बिहीबार, असोज २ २०७६ | Thu, September 19, 2019
नेपालको समय: १२:३७ | UK Time: 07:52

बेलायत एनआरएनएको जननी

नवीन पोखरेल
२०७६ भदौ २२ गते १३:१४

नवीन पोखरेल

गैर आवासीय नेपाली संघ (एनआरएनए) को सञ्जाल अहिले विश्वभर फैलने क्रममा छ । ११ अक्टोबर, २००३ मा पहिलो सम्मेलनसंगै जन्मिएर बामे सरेको एनआरएनए अहिले विश्वका ८० देशमा पुगेको छ । सबैभन्दा कान्छो 
राष्ट्रिय समन्वय परिषद (एनसीसी) माल्टा बनेको छ । एकीन तथ्यांक त प्राप्त भएको छैन्, तर एनआरएनएले सार्क मुलुकबाहेक विदेश बस्ने करिब ५० लाख नेपालीको प्रतिनिधित्व गरिरहेको भनिन्छ । विदेश बस्ने नेपालीले यसलाई आस्थाको केन्द्र ठान्ने गर्छन् भने नेपाल सरकारले पनि ‘रिकग्नाइज’ गरि विशेष महत्व दिंदै आएको छ ।

एनआरएनएको प्रसंग उठान गरिरहंदा यसको 
परिकल्पना, उद्देश्य र प्रारम्भिक दिनहरुतिर पनि फर्केर हेर्नुपर्ने हुन्छ । विदेश बस्ने नेपालीहरुको संख्या क्रमशः बढिरहंदा ति गैर आवासीय नेपालीलाई एउटै छाता मुनी समेट्न, विदेशमा सिकेको सीप, ज्ञान, पंूजी स्वदेश भित्रयाउन अनि नेपाली कला, संस्कृति एवं भाषा संरक्षण तथा प्रवर्धन गर्न अत्यावश्यक हुने महशुस गर्न थालियो । त्यसमध्ये झन् बढि आवश्यकता ठान्ने अभियन्ताहरु थिए डा. उपेन्द्र महतो, जीवा लामिछाने, रामप्रताप थापा, डा. 
राघवप्रसाद धिताल (ओबिइ), प्रा. डा. सूर्यप्रसाद सुवेदी 
(ओबिइ, क्यूसी), रबीन्द्र मिश्र, महन्त श्रेष्ठ, चिरन्जिवी ढकाल आदि । विभिन्न मुलुकमा बस्ने नेपालीहरु एकजुट हुन र सञ्जालमार्फत अझ दरिलो पहिचान बनाउन इच्छुक भइरहंदा यसलाई मुर्तरुप दिन अभियन्ताहरुको पहिलो औपचारिक बैठक बेलायतमै बसेको थियो । त्यो थियो सन् २००३ ताका । बेलायतमा गहन छलफलपछि नेपालमा गैर आवासीय नेपाली संघ दर्ता गरि सन् ११ अक्टोबर, २००३ मा यसको जन्म भएको थियो ।

त्यसकारण एनआरएन यूकेले संघको जननी ब्रिटेनमा भएको ‘क्रेडिट’ लिइरहन्छ । यही बेला अर्को ऐतिहासिक कीर्तिमान पनि एनआरएन यूकेले नै कायम गरेको छ । त्यो के भने सन् २०१९, ०२१ कार्यकालका लागि करिब १३ हजार ५ सय बढि पन्जिकृत सदस्यहरु बनाएर राष्ट्रिय समन्वय परिषद, बेलायत विश्वकै सबैभन्दा बढि सदस्यहरु बनाउने परिषदमा दरिएको छ । नेपालीहरु अत्यधिक रहेका अमेरिका, अष्ट्रेलियालाई पनि यसले उछिनेको हो । यो सदस्य संख्या वृद्धिले संघप्रति गैर आवासीय नेपालीको आकर्षण बढेको रुपमा पनि धेरैले बुझेका छन् । त्यसो त मातृभूमि प्राकृतिक विपत्तिको चपेटामा परेका बेला होस् वा केन्द्रबाट सहयोग आव्हान, एनआरएनए यूकेले आफूलाई अब्बल शाखाका रुपमा उभ्याइसकेको छ ।

एनआरएनए गठनलाई नजिकबाट नियाल्ने साक्षी हुन् व्यवसायी महन्त श्रेष्ठ । उनी एनआरएनए यूके संस्थापक अध्यक्ष पनि हुन् । ‘हामीले सञ्जाल गठनका लागि सन् २००२ देखि नै छलफल गरिरहेका थियौं । उपेन्द्र महतो, जीवाजी, रामप्रताप थापाहरु लन्डन आइराख्थे । विदेश बसेका सबै नेपालीलाई समेट्ने अनि टाढा बसेपनि हामी सबै नेपाली हांै र मातृभूमिका लागि केही गर्नुपर्छ भन्ने सोच अभिवृद्धिको उपज थियो संघ गठन’, श्रेष्ठ स्मरण गर्छन् ।

श्रेष्ठ सहमतिमा सन् २००५, ६ मार्चमा एनआरएनए यूके संस्थापक अध्यक्ष बने । उनलाई संस्थापक अध्यक्ष बन्न पाएकामा गर्व छ । जातजाती, धर्म र वर्ग भन्दा माथि उठेर संघ गठन भएको थियो । अहिले जस्तो राजनीतिक हावी र भांडभैलो पनि थिएन । ‘दोहोरो नागरिकता, कुटनीति र लगानी मेरा मुख्य एजेन्डा थिए । मेरो पालामा मातृभूमि र भइपरी आउने बेला केही सहयोग गर्न सकिन्छ भनेर ‘सिड मनी’ करिब १८ हजार पाउण्ड संकलन गरेका थियौं । अरुसंग नमागी आफैंले त्यो पैसा जुटाइएको थियो किनकि च्यारिटी माग्न अहिलेको जस्तो संस्था थिएनन् । आसन ग्रहण र भाषण पनि थिएन’, श्रेष्ठले भने, ‘मेरो एक वर्षे कार्यकाल भएपनि पहिलो कार्यसमितिले सहयोग र नेपाली संघसंस्थालाई एकै ठाउंमा ल्याउने काम गर्यो ।’

श्रेष्ठले एक वर्षभित्र चुनाव गर्ने प्रतिवद्धता बमोजिम उपाध्यक्ष अशोक श्रेष्ठलाई पद हस्तान्तरण गरेको स्मरण 
गरे । ‘अहिले विभाजन, राजनीतिक हस्तक्षेप, भांडभैलो, मानिसहरुमा पैसाको दम्भ देखेर दुःख लाग्छ’, उनले गुनासो 
पोखे, ‘त्यही भएर अचेल म एकदम निष्क्रिय छु’, कुनै फोरममा जान्न । संस्थाले आफ्नो गरिमा बचाउने बेला आएको छ ।’

त्यसो त पाका व्यवसायी एवं समाजसेवी श्रेष्ठले भनेजस्तै व्यक्ति विशेष वा समूहको पकडमा संघ रुमल्लिएको आभास अन्य धेरै अग्रजहरुलाई पनि भएको छ । निस्वार्थ भावनाले समाजसेवा गर्न खोज्नेहरु यसमा अटाउन सकेका छैनन् किनकि उनीहरुसंग पर्याप्त धन छैन् । सदस्यता शुल्क तिरिदिएर नेतृत्व लिन सक्ने सामथ्र्य वैद्धिक वा सच्चा समाजसेवीको नियन्त्रण बाहिर छ । केही वर्ष यता चुनावको उत्तरार्धमा भारी रकम खन्याएर नेतृत्व लिने परिपाटी विकसित भएको छ ।

एनआरएनए नाम आउने बित्तिकै प्रा.डा. सूर्यप्रसाद सुवेदी 
(ओबिइ, क्यूसी) को योगदान कसैले भुल्न सक्दैन् । संघको मुख्य विधान र यसको ‘कन्सेप्ट पेपर’ लेख्ने अभिभारा डा. सुवेदीले नै लिएका थिए । तर, अचेल संघमा आवद्ध छैनन् उनी । आफू जस्ता प्रवुद्ध वर्ग अट्ने वातावरण संघमा नभएको गुनासो 
प्राध्यापक सुवेदीले बेला बेला व्यक्त गर्दै आएका छन् । यद्यपि, उनले संस्थालाई नजिकबाट नियालिरहेको बताए । उनको पर्यवेक्षणमा अहिले एनआरएनए नेताहरुसंग दुरदर्शीताको कमी छ, प्रतिवद्धता र गाम्भीर्यताको अभाव छ । उनीहरु समाज र 
देशप्रतिभन्दा व्यक्तिगत स्वार्थपूर्तिका लागि तंछाडमंछाड गरिरहेका छन् । ‘अहिले संगठन मुद्दा हारेको झगडिया जस्तो दिशाहीन अवस्थामा छ’, उनको असन्तुष्टि छ, ‘नेपाली नागरिकता निरन्तरता मुद्दामा संघले वौद्धिक नेतृत्व दिन नसक्दा कयौं अवसर गुमेको छ । संघका अन्य क्रियाकलाप पनि निरासजनक खालका छन् ।’

संस्थापकको नाताले अझै पनि सक्षम नेतृत्वले नेपाल र विदेश बस्ने नेपालीको इज्जत प्रतिष्ठा कायम राखी मातृभूमिका लागि केही गर्न सक्ने अपेक्षा उनले राखेका छन् ।

एनआरएनएप्रति पहिलो पुस्ताको आकर्षण देखिएपनि दोश्रो पुस्ता भने यसतिर आकर्षित हुन सकिरहेको देखिन्न । पहिलो पुस्तालाई खादा, आसन र भाषण प्यारो छ तर दोश्रो पुस्ता यी तीनै चिजमा आफ्नो भविष्य र करिअर देख्दैन् । त्यसकारण उनीहरुलाई तान्न युवामुखी रचनात्मक कार्यक्रम ल्याउन आवश्यक छ । एनआरएन पहिलो पुस्ता पनि ‘कुइरोको काग’ झैं अलमलिएको अवस्था छ । लगानी गरौं साथमा पूंजी छैन्, 
नगरौं संस्थाको उद्देश्यसंग मेल खांदैन् ।

शुरु शुरुका दिनजस्तो पैसाको खोलो बगाइदिन्छौं भनेर दिएको गफ स्वदेश बस्ने नेपालीले अब पत्याउन छाडिसकेको अवस्था छ । वैदेशिक लगानी, कल्याणकारी काम र सीप हस्तान्तरणमा खुट्टा कमाउने हो भने एनआरएनए कालान्तरमा अस्तित्वविहीन हुने निश्चित छ ।

(यस लेख एनआरएनए यूकेको प्रकाशन ‘एनआरएन भ्वाइस’ बाट साभार गरिएको हो- सं)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक