन्ध रहेछ भन्ने जानकारी लिएको छु ।

यसरी लामो समयदेखिको सामाजिक कार्यको रुचि र अनुभव, एनआरएनए युकेमा दुई कार्यकालको अनुभव र बेलायतको १२ वर्षको बसाइले मैले यहांका प्रवासी नेपालीको पीडा, समस्या, दुःखलाई राम्रोसंग बुझेको छु र एनआरएन युके जस्तो संस्थाले के गर्नुपर्छ भन्ने पनि चाल पाएको छु । त्यसो भएको हुंदा मैले यही सेप्टेम्बर १४, २०१९ का दिन निर्वाचित हुन गइरहेको गैरआवासीय नेपाली संघ युकेको नवौं कार्यसमितिमा अध्यक्ष पदमा उम्मेदवारी दिने आंट गरेको हुं । मेरो स्वभाव बोलेर भन्दा गरेर देखाउने रहेको छ । चुनौतीसित हटेर होइन डटेर सामना गर्ने मेरो आदत छ । मेरो विगत दुई कार्यकालमा मेरो काम हेर्नुभयो भने त्यो अझ छर्लङ्ग हुन्छ । गैरआवासीय नेपाली संघ युकेलाई एकतावद्ध, सशक्त र मजबुत बनाउन र युकेमा रहेका प्रवासी नेपालीका सुखदुखमा दरिलो साथी बनाउनका निम्न कार्य गर्ने मेरो योजना यहांहरु समक्ष जानकारी गराउंदछु ।

मेरा प्रतिवद्धताहरु-
१. गैरआवासीय नेपालीको नेपाली नागरिकताको निरन्तरताको विषयलाई कडा रुपमा उठाउने छु । एनआरएन अन्तर्राष्ट्रिय समितिमार्फत नेपालका राजनीतिक दलहरुमार्फत लविङ गर्ने कार्यलाई सशक्त बनाइ नेपाल सरकारलाई दबाब दिई प्रवासी नेपालीको अधिकार स्थापित गराउन लागि पर्नेछु ।

२. गोरखा भूतपूर्व सैनिकहरुको समान पेन्सन लगायतको मुद्दालाई समाधान गराउन गोरखा भूतपूर्व सैनिक संस्थाहरुसित समन्वय गरी प्रभावकारी रुपमा उनीहरुको समस्यालाई उठाई नेपाल तथा बेलायत सरकारलाई दबाब दिई माग पूरा गराउन पहल गर्नेछु ।

३. बेलायतमा हुर्किरहेका हाम्रा छोराछोरीहरुलाई नेपालसितको निरन्तर सम्पर्कमा राख्न तथा नेपाली कलासँस्कृति, भाषा, पहिरनप्रति आकर्षण जगाउन कार्यक्रम ल्याउने छु ।

४. बेलायतमा अझै पनि धेरै प्रवासी नेपाली महिलाहरु घरायसी कामबाट बाहिर निस्की सामाजिक कार्यमा आउन सकेका छैनन् । जबसम्म आधा जनसंख्याको हिस्सा ओगटेका महिलाहरुको सामाजिक कार्यमा प्रभावकारी सहभागिता हुँदैन तबसम्म यहाँको प्रवासी नेपाली समुदाय बलियो हुन सक्दैन । त्यसैले उनीहरुको नेतृत्व विकासका लागि कार्यक्रम ल्याउने छु ।

५. बेलायतका नेपालीहरुको साझा घर नेपाल हाउस बनाउने योजना लामो समयदेखि पूरा हुन सकेको छैन । मेरो कार्यकालमा सो योजनालाई उच्च प्राथमिकता दिई अगाडि बढाउनेछु ।

६. युकेमा रहेका प्रवासी नेपालीहरुलाई आपतविपतमा सहयोग जुटाउनका लागि एउटा कल्याणकारी कोषको स्थापना गर्नेछु ।

७. अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा बाबाआमाहरुलाई अत्यावश्यक काममा सहयोग गर्नका लागि स्वयमसेवक परिचालन गर्नेछु ।
गैरआवासीय नेपाली संघ भनेको सामूहिक नेतृत्वमा चल्ने संस्था हो । त्यसैले माथिका अजेण्डाबाहेक कार्यसमितिमा छलफल गरी संरक्षक, सल्लाहकार, पदाधिकारी र सदस्यहरुबाट आएका रचनात्मक र सृजनात्मक परियोजनाहरुलाई स्थान दिई संस्थालाई बलियो र गरिमामय बनाउने मेरो पहल हुनेछ ।

अन्त्यमा बेलायतमा रहनुभएका सबै प्रवासी नेपाली बाबाआमा दाजुभाइ दिदीबहिनीहरुमा गैरआवासीय नेपाली संघ युकेको यही जुलाई ३१ सम्म सदस्यता लिइदिन हुन र सेप्टेम्बर १४ मा हुने मतदानमा मलाई अमूल्य मत दिनहुन विनम्र अनुरोध गर्दछु ।

निवेदक
सुशीला राई
उपाध्यक्ष एनआरएनए युके (२०१७–२०१९)
अध्यक्षको प्रत्याशी एनआरएनए युके (२०१९–२०२१)
१४ जुलाई २०१९

प्रतिक्रिया

सम्बन्धित सामाग्री