भौतिकशास्त्री डा. शर्माले एनआरएन केन्द्रीय महासचिवमा उम्मेदवारी दिने

डा. शर्मा । तस्विर- नरेन्द्र बस्नेत

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार एवं युवा भौतिकशास्त्री डा. हेमराज शर्माले आगामी कार्यकालका लागि महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अग्रजहरुको आग्रह र अनुभवी व्यक्तिको आवश्यकता महशुस भएकाले आफू चुनावी मैदानमा आउनु परेको शर्माले बताए ।

‘अहिलेसम्म मैले बाहिर बसेरै काम गरेर देखाएं । अहिले संस्थालाई मजस्ता अनुभवी व्यक्तिको आवश्यकता महशुस भइरहेकाले चुनाबी मैदानमा जाने निर्णय गरेको छु’- उनले भने ।

‘मैले धेरै सोचविचार गरेर नै महासचिव पदमा उठ्ने निर्णय गरेको हुं । म भन्दा दक्ष साथीहरु महासचिवको लागि मैदानमा आउनुहुन्छ भने सम्वाद गर्न सकिन्छ, अन्यथा मैदानबाट हट्ने कुरा हुंदैन’- उनले भने ।

‘हाल कार्यसमितिमा रहेका साथीहरुलाई विस्थापित गरेर वा कसैलाई अप्ठ्यारोमा पार्न म चुनावमा आउन खोजेको होइन आ–आफ्नो योगदान, दक्षता र अनुभवअनुसार पदमा बस्न तयार हुने हो भने सबै साथीहरुले स्पेस पाउनु नै हुनेछ’- शर्माले बताए ।

डा. शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । १० जनाभन्दा बढि विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए ।

संघको परिमार्जित नयां विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत रहेका उनले साथीहरुको प्रेरणाले महासचिवमा उम्मेदवार बन्न लागेको बताए ।

बाग्लुङको अमलाचौरमा जन्मिएका शर्माको बिगत जति सरल छ उति नै रोचक पनि छ । आफ्नै बलबुतामा निरन्तर मेहनत र परिश्रमको फलस्वरुप उनी अहिले गैरआवासीय नेपाली संघ ९एनआरएन० को एक प्रभावशाली हस्तीका रुपमा उदाएका छन् ।

उनी बेलायतको लोकप्रिय विश्वविद्यालय लिभरपुलमा सिनियर रिसर्च लेक्चरको रुपमा समेत कार्यरत छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।

सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसंगै त्यहांको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत छन् । शर्माले पूर्व अध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । शर्मा राष्ट्रपति विद्या भण्डारीको बाहुलीबाट नेपाल विद्याभुषण मानपदवीद्वारा हालै सम्मानित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री