‘पलेँटी शृङ्खला’मा लेकालीका गीतहरू

काठमाण्डौ । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ मा यसपाली लेकालीका गीतहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा लेकालीले सृजना गरेका १४ वटा गीत प्रस्तुत भएका थिए ।

वि.सं. २०२४ सालमा स्थापना भएको लेकालीले समूहको नाममा एकल कन्सर्ट नगरेको लामो समय बितिसकेको थियो । लेकालीले यसअघि २०२८ सालमा आफ्नो पछिल्लो सांगीतिक कार्यक्रम गरेको संझना गर्‍यो ।

लेकालीले संगीतकार, गीतकार तथा गायकद्वय गणेश रसिक र हिरण्य भोजपुरेले भरेका धुनहरू गाउने गरेका छन् । उनीहरूका धुनहरू तत्कालिन समसामयिक प्रचलन र लोक धुनमा आधारित हुने गर्छन् । लेकालीले शुक्रबार साँझ तिनै पुराना र चर्चित गीतहरू गाएर नेपालयको ‘आर’शालामा उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा लेकालीका प्रारम्भिक चरणका तीन सदस्य गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठको सहभागिता रहेको थियो । विगतमा धेरै सदस्यका साथ प्रस्तुत भएको लेकालीले आफ्ना धेरैजसो सहयात्रीमध्ये कोही देश बाहिर रहेको र कतिपयको अवसान भएको जानकारी गराएको थियो । लेकालीमा निर्मला श्रेष्ठ, शशि भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीनकिशोर राई, नीरा श्रेष्ठ, न्हुच्छे बहादुर लगायतको संलग्नता थियो । यी मध्ये ‘आर’शालामा उपस्थित नीरा श्रेष्ठ भने स्वस्थ्यका कारण मञ्चमा उपस्थित भइनन् । शशी भण्डारी र कमला श्रेष्ठ दिवंगत भइसकेका छन् ।

कार्यक्रमको शुरुवात एकताका रेडियो नेपालबाट घन्किएर लोकप्रिय बनेको गीत ‘लहरा पहरा छहराको देश’बाट भएको थियो । लेकालीले वि.सं. २०२५ मा गरेको आफ्नो पहिलो कार्यक्रमलाई यही गीतको बोलबाट नामाकरण गरेको जानकारी गराएको थियो । आफ्ना संस्मरणसहित गीत प्रस्तुत गरिरहेका लेकाली सदस्यका रोचक प्रसंगहरूले कार्यक्रममा थप रौनक थपेको थियो ।

तेस्रो गीत शुरु गर्ने क्रममा गायक रसिकले भोजपुरबाट काठमाण्डौ आउँदाको आफ्नो विगत सम्झँदै आफ्नो सांगीतिक शुरुवात ‘राल्फा’बाट भएको स्मरण गरे । ‘राल्फा’बाट पृथक् भएपछि हिरण्य भोजपुरेसँगको भेट र लेकालीको आरम्भ भएको प्रसंग जोड्दै उनले ‘हुस्सुले छोपेको शहर’ सुनाएका थिए ।

चौथो गीत लेकालीको पलेँटीमा अतिथि गायिकाको रुपमा संलग्न भएकी लोकप्रिय गायिका मीना निरौलाले सुनाएकी थिइन् । हिरण्य भोजपुरेले सृजना गरेको गीत ‘म सानो मेरो मन सानो’ मीनाको स्वरमा निकै सुहाएको प्रतिक्रिया दर्शकहरूबाट आएको सुनिन्थ्यो । त्यसपछि गणेश रसिकले सृजना गरेका दुईवटा युगल गीतमा पनि रसिकलाई मीनाले साथ दिएकी थिइन् । रसिकले पछिल्लो चरणमा सृजना गरेका यी दुई गीतमा उनले काव्यिक प्रयोग गरेको छनक पाइन्थ्यो । स्लो नम्बरका यी गीत ‘ओ शून्यता’ र ‘तिम्रो सुन्दर रुपमा बस्छु म’ मार्फत् रसिकले मानवीय संवेदनालाई पृथक बिम्बकासाथ अभिव्यक्त गरेका छन् ।

कार्यक्रमको अर्को चरणमा महिला र पुरुष युगल गीत प्रस्तुत भएका थिए । महिलायुगल गाउनु पहिले उर्मिला श्रेष्ठले आफ्नो पारिवारिक पृष्ठभूमिलाई सम्झँदै त्यतिबेला महिलाले गीत गाउनुलाई काठमाण्डौको रैथाने नेवार परिवारले सहजतापूर्वक नलिएको सन्दर्भ सम्झिइन् । उर्मिला र मीनाको स्वरबाट ‘खोलाको तिरमा’ र ‘काफल पाक्यो’ गुञ्जनसँगै कार्यक्रमले लोकशैलीका गीतमा प्रवेश गरेको थियो ।

‘नेपाली गीतहरू विशेषगरि तीन तरिकाले बन्ने गरेका छन्- शास्त्रिय, अन्तरराष्ट्रिय र लोक शैलीमा । शास्त्रिय र अन्तरराष्ट्रिय शैलीमा बनेका गीतलाई आधुनिक भनियो तर हामीले चाहिँ लोक गीत जस्तै गीत आफूले सृजना गर्दा पनि तिनलाई आधुनिक भनिएन तर भनिनु पर्छ भन्ने हाम्रो मान्यता थियो’- हिरण्य भोजपुरेले लेकालीका रचनाका बारेमा आफ्नो धारणा राखे । रसिकले पनि भोजपुरेसँग लोली मिलाउँदै थपे- ‘हामीले आफू जन्मे हुर्केको परिवेशबाट सरल शब्दहरू लियौं र तिनलाई नै धुन भर्‍यौं । हामीले लोक पाराकै शैली अपनाएकोले सायद ती लोकगीत जस्तै भए । हामीलाई यिनै गीतले फरक पहिचान पनि दिए ।’

‘विगतमा अभावको बेला लेकालीलाई आफ्ना अभिभावकहरूले सहयोग गरे र हामी यो क्षेत्रमा लाग्न पायौं अहिले हाम्रा सन्तानहरू सक्षम भएका छन् र हामीलाई सहयोग गरिरहेका छन् र यो उमेरमा पनि गाउने जमर्को गरिरहेका छौं’- उर्मिला भन्दै थिइन् । उनको संकेत लेकालीको पहिलो कार्यक्रम हेर्न अमेरिकादेखि नेपाल आएका छोरा सिरिशतिर हुन्छ । आमाको प्रतिक्रिया सुनेर सिरिश निकै खुशी देखिन्थे । सिरिश वि.सं. २०२८ सालको लेकालीको पछिल्लो कार्यक्रम हुँदा जन्मेकै थिएनन् । 

रसिक र भोजपुरेले गाएका युगल गीत ‘ए है, है आज भेडाबाख्रा कता लाने?’ र ‘त्यो माथिबाट को मान्छे झर्‍यो-ए मितज्यू’ले कार्यक्रमलाई झन् रोचक बनाउँदै लगे । त्यसपछि लेकालीका चर्चित गीतहरू ‘बस बस रे’, ‘हर हर महादेव पानी देऊ’, ‘झाँक्री गीत’, प्रस्तुत हुँदा दर्शकमा हाँसो र उमंग थपिएको देखिन्थ्यो । हाँसो रमाइलोकै बीच लेकालीले ‘रातो भाले’बाट आफ्नो कार्यक्रम समापन गरेको थियो ।

पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दर महर्जनले साथ दिएका थिए ।

पलेँटीको आउँदो महिनाको शृंखलामा गीतकार तथा कविहरू कालीप्रसाद रिजाल, मञ्जुल र तीर्थ श्रेष्ठ प्रस्तुत गरिने आयोजक संस्था नेपालयले जानकरी गराएको छ । सो अवसरमा तीनजनै श्रष्टाहरूको पुस्तक सार्वजनिक गर्ने कुरा पनि जानकारी गराइएको थियो ।

शुरुमा अँग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी हाल अन्तिम सप्तान्त- शुक्रवार, शनिवार र आइतबार गरी तीन दिन संचालन हुँदै आएको छ । त्यसैले यसपालीको पलेँटी पनि शनिबार र आइतबारसमेत निरन्तर रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री