बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १२:२३ | UK Time: 07:38

ओशो सन्यास ग्रहण र ध्यान शिविर

स्वामी आत्मो स्वरूप
२०७६ भदौ ६ गते २१:४३

सायद मैले आइएल परीक्षा दिएपछि हुनुपर्छ सिन्धुपाल्चोकको कृषि कार्यालयमा एकजना जेटिए आउनुभएको थियो । महोत्तरी तिरको हुनुपर्छ अशोक सिंह अग्लो गठिलो शरीर, जुँगा पालेको र ओशोको माला लगाएको हेर्दै आकर्षक हुनुहुन्थ्यो । मेरो घरभन्दा तीन, चार घरमाथि डेरामा बस्नुहुन्थ्यो । त्यहाँ अरू जेटिएहरू शंकरजी र रामकृष्ण तिवारी पनि बस्नुहुन्थ्यो । रामकृष्णजी र मसँगै आइएल पढेका थियौं । शंकरजीसंग वैचारिक रूपले राम्रो सम्बन्ध थियो । अशोकजीको कुरा गर्ने शैली नै अर्को थियो । उहांले ओशोको अडियो क्यासेट हामीलाई सुनाउनुहुन्थ्यो । त्यतिखेर ओशो नेपाल आइसक्नुभएको थियो । सबैले ‘सेक्स गुरु’ भन्ने गर्दथे । ओशोका चेलाहरू उश्रृंखल हुन्छन् भन्दथे । मैले पनि तिनै आधारमा अशोकजीसँग विवाद गर्ने अझ कम्युनिस्ट विचारको हुनुले यस्ता सबै कुरा लाद्ने र धर्मको खुब विरोध गर्दथें । तर, उहाँसँगको बसाइ र ओशोको प्रवचनले ममा एक किसिमको खुल्दुली जगाएको थियो । म प्राय: उहाँको कोठामा जाने गर्थें । तर पछि उहाँको सरुवा भयो र त्यो क्रम टुंगियो अरू खासै अध्ययन वा सम्पर्क भएन ।

धेरैपछि मीनु र मेरो विवाहको कुरा चलेपछि हितमानजीले मलाई मीनुका सबै आफन्तहरूलाई भेटाउने क्रममा ठमेलमा बसोवास गर्ने चमेली फुपू र मामाको घरमा पनि लग्नुभएको थियो । त्यहाँ उहाँको अफिसको कोठामा ठूलो ओशोको चित्रले फेरि ती पुराना दिन सम्झायो । बुद्धकुमार शाक्य, मीनुको फुपाजू, अरूण स्वामीले स्थापना गर्नु भएको ध्यान केन्द्र ताहाचलमा जानु हुँदोरहेछ । त्यस्तै मीनुको दिदी शान्ति पनि ओशो सन्यासी भइसक्नुभएको रहेछ । नेपाल बस्दासम्म त खासै त्यस्तो सम्पर्क सम्बन्धहरू भएनन् । बेलायत आएपछि, अझ मीनु आएपछि, हामीलाई भेट्न बुद्धकुमार फुपाजू आउनु हुँदा सधैं ओशोको पुस्तक पढ्ने, ध्यानमा बस्ने र त्यससम्बन्धी कुरा गर्ने हुँदा इन्टरनेटमा मैले पनि थुप्रै प्रवचन सुन्न थालें । ओशोका सबै प्रवचन मन पर्न थाल्यो । पहिलोपटक अरूण स्वामी बेलायत आउनु भएको कुरा थाहा पाएँ । सायद २०० तिर हुनुपर्छ, उहाँ बस्नुभएको ठाउँमा भेट्न मीनुहरू गएका थिए । त्यतिखेर हाम्रो अवस्था अलि अप्ठ्यारो थियो वा के थियो मैले सधैं मीनुलाई नेपाल गएर तपोवनमा बस्नु मन परे उतै बसे पनि हुन्छ भन्ने गर्दथें ।

त्यही वर्ष हाम्रो सानो छोरी पनि जन्मिइसकेकी थिइन् । उसलाई लिएर मीनु नेपाल गइन् । तपोवनको सात दिनको शिविरमा भाग लिन गएपछि मीनुले सन्यास ग्रहण गरिछन् । उलाई त्यो शिविरले पूरा प्रभाव पारेको थियो । अरूण स्वामी बेलायतमा हुँदै मीनु नेपाल गइसकेकी थिइन् त्यतिवेला उहाँसँग आउनुभएका अर्हत स्वामीलाई समेत लिएर सुभाष दाइ मलाई भेट्न ब्राईटन आउनुभएको थियो । अरूण स्वामीलाई समुद्र साह्रै मनपर्ने रहेछ । समुद्रको तीरै तीर गाडी चलाएर वर्डिङ आउँदा उहाँले बाटोमा समुन्द्रको छेउमा ध्यान गर्न पाए राम्रो हुन्थ्यो भन्नुभयो । मैले पनि केही नसोची भइहाल्छ नि स्वामीजी अर्को शिविर म यहीँ आयोजना गर्छु भनें । उहाँहरूले हुन्छ भन्नुभयो । मैले कुमारी रेस्टुरेन्टमा आफैंले खाना तयार पारेर उहाँहरूलाई खुवाएँ । उहाँहरू त्यसैदिन फर्किनुभयो ।

हामीले नेपालबाट ल्याएका सामानहरू बेच्ने पसल कुमारीको छेउको घरमा खोलेका थियौं । त्यहाँ नेपालबाट ल्याइएका गलैंचाहरू दिलीपजीले बेच्नका लागि मलाई दिनुभएको थियो । त्यो पसल खासै नचलेकाले बन्द गयौं र सबै सामानहरू घरको ग्यारेजमा लगेर राखेका थियौं । धेरै लामो समयसम्म पनि दिलीपजी आउनुभएको थिएन । तर, मीनु नेपाल गएकै बेला एक्कासि फोन गर्नुभयो र सबै गलैंचा लानुभयो । ग्यारेज खाली भएपछि एक्कास मेरो मनमा त्यहाँ राम्रो सरसफाइ गरेर ध्यान हल बनाउने विचार आयो र राम्रै प्रकारको ध्यान हल बन्यो । मैले जब त्यो ध्यान हल बनाउँदै थिएँ, उता मीनु तपोवन शिविरमा बसेकी थिइन् । मैले यो कुरा उलाई नभन्नु र आएपछि आश्चर्यमा परून् भन्ने सोचेको थिएँ, नभन्दै त्यस्तै भयो । त्यो देखेर उनी अति खुसी भइन् । हामी बेला बखत ध्यान गर्थ्यौं पाहुनाहरू आउँदा त्यही बस्थ्यौं । गुड्डीले गीत सुनाउँथिन् । रमाइलै थिए ती दिनहरू ।

एक वर्ष हुन लागेछ, शिविर गराउनुपर्ने दिन आइसकेछ । होभमा भएको हिन्दू मन्दिरमा ५० जना जतिलाई ध्यान गर्न पुग्ने ठाउँ थियो त्यही मन्दिर बुकिङ गयौं । ३५ जना जति साथीहरू आउने भए । अरूण स्वामी र अर्हत स्वामी केही रात हाम्रो फिन्डनको घरमा बस्नुभयो । शिविरमा भाग लिनेहरूलाई नजिकैको होटल बुक गरेका थियौं । खाना आफैंले पकाउने व्यवस्था मिलाएको थिएँ । बिहानको नास्ता खाना खाजा फेरि खाना जे होस् काम प्रशस्तै थियो । अझ रमाइलो त रात भाँडा माझ्दा हुन्थ्यो । त्यतिबेला राजुजी, गोविन्द दाहालजीले राम्रो सहयोग गर्नुभएको थियो । हामीले शुक्रबारदेखि सोमबारसम्म चार दिनको लागि होटल बुकिङ गरेका थियौ । केही साथीहरु शनिबार बिहान मात्रै आउनु भयो । सबैको काम भको हुंदा धेरै जसो आइतबार बेलुकी नै र बाँक सोमबार बिहानै जान पर्ने भयो । सोमबार बेलुकी त सबै फर्किसक्ने रहेछन् । त्यो थाहा नभएर होटलको पूरै पैसा तिर्न पर्दा उक्त शिविरमा उल्टो केही घाटा पो भयो । जे होस् यो एउटा राम्रो अनुभव थियो ।

उक्त शिविर सकिएपछि हामीले बनाएको ग्यारेजको कोठालाई अरूण स्वामीले ओशो सागर ध्यान केन्द्र नामाकरणसहित एउटा केन्द्र थप गर्नुभयो बेलायतमा । यो शिविरमा केही साथीहरूले सन्यास पनि लिनुभयो । मलाई पनि लिऊँ कि जस्तो लागेको थियो । तर मैले लिने निर्णय गर्न सकिनँ । त्यसपछि अर्को शिविर बोस्टन म्यानर होटल इलिङमा केही हप्ता पछाडि नै भयो । त्यहाँ पनि सन्यास लिनेहरू थिए । सन्यास लिनको लागि एउटा फर्म भर्नुपर्ने थियो, त्यो मैले खासै पढेको थिइनँ पहिला । के रहेछ पढौं न त भनेर पढेको त्यसमा ओशोबारे अध्ययन गर्छु र दिनमा एउटा ध्यान गर्छु भन्ने सामान्य कुरा रहेछ । जुन गर्न त्यति गारहो थिएन । त्योभन्दा पहिला ओशो कर्तनको एउटा गीतले मलाई खुब छोएको थियो । ‘यो ओशोको आकाशमा’ भन्ने बोलको जुन हामीले पहिला गाउने गरेका क्रान्तिकारी गीत जस्तै थियो । अरुण स्वामीको यो विश्व, बुद्ध, माक्र्स, फ्रायड र ओशोको विचारका समिश्रणले मात्र जीवन सुन्दर र शान्त बन्छ भन्ने लेखले मलाई सन्यास लिन घच्घच्याइरहेको थियो ।

त्यसैले मैले त्यो दिन सन्यास लिने निर्णय गरें । त्यो दिन ४ अप्रिल २००८ थियो । अर्को एउटा कारण के पनि थियो भने हामीले चाहेको भए ओशोलाई भेट्न सक्ने थियौं, तर हामीले त्यो अवसर प्राप्त गर्न सकेनौं । अहिले अरुण स्वामी देश परदेश घुमिरहनुभएको छ भोलि के कसो होला फेरि पछुताउनु नपरोस् भन्ने पनि लाग्यो । उहाँले मलाई सन्यास नाम आनन्द सुरेन्द्र दिनुभएछ । मेरो ठूलो दाइको नाम आनन्द भएकोले आनन्द सुरेन्द्र अलि अप्ठ्यारो लाग्यो र अर्को नाम दिन अनुरोध गरें । मेरो नयाँ नाम ‘आत्मो स्वरूप’ दिनुभयो ।

ओशोलाई पढ्ने र सुन्ने काम त धेरै भएको छ तर ध्यान भने गर्न सकेको छैन । कहिलेकाहीँ आयोजना गरिने ध्यान शिविरमा जाने गरेको छु । अरुण स्वामी प्रत्येक वर्ष बेलायत आउंदा हुने तीन दिने शिविरमा भने छुटेको थिएन । नेपाल जांदा पटक पटक तपोवन र एक एक पटक पोखरा उपवन र लुम्बिनी जेतवन पुगेको छु । सन् २०११ मा अरुण स्वामीले अमेरिकामा पानी जहाजमा ध्यान शिविर गराउनु भएको थियो । त्यही वर्षको शिविरको अन्त्यमा बेलायतमा पनि गर्ने कुरा भयो । त्यो पनि भइहाल्छ नि त भन्यौं । उक्त निर्णय अनुसार सन् २०१२ मेको २६ देखि २९ सम्म साउथह्याम्पटनबाट फ्रान्स र बेल्जियम जाने जहाजको लागि हामीले पनि जहाज बुकिङ गर्यौ, उक्त शिविरमा करिब ७० जना जम्मा भयौं । तर, जहाजमा अन्य क्रियाकलापहरुमा पनि सहभागी हुनुपर्ने, राति अबेलासम्म नसुतिने हुंदा बिहानै उठेर ध्यानमा जाने सहज वातावरण नबन्दो रहेछ । जे होस् ध्यानको नाममा शुरु भएको यो पानी जहाजको यात्रा पछिसम्म कायम हुने देखिन्छ । प्राय जसो म बाहिर नै हुने र अन्य कामहरुले गर्दा हामीले रेस्टुरेन्ट छोडी सकेपछि भने नियमित रुपमा पुरै ध्यान शिविरमा जान सकिको छैन ।

(सुरेन्द्र श्रेष्ठले लेख्नु भएको पुस्तक ‘मेरो आधा शताब्दी’ बा)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक