लन्डनका उद्यमी तिमल्सेनाले युरोप 
उप-संयोजकमा उम्मेदवारी दिने

समाजसेवी कृष्ण तिमल्सेना

लन्डन । बेलायतमा स्थापित एकजना सामाजिक अभियन्ता तथा व्यवसायी कृष्ण तिमल्सेनाले गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप 
उप-संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए केन्द्रिय नेतृत्व चयन हुन करिब ९ साता बांकी रहंदा तिमल्सेनाले उम्मेदवारीको आकांक्षा प्रस्तुत गरेका हुन् ।

बेलायतको नेपाली समुदायमा स्वच्छ छवी, मेहनती, इमान्दार र सहयोगी अभियन्ताका रुपमा परिचित तिमल्सेनाले संघमा संगालेको लामो अनुभव थप उपयोग गर्न अक्टोबरमा हुने विश्व सम्मेलनमा युरोप उपसंयोजक पदमा उम्मेदवारी दिन लागेको जनाए ।

युरोपस्थित संघसंस्था र व्यवसायीलाई नेपालमा सहयोग तथा लगानीका लागि प्रेरित गर्ने, युरोपमा एनआरएन एनसीसीलाई थप विस्तार गर्ने, युरोपमा सक्रिय 
राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दीगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउने, युरोपमा बसेका नेपालीहरुको साझा समस्या पहिचान गरी त्यसको निराकरण प्रयास गर्ने, युरोपमा जन्मे हुर्केका नेपाली बालबालिकालाई एनआरएनमा समाहित 
गर्दै देश, भाषा र संस्कृतिप्रति रुची जगाउन पहल गर्ने लगायत एजेन्डा उनका छन् ।

‘देश निर्माणको ठूलो जिम्मेवारी अहिले एनआरएनको कांधमा पनि आएको छ’, तिमल्सेनाले भनेका छन्, ‘त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्न मेरो उम्मेदवारी हुनेछ । विशेषतः युरोप क्षेत्रका नेपालीसंग हरेक सुःख दुःखमा संगै हिंड्ने उनको प्रतिवद्धता छ ।’

सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना सन् २०११ देखि २०१३ सम्म एनआरएनए यूकेको कार्यसमिति सदस्य, सन् २०१३ देखि ०१५ सम्म एनआरएन यूके उपाध्यक्ष र २०१७ देखि १९ कार्यकालका लागि अध्यक्ष प्रत्यासी थिए । शेष घलेको कार्यकाल सन् २०१५ देखि ०१७ सम्म केन्द्रीय सदस्य रहेका उनी हाल एनआरएनए यूके सल्लाहकार, एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स जस्तो महत्वपूर्ण टास्क फोर्समा छन् । उनले एनआरएनले 
सञ्चालन गर्दै आएको सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउंदै आएका छन् ।

करिब डेढ दशकदेखि लन्डन रहंदै आएका उनी यूकेमा समाजसेवी व्यवसायीको रुपमा परिचित छन् । विभिन्न च्यारिटी अलवा सामाजिक गतिविधिमा उनको संलग्नता प्रेरणादायी छ । च्यारिटी र तिमल्सेना एक अर्काका पर्याय रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउंछन् । उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।

तिमिल्सेनाले केही महिनाअघिमात्र धादिङको विद्यालय पुनर्निर्माणमा १३ लाख ६० हजार रुपैयां प्रदान गरेका थिए । तिमिल्सिनाले धादिङ निलकण्ठ नगरपालिका १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि उक्त सहयोग गरेका हुन् । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयां प्रदान गरेका थिए ।

मुलतः सेफ पृष्ठभूमिबाट आएका उनको नेपाल र यूकेमा विभिन्न व्यवसाय छ । एक दशक देखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउंदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी पनि छ । नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष तिमल्सेनाकै प्रयासमा यहांका सेफहरु संगठित भएका थिए ।

उनी संलग्न नरहेको नेपाली संघसंस्था बेलायतमा कमै छन् । मिलनसार र गफ भन्दा काममा बढि विश्वास गर्ने उनी समाजसेवा निस्वार्थ हुनुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री