बेलायत भ्रमणमा रहेका सांसद भट्टराई भेटघाटमा व्यस्त

लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका सांसद विशाल भट्टराईले बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत शरदराज आरणसँग भेटवार्ता गरेका छन् । शुक्रबार नेपाली दूतावास लन्डनमा भएको भेटघाटमा आरणले सांसद भट्टराईलाई दूतावासले हाल गर्दै आएका र भविष्यमा गर्ने कामबारे बताएका थिए ।

कार्यवाहक राजदूत आरणले आर्थिक कुटनीतिलाई पनि अघि बढाउनु पर्नेमा जोड दिए । उनले आयरल्याण्डको माल्टामा श्रम स्वीकृति लिएर आउने र स्थायी बसोवासका लागि यूरोपेली मुलुकहरुमा लुक्ने गर्नाले नेपालको बदनाम भएको तर्फ सांसद भट्टराईको ध्यानाकर्षण गराए । माल्टामा नेपाली दूतावास नभएकाले लण्डन दूतावासलाई जिम्मेवारी दिइएको छ ।

दूतावासले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा सार्थक तुल्याउन र बेलायती लगानी नेपाल लैजान पहल गरिरहेको जानकारी गराएको द्वितिय सचिव लव सुवेदीले बताए ।

उक्त भेटघाटमा पूर्व एमाले निकट प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी, दूतावासका द्वितिय सचिव लव सुवेदी लगायतको सहभागिता थियो ।

यसैवीच, प्रवासी नेपाली मञ्च यूकेले शुक्रबार साँझ सांसद भट्टराईसँग अन्तरक्रिया गर्दैछ । सरकारका काम कारवाही, भावी योजना र प्रवासी नेपालीका हकअधिकार संरक्षणका लागि भए गरेका कामका बारेमा सांसद भट्टराईसँग अन्तरक्रिया गर्न लागिएको अध्यक्ष पुडासैनीले जनाए । अल्डरसटस्थित एम्पायर हलमा अन्तरक्रिया हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री