सोमबार, भदौ २ २०७६ | Mon, August 19, 2019
नेपालको समय: ०५:४२ | UK Time: 00:57

लण्डनवासी कल्पना नर्सिङको उच्च तहमा

विनेपाली
२०७६ साउन २९ गते १९:१०

Kalpana Ghimire

लन्डन । नर्सिङ पेशाको मात्र होइन, समस्त नेपाली र नेपालकै गौरव बनेकी छन् कल्पना घिमिरे । उनी अहिले वार्टफोर्ड जनरल हस्पिटल, मेडिसिन डिभिजनको मेट्रोन भएकी छन् । सन् २०१२, जुनदेखि वार्टफोर्ड जनरल हस्पिटल ‘जोइन’ गरेकी कल्पनाले छोटै अवधिमा त्यो जिम्मेवारी पाएकी हुन् । ‘८ ए ब्याण्ड’ तहमा रहेर काम गर्ने थोरै नेपाली मध्ये पर्छिन् उनी ।

२९ अप्रिलबाट मेट्रोन भूमिका शुरु गरेकी कल्पनालाई बिरामीको चाप व्यवस्थापन मुख्य जिम्मेवारी छ । ४ वटा वार्ड मध्ये एक डेढसय बिरामी एकजना मेट्रोनमा पर्ने कल्पना बताउंछिन् । करिब २०० नर्स उनको अण्डरमा काम गर्छन् । ‘कर्मचारी व्यवस्थापन, बिरामीको चाप (फ्लो) व्यवस्थापन, जटिल प्रकृतिको बिरामीका केस र गुनासा समाधान अर्थात सिनियर लिडरसीपको काम हो मेरो’, उनले आफ्नो काम प्रष्ट्याइन् । सेफ्टी, इन्फेक्सन कन्ट्रोल र क्वालिटी मेन्टेन उनका प्रमुख जिम्मेवारी छन् । कडा परिश्रम र पेशाप्रति ‘कमिटमेन्ट’ नै सफलताको कडी भएको उनले खुलाइन् । ‘काममा मेरो पागलपन छ’, उनी भन्छिन्, ‘वर्क इज वरसिप’ । सयौं बिरामीको स्वास्थ्यसंग प्रत्यक्ष जोडिने भएकाले काममा हुंदा म बाहिरी संसार बिल्कुलै बिर्सन्छु ।’

आफ्नो रोल मेन्टेन गर्न चुनौति भने रहेको उनी बताउंछिन् । ५ वर्षभित्र हेड अफ नर्सिङ बन्ने उनको लक्ष्य छ । तलव सुविधा राम्रो र ‘अनसोसियल’ आवर्समा काम गर्नु नपर्दा उनलाई परिवार अनि जागिर व्यवस्थापन सहज पनि भएको छ ।

सन् २००५ मा बेलायत आएकी हुन् कल्पना । क्रिटिकल केयर नर्सिङ स्पेशलाइजेसन हो उनको खास । करिब दश वर्ष क्रिटिकल केयरमा काम गरेको अनुभव छ । दश वर्ष फ्रिम्ली पार्क हस्पिटल, युनिभर्सिटी कलेजमा काम गरेकी उनी २०१७ देखि इन्टेन्सिभ केयरबाट निस्किएर व्यवस्थापनतिर लागेकी हुन् ।

पढ्न सानैदेखि तेज थिइन् उनी । सन् १९९९ मा ललितपुर नर्सिङ कलेजबाट डिप्लोमा इन नर्सिङ गरेकी उनले सन् २००३ मा युनिभर्सिटी अफ ढाकाबाट पोस्ट ग्रयाजुएसन गरेर डिनबाट विशेष प्रमाणपत्र समेत पाएकी थिइन्् । सन् २००५ मा तत्कालिन राजाबाट महेन्द्र विद्याभूषण समेत पाएकी छन् उनले ।

लन्डन साउथ बैंक युनिभर्सिटीबाट क्रिटिकल केयरमा अनर्स डिग्री गरेकी छन् । हर्टफोर्डसायर युनिभर्सिटीबाट हेल्थ केयर लिडरसीपमा मास्टर्स गरेपछि आफूलाई नेतृत्वदायी भूमिका वहन र व्यवस्थापन सीप उच्च तहमा पुगेको उनी गर्व गर्छिन् ।

सेभ दि चिल्ड्रेन यूकेमा काम गरेको अनुभव पनि उनीसंग छ । बेलायत आउनुअघि नेपालमा नर्सिङ कलेजहरुमा केही वर्ष पढाइन् पनि ।

नेपलिज नर्सिङ एसोसिएसन यूके (एनएनए) मा समेत आवद्ध उनी एनएनएमार्फत नेपालमा पनि केही गर्न चाहन्छिन् । बेलायतका नर्सहरुले आफ्नो सीप स्वदेशमा पनि ‘ट्रान्सफर’ गर्नुपर्ने उनको धारणा छ ।

नर्सिङ हार्ड वर्किङ पेशा भएको उनको अनुभव छ । यसमा स्कोप बढि र विस्तार हुंदै गएको पेशा ठान्छिन् उनी । ‘एकेडेमिक रुपमा यो पेशा साउण्ड छ’, नयां पुस्तालाई उनको सुझाव छ, ‘दत्तचित्त भएर लाग्नुस्, यसमा बेफाइदा छैन् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक