प्रतिभा नक्षत्र तेस्रो संस्करण खुल्ला मैदानमा, वृहत र पृथक हुने दावी

लण्डन । बेलायती नेपाली समुदायमा फरक पहिचानसहित स्थापित संस्था प्रतिभा नक्षत्रले बिगतका वर्ष झैं विभिन्न क्षेत्रमा सम्भावना भएका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले ‘प्रतिभा नक्षत्र २०१९’ आयोजना गर्ने भएको छ ।

प्रतिभा नक्षत्रको तेस्रो संस्करण २०१९ अगष्ट ४ का दिन सम्पन्न हुँदै छ । प्रतिस्पर्धामा बेलायतका विभिन्न स्थानबाट बालक र युवा गरी १८ जना प्रतिस्पर्धा गर्दैछन् । बेलायतमै जन्मिएका वा लामो समयदेखि प्रवासमा बसेका बालबालिकाहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम नेपाली समुदायमा हुँदै आएको अन्य कार्यक्रम भन्दा वृहत र पृथक रहेको आयोजकले जानकारी दिए । 

संस्थाले यस कार्यक्रमका लागि ‘बिग लोट्री’ ले प्रदान गर्ने कम्युनिटी फन्डबाट केही रकम प्राप्त गरेको छ । बिग लोट्रीले स्थानीय स्तरमा कुनै पनि संस्थाले गर्दै आएको कार्य हेरेर कम्युनिटी फन्ड प्रदान गर्ने गर्छ ।

विभिन्न चरणको प्रतिस्पर्धाबाट प्रथम हुनेलाई युवातर्फ ५०० पाउण्ड, द्वितीयलाई ३०० पाउण्ड र तृतीय प्रतियोगीलाई २०० पाउण्ड, त्यस्तै बाल विजयी प्रतियोगीहरू प्रथम, द्वितीय र तृतीयले क्रमशः ३००,२०० र १०० पाउण्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

विगतका वर्षमा हलभित्र आयोजना गरिंदै आएको यस कार्यक्रम यो पटक खुल्ला मैदानमा गरिंदै छ । विगत वर्ष भन्दा कार्यक्रम वृहत हुने र प्रतिभाहरुको प्रतिस्पर्धासहित साहित्य घर, नेपाली खेलघर, फुड स्टल, चित्रकला प्रदर्शनी लगायत विभिन्न जातिय एवं सांस्कृतिक झांकीहरु समेत प्रदर्शन गरिने भएकोले खुल्ला मैदानमा गर्न थालिएको अध्यक्ष शिम्मी पुनले बताइन् । 

सोही अवसरमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई प्रवर्धन गर्ने उदेश्यले नेपाल भ्रमण वर्षबारे जानकारी दिने र नेपाल झल्कने प्रचार सामग्री समेत बाँडिने पुनले जनाइन् ।  

विजया दाहाल भण्डारीको संयोजन रहने उक्त कार्यक्रम सफल पार्न स्टेज सजावटमा अर्जुन शाही, आर्थिक संकलन सूर्य विक्रम केसी, अतिथि सत्कार इन्द्र कार्की खस, मिडिया संयोजन सन्तोस कार्की, पब्लिक रिलेसन राजेन्द्र खस, निर्णायक छनोट संस्थापक संरक्षक मनिष श्रेष्ठ, खेल संयोजक दीर्घ केसी, वेब डिजाइन अभि महर्जन लगायत विभिन्न कार्यका लागि संस्थाका सदस्यहरुमाझ काम विभाजन गरिएको छ ।

हेर्नुहोस् भिडियो पनि-

प्रतिक्रिया

सम्बन्धित सामाग्री