एनआरएनए यूके निर्वाचनमा नयाँ तरंग, पुनम समूह र मिडल्याण्डबीच सहमति

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा मिडल्याण्डवासी नेपालीहरुले एक मतले पुनम-फडिन्द्र समूहसंग मिलेर निर्वाचनमा जाने लिखित सम्झौता गरेका छन् ।

मिडल्याण्डवासीको संयुक्त आवाज केन्द्रसम्म एक स्वरमा पुगोस् भन्ने उद्देश्यले अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको समूहसंग सहकार्य गरेर अघि बढ्ने सहमति भएको मिडल्याण्ड क्षेत्रका अगुवा दयानिधी सापकोटाले जनाए ।

यही १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि एक निर्णायक शक्तिको रुपमा रहेको सो क्षेत्रमा मात्र १९ सय पंजीकृत सदस्य छन् ।

सोमबार साँझ नर्थवेष्ट लण्डनमा बसेको दुई पक्षबीचको बैठकले लिखित रुपमा चार बुंदे सम्झौतामा हस्ताक्षर गरेको उपाध्यक्षका प्रत्याशी पशुपति पोख्रेलले जानकारी दिए । सम्झौतापत्रमा पुनम गुरुङ समूहबाट अध्यक्ष उम्मेदवार पुनम गुरुङ, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई तथा निर्वाचन अभियान संयोजक ले. (रि) चन्द्रबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

मिडल्याण्डको तर्फबाट साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी र निवर्तमान अध्यक्ष रणबहादुर केसीसहित उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल र विष्णु चालिसेले हस्ताक्षर गरेका छन् । बाँकी तीन सदस्यका उम्मेदवारले पनि सहमतिका लागि आफ्नो ‘म्याण्डेट’ पठाएका छन् ।

मिडल्याण्ड र पुनम गुरुङ समूहबीच भएको ४ बुँदे सहमति अनुसार मिडल्याण्डले अध्यक्षमा पुनम गुरुङ र महासचिवका उम्मेदवार फडिन्द्र भट्टराईलाई सघाउने भएको छ ।

त्यस्तै, मिडल्याण्डबाट सामूहिक रुपमा उम्मेदवारी घोषणा गरेका ७ जना उम्मेदवारहरु पुनम समूहले जिताउने ‘ग्यारेन्टी’ लिएको छ ।

मिडल्याण्डले आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे र सदस्यहरुमा गोमा पौडेल, नृपेश उप्रेती र कृष्ण खरेललाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

पुनम नेतृत्वको संयुक्त प्यानलबाट अन्य पदका लागि उम्मेदवारहरुको छनौट आपसी समझदारीमा गर्ने तर मिडल्याण्डले थप पद दाबी नगर्ने सहमति भएको बताइएको छ ।

पुनम समूहले संयुक्त रूपमा कुल ७ हजार सदस्यता बुझाएको दाबी गर्दै आएको छ । यसैबीच मिडल्याण्डसंगको सम्झौतापछि सो समूह थप बलियो देखिएको छ । यो सहमति कुनै जाती, दल, लिंग, क्षेत्र भन्दा माथी उठेर समुच्च एनआरएनको बृहत्तर हितको लागी भएको र कसैको दवाव भन्दा पनि दुवै पक्षको आपसी हितको लागी गरिएको जानकारी सचिवका उम्मेदवार कोश्लेश्वर (कृष्ण) ढकालले जानकारी दिए । अब यो टिम बिजय गराउने सामूहिक दायित्व भएकोले सबै एक ढिक्का भएर इमान्दारीता साथ अभियानमा आजैको दिनबाट संयुक्तरूपमा लाग्ने सहमति भएको र उम्मेदवारी दाखिला पश्चात घरदैलोमा निस्कने समेत ढकालले जानकारी दिए ।

संघको निर्वाचनको लागि आगामी आइतवार उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ । अध्यक्षको लागि गुरुङ, शेर बहादुर सुनार, प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपाने मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री