पुनम क्याम्पबाट दीपक श्रेष्ठको इंग्ल्याण्ड परिषद अध्यक्षमा उम्मेदवारी

लण्डन । बेलायतका सफल व्यवसायी एबम एनआरएन अभियन्ता दीपक श्रेष्ठले एनआरएन यूके, इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

श्रेष्ठ सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलोपटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्षका लागि उम्मेदवार बन्न लागेका हुन् । उनी एनआरएन यूके अध्यक्ष प्रत्यासी पुनम गुरुङ क्याम्पबाट उठ्न लागेको श्रोतले जनायो । नेवारमात्र होइन, बेलायतको सबै समुदायभित्र उत्तिकै प्रभाव राख्न सफल श्रेष्ठ र पुनम समीकरणले आफ्नो टिम सशक्त हुने बिश्वास उनीहरुलाई छ ।

‘म एनआरएनमा कुनै पद भन्दा पनि विशेष भूमिकाको खोजीमा थिएं’, उनले भने, ‘पुनम दिदीको साथमा इंग्ल्याण्ड राज्य परिषद अध्यक्षको रुपमा मैदानमा आउन उत्साहित छु ।’ 

इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रासरुटसम्म पुरयाउने, स्वतस्फुर्त रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता उनको छ ।

एनआरएन यूकेको २०१३-१५ कार्यसमितिमा सदस्य एवं २०१५-१७ मा कोषाध्यक्षको रुपमा श्रेष्ठले निभाएको प्रभावशाली भूमिकाको एनआरएन वृत्तमा अहिलेसम्म पनि चर्चा हुने गरेको छ ।

बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष रहेका श्रेष्ठकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधिन छ ।

श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ । उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष हुन् ।

उनी पशुपतिनाथ मन्दिर लण्डनमा ट्रस्टी एवम् एनआरएन यूके, अन्तर्राष्ट्रिय कलाकार समाज यूके, पासा पुच साउथ इष्ट, प्रतिभा नक्षत्र यूके लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघ-संस्थामा सल्लाहकार छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री