एनआरएनए उपाध्यक्ष आचार्य न्यूयोर्क र डालसपछि टोरन्टोमा

लन्डन । एनआरएनका केन्द्रिय उपाध्यक्ष कुल आचार्य संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर क्यानाडा पुगेका छन् ।

एनआरएनको केन्द्रिय अध्यक्ष पदमा चुनाव लड्ने बताइसकेका आचार्यले यही बुधबार न्यूयोर्क र बिहिबार टेक्सास राज्यको डालस शहरमा गैर आवासीय नेपाली अभियन्ताहरुसंग अन्तरक्रिया गरेका थिए ।

डालसमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै आचार्यले अमेरिका एनआरएनको एउटा सम्मानित र बलियो आधार क्षेत्र भएको बताए । अमेरिकालाई कर्म थलो बनाएका साथीहरुले मातृभूमिको सेवामा धेरै समय र श्रोत खर्चेको र खास गरी भूकम्प पछि एनआरएनएको संयोजनमा अमेरिकाबाट गरेको सहयोगका लागि संघको तर्फबाट उनले धन्यवाद दिए ।

आचार्यले एनआरएनको नयां नेतृत्वमा अमेरिकाको सम्मानपूर्ण स्थान होस् भनेर आफूले सक्दो पहल गर्ने पनि जनाए ।

गैर आवासीय नेपालीहरुले नेपालको पर्यटन, जलश्रोत, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गरिसकेका र त्यतिकै महत्वपूर्ण बौद्धिक लगानी पनि भएको उनले बताए ।

‘गैर आवासीय नेपाली नागरिकताको विषयमा ऐनले भनेको सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ । नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ति गैर आवासीय नेपाली नागरिकता पाए पछि पनि सुरक्षित हुने छ भन्ने प्रस्ट खुलाउन जरुरी छ । त्यस्तै भूतपूर्व गोर्खाहरुको लागि पनि विशेष व्यबस्था हुनुपर्छ हामीले भनिरहेका 
छौं’- आचार्यले भने ।

उनले सबै गैर आवासीय नेपालीहरुलाई कानून नबन्दासम्म चनाखो रहन र लबी गरिरहन आग्रह गरे ।

‘अहिलेको मुख्य प्रश्न भनेको यो संस्थालाई कसरी बलियो बनाउने, कसरी समावेशी बनाउने, संसारभरि रहेका प्रवासी नेपालीहरुले अपनत्व महसुस गर्ने संस्था कसरी बनाउने भन्ने नै हो । यो विषयमा आउनुस्, थप छलफल गरौँ, मन्थन गरौं’- उनले भने ।

यस अघि न्यूयोर्क च्याप्टरद्वारा न्यूयोर्कमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै आचार्यले एनआरएनए चुनावमा टिका लगाउने प्रथा अन्त्य गरि सबैलाई क्षमता प्रदर्शन गर्ने अवसर दिइनुपर्नेमा जोड दिएका छन् । आसन्न निर्वाचनमा अध्यक्षका सशक्त दावेदार आचार्यले भने, ‘क्षमता हुनेहरुलाई पाखा लगाएर कसैको आर्शीवाद र टिकाको भरमा नेतृत्व सुम्पने परम्पराको अब अन्त्य गरिनुपर्छ ।’

आचार्यले प्रजातान्त्रिक प्रक्रियाबाट नयां नेतृत्व चुनिनुपर्नेमा जोड दिंदै आएका छन् । आचार्यले भने, ‘चुनाव एउटा प्रक्रिया हो, ८० लाख गैर आवासीय नेपाली भइसके । जो सक्षम छ उसलाई अवसर सृजना गर्नुपर्छ र चुनाव हार्दैमा निषेध गर्ने र जित्दैमा अहंमता देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’

सो कार्यक्रममा एनआरएन अभियन्ताहरु सोनाम लामा, खगेन्द्र जिसी लगायतले सम्बोधन गरेका थिए ।

अध्यक्षका प्रत्यासी आचार्यले चुनावअघि विश्व भ्रमणमा निस्केर तल्लोदेखि उपल्लो तहका गैर आवासीय नेपालीहरुसंग परामर्श र सुझाव लिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री