सोमबार, भदौ २ २०७६ | Mon, August 19, 2019
नेपालको समय: ०५:३८ | UK Time: 00:53

अक्सफोर्डको महाविद्यावारिधिको अनुभूति

प्रा डा. सूर्यप्रसाद सुवेदी (क्यूसी ओबिइ)
२०७६ साउन २७ गते १३:०७

प्राध्यापक सुवेदी

गत महिना विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले मलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि 
प्रदान गर्ने निर्णय गरयो । यस्तो उपाधि अक्सफोर्डले विरलै र आफ्ना प्रकाशित कृतिद्वारा असाधारण प्रकृतिको योगदान दिने प्राध्यापक वा श्रष्टाहरुलाई मात्र प्रदान गर्दछ । नेपालबाट उठेर ज्ञानको खोजीमा झण्डै तीस वर्षअघि पाश्चात्य मुलुकतर्फ कदम चालेको एउटा नेपालीले यस्तो उपाधि पाउंदा हर्षित र गौरवान्वित हुनु स्वभाविकै थियो । हुन पनि राजनीतिमा लागेकाहरुका लागि मन्त्री वा प्रधानमन्त्री हुनु सफलताको उत्कर्ष मानिन्छ र कुटनीतिक सेवामा काम गर्नेहरुका लागि राजदूत हुनु ठूलो उपलब्धि मानिन्छ । त्यसैगरि प्राज्ञिक क्षेत्रमा लागेका हामीजस्ता व्यक्तिलाई प्रतिष्ठित विश्वविद्यालयमा पूर्ण प्राध्यापक बन्नु सफलता हो र महाविद्यावारिधि जस्तो उपाधि पाउनु सफलताको उत्कर्ष हो ।

अक्सफोर्डले कसैलाई यस्तो उपाधि प्रदान गर्नुअघि त्यो व्यक्तिले संसारको ज्ञान भण्डारलाई विस्तार गर्न कति ठूलो योगदान गरेको छ भन्ने मुल्यांकन गर्दछ । त्यस्तो मुल्यांकनको क्रममा मैले आफ्नो ४६ पृष्ठको बायोडाटा, १२ पृष्ठ लामो आफ्नो प्रकाशनको सूची र आफ्ना 
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रकाशन गृहले प्रकाशित गरेका ग्रन्थहरु र उच्चस्तरका जर्नलहरुमा प्रकाशित कृतिहरुको दुई बाकस पेस गरेको थिएं । वरिष्ठ 
प्राध्यापकहरु समावेश हुने मुल्यांकन समितिले निकै समय लगाएर मेरा कृतिहरु अध्ययन गरि मैले अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको हुनाले महाविद्यावारिधि प्रदान गर्न योग्य व्यक्ति भनि विश्वविद्यालयलाई सिफारिस गरयो । त्यसपछि अक्सफोर्डको उच्चस्तरिय समितिले ति सिफारिसहरु उपर विचार विमर्श गरि मलाई सो उपाधि प्रदान 
गर्ने निर्णय गरयो ।

सुःखद संयोग यस्तो पर्यो कि त्यो खबर आउंदा म मेरा स्वर्गीय पिताजीको शतवार्षिकीको सन्दर्भमा मेरा मातापिताको बैकुण्ठबासको कामना गर्दै लन्डनको मेरो घरमा श्रीमद्भागवत महापुराणको यज्ञ गर्दै थिएं । मेरो यो उपाधिले मेरा मातापिताका लागि एउटा सच्चा श्रद्धासुमन अर्पण गर्ने प्रतीकको रुपमा काम गर्यो । आफ्नो जिन्दगी धर्म र संस्कृतिको संरक्षण र शिक्षाको ज्योति बाल्न समर्पण गर्नुभएका मेरा पिताजीका लागि मेरो यो उपाधि एउटा उपयुक्त श्रद्धाञ्जलि थियो ।

मेरो घर नर्दन हाइट्स भनेर चिनिने लन्डनको सबैभन्दा अग्लो ठाउं हाइ बार्नेटमा छ । लन्डनको यस्तो डांडाको टुप्पाबाट प्रत्येक दिन शंखनाद र गान बजान गरेर सप्ताह गरियो र कोसौं परका छिमेकीहरुले शंखनाद सुने होलान् र कसैले कतै सिकायत गर्छन् कि भन्ने लागेको थियो । तर, बेलायत जस्तो सहिष्णु समाजमा त्यस्तो केही भएन । बरु केही छिमेकी सहभागी हुन आए र अरु केहीले पछि भेट हुंदा तिमीहरुको घरबाट ८ दिनसम्म अनौठो तर मिठो आवाज आएको थियो त्यो के थियो भनेर सोधे र मैले हिन्दू धार्मिक यज्ञको आवाज हो भनेर बताइदिएं । एउटा लब्धप्रतिष्ठित पण्डितको छोरो भएपनि मैले राम्रो पण्डितबाट एकाग्र भएर 
श्रीमद्भागवत श्रवण गरेको थिइन र त्यो गर्ने धेरै रहर थियो । त्यसैले होला पूर्वांगको एकदिन र सप्ताहका सात दिन बितेको पत्तै भएन । भगवानको स्तुतिका श्रीमद्भागवतका सुन्दर गाथाहरु अत्यन्तै मनमोहक रहेछन् । म आफैं र दाजुहरुपनि संस्कृतमा पाठ गर्न सक्ने भएकाले वाचक र उपवाचक पण्डितहरु संगसंगै कतिपय सुन्दर गाथाहरु वाचन गरेको हुनाले मेरो घर र लन्डनको छरछिमेक नै गुन्जायमान भएको थियो । त्यतिमात्र नभएर सप्ताह सकिएको एकमहिनासम्म भगवानका स्तुतिका श्लोकहरु मेरो दिमागमा गुन्जन भइरहे ।

श्रीमद्भागवतको एकपटक राम्रोसंग रसास्वादन गरेपछि फेरि फेरि गर्न मन लाग्ने रहेछ । मिठासपूर्ण र छन्दोवद्ध तरिकाले महर्षि बेदव्यासले रचना गरेको श्रीमद्भागवत महापुराण भक्ति, ज्ञान र बैराग्यले भरिपूर्ण ग्रन्थ रहेछ । श्रीमद्भागवत श्रवणले अहंकार, कुण्ठा र राग टाढा जाने रहेछन् र यहीं पृथ्वीमै स्वर्गको अनुभूति हुने रहेछ । त्यसैले होला मेरा पिताजीले जिन्दगीको प्रत्येक दिन बिहान श्रीमद्भागवतको कम्तीमा एउटा अध्याय पाठ गरेर दिन चर्या शुरु गर्नुहुन्थ्यो र उहां सन्त बन्नु भएको थियो । श्रीमद्भागवत श्रवण गरिसकेपछि मानिस शान्त र सात्विक बन्ने रहेछ र एक किसिमको निर्वाण 
प्राप्त हुने रहेछ ।

सप्ताहकै क्रममा अक्सफोर्डबाट महाविद्यावारिधि गरेको खबर आएपछि म र मेरो परिवार, दाजुहरु, पण्डितहरु, भतिजा भतिजी लगायत सबैमा यसले थप खुशी सञ्चार गराएको थियो । बेलायत विद्याको खानी हो, यहां विद्वताको कदर हुन्छ । प्राज्ञिक र शैक्षिक क्षेत्रमा कुनै राजनीतिक हस्तक्षेप हुंदैन् । राजनीतिक भागवण्डाको त कुरै पर छाडौं । बेलायत प्राध्यापकहरुलाई सम्मान गर्ने र प्रतिभाको कदर गर्ने मुलुक हो । त्यसो भएर नै म एउटा नेपालीलाई बेलायतका परराष्ट्रमन्त्रीले सल्लाहकार नियुक्त गरेका थिए । यहां प्राज्ञिक क्षेत्रमा स्वच्छ प्रतिष्पर्धा हुन्छ । त्यसो भएर नै म एउटा नेपालीले बेलायती महारानीबाट ओबिइ र क्यूसी जस्ता प्रतिष्ठित मान सम्मान आर्जन गर्न सकें र अहिले अक्सफोर्डले महाविद्यावारिधिबाट सम्मान गर्यो ।

बसुधैव कुटुम्बकम र पण्डिताः समदर्शिनमा विश्वास गर्ने व्यक्ति भएकोले मलाई संसारनै आफ्नै हो जस्तो लाग्छ । हुन पनि विद्या आर्जनका लागि मेरा छात्रछात्राहरु संसार भरिबाट आएका हुन्छन् । मेरो शरीर नेपाली हो भने आत्मा ग्लोवल हो र मेरो काम संसारको भलो हुने गरि कलम चलाउनु हो ।

म ज्ञानको खोजी, ज्ञानको सिर्जना, ज्ञानको विस्तार र आर्जन गरेको ज्ञान सर्बजन हिताय र सर्बजन सुखायको लागि उपयोगमा ल्याउने क्रममा जहां पुगेको छु त्यो यात्रा तय गरेको हाम्रा पिताजीकै प्रेरणा र मार्ग 
निर्देशनकै आधारमा हो । ज्ञानको पहाड चढेर कहिल्यै सकिन्न । ज्ञानको भण्डार भनेको नेपालको पहाडी श्रृंखला जस्तै हो । एउटा पहाड चढ्यो अनि चढिसकेपछि अर्को ठूलो पहाड देखिन्छ । त्यो पनि चढेपछि झन् ठूलो अर्को पहाड देखिन्छ र त्यो पनि चढ्न मन लाग्दछ । यसरी ज्ञानको यात्रा सुखमय र अनन्त बन्दछ ।

मैले अक्सफोर्ड विश्वविद्यालयबाट उत्कृष्ट शोधपत्र वापतको पुरस्कारसहित विद्यावारिधिको उपाधि लिंदा मलाई खड्किएको कुरा यो थियो कि मैले जान्नु पर्ने र सिक्नुपर्ने कुरा अझै धेरै रहेछन् र विद्यावारिधि 
गर्ने भनेको त्यो यात्राको प्रस्थान बिन्दु मात्र रहेछ । संसारका ज्ञानका विभिन्न पहाड चढ्दै जसरी मेरो जिन्दगी व्यस्त र सुखमय बनेको छ, त्यसका लागि जगदीश्वरलाई, नेपाली माटोलाई र पितृहरुलाई धन्यवाद दिन चाहन्छु ।

मैले मेरो जिन्दगीको आधा समय पाश्चात्य मुलुकको प्राज्ञिक क्षेत्रमा बिताएको छु । त्यसो भनेर मैले आफ्नो ज्ञान नेपालमा लगानी नगरेको भन्ने होइन । ज्ञान सिर्जना गर्ने र त्यसको विस्तार गर्ने भनेको सबै मानवजातीका लागि हो । विधिको शासन, मानवअधिकारको सम्मान, सुशासन, न्याय र शान्तिका लागि मैले जे कृतिहरु प्रकाशन गरेको छु त्यसबाट संसारका सबै लाभान्वित भएका छन् भन्ने लागेको छ । उदाहरणकालागी मेरो एउटा ग्रन्थ चिनिया भाषामा अनुदित भई चीनका धेरै विश्वविद्यालयको पाठ्य सामाग्रीमा समावेश छ । त्यही ग्रन्थ फारसी भाषामा अनुदित भई प्रकाशोन्मुख छ र अरबी भाषामा पनि अनुदित हुने क्रममा छ । सम्भवतः चिनिया भाषामा प्रकाशित मेरो कृतिको कारणले होला उदीयमान शक्ति राष्ट्र चीनले मलाई अन्य राष्ट्रसंगको अन्तर्राष्ट्रिय व्यापार र लगानी कानून सम्बन्धि विवाद हेर्ने मध्यस्तता आयोगको सदस्य नियुक्त गरेको छ ।

मेरा प्रकाशित कृतिकै आधारमा मलाई धेरै 
अन्तर्राष्ट्रिय सम्मान मिलेको छ । मैले अन्तर्राष्ट्रिय स्तरमा उपयोगी हुने कृतिहरुको साथ साथै नेपालको अन्तर्राष्ट्रिय जगत र खासगरि परराष्ट्र मामलाका प्राय सबै विषयका अन्तर्राष्ट्रिय कानूनी पक्षमा अध्ययन अनुसन्धान गरि विश्वस्तरका कृतिहरु प्रकाशित गरेको छु । मैले नेपाल भारत सम्बन्धका सबै कानूनी पक्षलाई समेटेर एउटा ग्रन्थ अक्सफोर्ड विश्वविद्यालय प्रेसबाट प्रकाशन गरेको थिएं । त्यो ग्रन्थमा मैले भारतसंगको १९५० को सन्धीको समीक्षा गरी अब कस्तो सन्धी हुनु पर्छ भनेर मस्यौदा नै समावेश गरेको थिएं । त्यसैगरी महाकाली सन्धिलाई अन्तर्राष्ट्रिय कसीमा समीक्षा गरी सुझाव गरेको थिएं । त्यसको साथै अन्तर्राष्ट्रिय निकायहरुमा नेपाल जस्ता अल्पविकसित मुलुकको हितमा अन्तर्राष्ट्रिय कानून कसरी उपयोगमा ल्याउन सकिन्छ भनेर प्रयास गरेको छु । राष्ट्रिय कानून होस् वा अन्तर्राष्ट्रिय कानून, ति सामान्यतया शक्तिवान वा धनी वा सक्षम व्यक्तिहरु र राष्ट्रहरुले आफ्नो हितमा र अरुलाई नियमन गर्न बनाइएको हुन्छ । त्यसैले कानून आफैंमा न्यायपूर्ण छ छैन् भनेर हेर्नुपर्ने हुन्छ र त्यो काम प्राज्ञिकहरुको हो ।

यसै क्रममा मैले वर्तमान अन्तर्राष्ट्रिय कानून नेपालजस्ता साना र अल्पविकसित राष्ट्रहरुको हितमा छ छैन् र नभए के गर्नुपर्छ भन्ने अनुसन्धान गरि कृतिहरु प्रकाशन गरेको छु । अन्तर्राष्ट्रिय कानून निर्माणमा प्रभावशाली भूमिका राख्ने एक उच्चस्तरिय अन्तर्राष्ट्रिय कानूनी संस्थाको आजीवन सदस्यको रुपमा निर्वाचित भएपछि मैले आफ्नो प्रयास त्यो निकायमार्फत पनि जारी राखेको छु । तर “यस्य नास्ती स्वयं प्रज्ञा शास्त्रं तस्य करोती किं“ भनेजस्तै नेपालका नीति निर्माता र निर्णयकर्तामा हुनुपर्ने प्रज्ञा छैन् भने कसैको कुनै कृतिले त्यस्तालाई काम गर्दैन । यो पनि नेपालको एउटा समस्या हो भन्ने मलाई लाग्दछ ।

तर खुशीको कुरा, मलाई अक्सफोर्डले महाविद्यावारिधि प्रदान गरेको खबर सञ्चारमाध्यममा आएपछि मलाई बधाई सन्देश पठाउने मध्ये धेरै आफ्नो देशलाई केही गरौं भन्ने हिम्मत बोकेका नेपाली युवायुवती थिए । उनीहरुले मलाई तपाईंले संसारमा जुन उचाईं लिनु भएको छ, त्यसले हामीलाई प्रेरणा र उत्साहको उर्जा मिलेको छ भनेका थिए । त्यसले मलाई मेरो महाविद्यावारिधिबाट थप सन्तोषको अनुभूति प्रदान गर्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक