लाइमलाइटमा ‘भर्सटाइल’ भट्टराई

Phadindra Bhattarai

लन्डन । मिडिया, साहित्य, व्यवसाय र समाजसेवा । उल्लेखित क्षेत्रमा एकसाथ अगाडि बढेका फडिन्द्र भट्टराई एनआरएनए यूके आसन्न चुनावले बडो दौडधुपमा छन् । महासचिव पदका प्रत्यासी हुन् उनी । आफूलाई बलियो दावेदारका रुपमा प्रस्तुत गरिरहेका उनी एनआरएनएको स्थापनाकालदेखि नै एक कार्यकर्ताका रुपमा यस अभियानमा संलग्न छन् । उनले एनआरएनए यूकेको पांचौं कार्यसमिति (२०१३-१५) मा कार्यकारी सदस्य र छैंठौं कार्यसमिति (२०१५-१७) मा सचिवको जिम्मेवारीमा रहेर अनुभव संगाले । एनआरएन यूकेको विधान निर्माणका लागि गठित तीन सदस्यीय विधान समितिको एक सदस्यका रुपमा काम गर्ने क्रममा आफूले संस्थाको आन्तरिक पाटो समेत नजिकबाट बुझ्ने मौका पाएको उनी बताउंछन् ।

अहिले एनआरएन आइसिसीको मिडिया तथा भाषा, साहित्य दुवै ‘टास्कफोर्स’ मा सदस्य छन् । एनआरएनए यूकेमा सल्लाहकार पनि । एनआरएन अभियानका साथै अरु विभिन्न संघसंस्थामा आवद्ध रहेर पनि उनले सामाजिक क्षेत्रमा आफूलाई क्रियाशिल राख्दै आएका छन् ।

गुल्मी जिल्ला समाज यूके, चाल्टन नेपाली समाज यूके, प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिर लगायतका बेलायतस्थित केहि नेपाली संघसंस्थाको स्थापनादेखि वर्तमानसम्म पनि सक्रिय छन् उनी । यी संस्थाहरुको अलावा नेपाल पत्रकार महासंघ यूके, बुद्ध फाउण्डेसन यूकेसहितका संघसंस्थामा अहिले सल्लाहकारको भूमिकामा छन् भट्टराई ।

बेलायतको दुई दशक लामो बसाईका प्रारम्भिक दिनहरु अध्ययनमा बितेपनि पछिल्लो एक दशकदेखि व्यवसायमा संलग्न रहंदै आएका छन् उनी । त्यसबाहेक पत्रकारिता, समसामयिक लेखरचना तथा साहित्य सिर्जनाहरुमार्फत पनि समुदायसंगको आफ्नो सम्बन्धलाई थप निकट बनाउने मौका पाएको उनी बताउंछन् ।

‘विभिन्न सामाजिक संघसंस्थाहरुसंगै एनआरएनए अभियानका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै जांदा धेरै कुरा देख्ने, बुझ्ने र सिक्ने अवसर मिल्दोरहेछ’, उनले भने, ‘संस्थाले सञ्चालन गरेका गौरवशाली कार्यहरु देख्दा झन उर्जा र उत्साह मिल्ने मात्र होइन, संस्थाभित्रका कैयौं कमजोरी र समस्याहरुले तीसंग जुधेर काम गर्ने हिम्मत र आकांक्षा पनि पैदा भएको छ ।’

काम गर्ने क्रममा हासिल गरेका यीनै अनुभव, सिकाइ र आफ्नो सीप, क्षमतालाई उपयोग गर्दै अब थप जिम्मेवारी बोकेर संस्था र यसका सदस्यहरुको हितमा काम गर्ने संकल्पसहित अघि बढ्न खोजेको उनले बताए । ‘मेरा समस्त अग्रज, सहकर्मी तथा शुभचिन्तक मित्रहरुबाट सधैं जस्तै साथ, सहयोग र मार्गदर्शनको आशा राखेको छु’, उनको अपिल छ, ‘यसपटक मलाई मत दिएर जिताउनु भए संस्थाको गरिमा झन् उचो बनाउने छु ।’

स्पष्ट वक्ता, भिजन भएका र वौद्धिक ‘पर्सनालिटी’ का 
रुपमा पनि परिचित छन् भट्टराई । उनको बोल्ने, लेख्ने कला एनआरएनए यूके महासचिव पदका लागि ‘प्लस पोइन्ट’ हुने धेरैको बुझाइ छ । यसपटकको चुनावमा महासचिव पदमा अरु प्रचारित प्रत्यासी कमजोर 
धरातलका भएकाले पनि भट्टराईलाई कतिपयले भावी महासचिवका रुपमा हेरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री