आइतबार, मंसिर १ २०७६ | Sun, November 17, 2019
नेपालको समय: २०:१९ | UK Time: 14:34

एनआरएन अभियानमा अहोरात्र

कुल आचार्य
२०७६ भदौ २३ गते २०:५०

लेखक आचार्य

सन् १९७० को दशक । नेपालीहरु विस्तारै विदेश जाने प्रचलन शुरु हुंदै गर्दा आमनेपालीका हकमा सपना थियो त्यो । पारिवारिक पृष्ठभूमिका केही वा पढे लेखेका ज्यादै थोरै भाग्यमानीमात्र विदेशी भूमिमा टेक्न पाउंथे । ति भाग्यमानीमा ब्रिटिश गोर्खाहरुका सन्तान पनि गनिन्थे । 
अग्रजहरुकै स्मृति सुन्दा पनि अचम्म लाग्छ जतिबेला नेपाली अनुहार भेटिंदा टक्क अडिएर बोल्न मन लाग्थ्यो । नेपाली नेपालीको सानो झुण्ड बनाउनु अहिलेका हलमा कार्यक्रम भएभन्दा बढि महत्व लाग्थे ।

तर, समय बदलिएको छ । भनिन्छ, सार्क मुलुकबाहेक विदेश गएका नेपालीको संख्या अहिले ५० लाख हाराहारी छ । रोजगारी, अध्ययनबाहेक विदेशमै सेटल्ड भएका नेपालीको संख्या पनि लाखौं छ अब । प्रवासमा नेपालीको जनघनत्व बढिरहंदा तिनलाई एउटै नेटवर्कमा जोड्न, आफ्नो पहिचान कायम 
राख्न, दुःख सुःख बांड्न र मातृभूमिका लागि सामूहिक रुपमा केही योगदान गर्न केही अग्रजहरुको परिकल्पना स्वरुप एनआरएनए जन्म भयो । एनआरएनए सञ्जाल अहिले विश्वका ८० देशमा फैलिइसकेको छ । मेरो यो लेख एनआरएनए अभियानमै केन्द्रित 
रहनेछ ।

गैरआवासीय नेपाली संघ बेलायत स्थापनादेखि नै म यो पवित्र 
संस्थामा आवद्ध छु । बेला बेला मलाई लाग्ने गर्छ यो पनि एउटा नशा नै हो किनकि घर, परिवार अनि व्यापार व्यवसाय चटक्क छाडेर यो अभियान भनेपछि जहां पनि पुग्ने बानी भएछ । अहिले आफूलाई गैरआवासीय नेपाली संघको एक सिपाहीको रुपमा परिचय गराउन पाउंदा गौरवान्वित महशुस पनि हुन्छ । सन् २००५ देखि एनआरएनए यूकेमा आवद्ध भएलगत्तै २००७ देखि २००९ सम्म सदस्य, २००९ देखि २०११ सम्म उपाध्यक्ष र २०११ देखि २०१३ सम्म एनआरएनए यूके अध्यक्ष भएर धेरै अनुभव संगाल्ने अवसर पाएं । म जहिले पनि भन्ने गर्छु कि ग्रासरुटबाट आएको मान्छे यस संस्थामा लागेर मैले धेरै सिकें र अझै सिक्ने क्रम जारी छ ।

बेलायतवासी अग्रज अभियन्ता, आमाबुवा, दाजुभाई, दिदीबहिनीलगायतको आर्शीर्वाद र मायाले मैले सन् २०१३ देखि २०१५ सम्म आइसिसी सदस्य, सन् २०१५ देखि २०१७ मा यूरोप कोअर्डिनेटर र सन् २०१७ देखि २०१९ सम्म आइसिसी उपाध्यक्षका 
रुपमा काम गर्ने मौका पाएं । यी विभिन्न पदमा रहेर मैले धेरै आयामबारे बुझ्ने अवसर 
पाएं, साथीभाइ कमाएं ।

एनआरएनए यूके मेरो घर हो । मैले सामाजिक क्षेत्रमा जे जति राम्रो काम गरें, यहींबाट सिकेको हुं । मैले संस्थामा काम गर्न थाले लगत्तै एनआरएनए यूकेका अग्रजहरुको विश्वास जित्न सफल भएं । मैले इमान्दार पूर्वक गरेका काम यूकेवासी नेपालीहरुले मनपराइ दिनुभयो ।

एनआरएनए मार्फत मातृभूमिमा सेवा गर्ने मौका पाएं । मेरो जन्मभूमि पर्वत, जुम्ला, सुस्ता पुगेर नेपाली जनताको सेवा गर्दै उहांहरुको दुःखेको घाउमा मल्हम पट्टी लगाउन पाएं । एनआरएनए यूके अध्यक्ष हुंदा यहांस्थित संघसंस्थाहरुसंग सहकार्यलाई मैले पहिलो प्राथमिकतामा राखें । नर्सिङ एसोसिएसन यूकेसंग मिलेर जुम्लामा बर्थिङ सेन्टर निर्माण, नेपाल पत्रकार महासंघ यूकेसंग मिलेर पत्रकारका लागि अक्षय कोष स्थापना, सहारा यूकेसंग मिलेर नेपाली खेलाडीका लागि सहयोग गर्ने मौका पनि मलाई मिल्यो ।

त्यसबाहेक प्रवासबाट पनि जन्मभूमिको विकासका लागि लगानी गर्नुपर्छ भनेर ट्रेड एण्ड इन्भेस्टमेन्टको सुरुवात गरें । प्रवासमा रहेका साथीहरुको समूह बनाएर हाइड्रो, माइक्रो फाइनान्स, एनआरएनएको गौरव गर्ने मध्येका एक काम शंखमूल पार्क निर्माण मेरै नेतृत्वमा सम्पन्न भयो । उक्त पार्क संरक्षणका लागि ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

एनआरएनए यूके मेरो पाठशाला भएकोले यहांबाट आर्जन गरेको ज्ञान नै मैले खर्च गर्दै आएको छु । यसबीचमा, मैले साना ठूला गरी पांच दर्जन भन्दा बढी परियोजना सम्पन्न गरिसकेको छु ।
एनआरएनए यूके जस्तो संस्थालाई सधैं छाता संस्थाका रुपमा विकास गर्नुपर्छ भनेर होस् वा पूर्वअध्यक्षबाट संरक्षक बनाउन पर्छ भनेर सुरुवात पनि गरियो । यसले एनआरएनए यूकेलाई निरन्तर राम्रो बाटोमा अघि बढ्न सघाइरहेको विश्वास मलाई छ ।
एक व्यवसायीका रुपमा यूकेमा रहेपछि समाजसेवा र च्यारिटी मेरो पहिलो प्राथमिकतामा रहंदै आएको छ । मेरो हैसियतले म जति सक्छु, सहयोगका हात फैलाउंछु । हुन त मैले यति च्यारिटी गरें भनेर आफ्नै चर्चा बटुल्ने मेरो उद्देश्य पनि होइन् । तर, मलाई लाग्छ 
मेरो सानो सहयोगले अरुलाई प्रेरित गर्नेछ ।

कतिपय मानिसहरु भन्ने गर्छन् एनआरएनए धनीहरुको क्लब बन्यो, यसले सर्वसाधारणलाई छोएन । म साथीहरुको त्यो भावनालाई कदर पनि गर्छु । किनकि जब हामी नेतृत्व चुन्ने तरखरमा हुन्छौं, तब हामीलाई पैसाको अहंमता बढ्छ । करोडौं 
खन्याउंछौं, कार्यकर्ता किन्छौं । यसो गर्दा क्षमतावान, बुद्धिजिवी पाखा लाग्नु स्वभाविक हो । यसको मैले घोर विरोध गर्दै आएको सर्वविदितै छ । म एनआरएनए केन्द्रिय अध्यक्षको प्रत्यासी भएकाले पनि मैले यस मुद्दालाई प्रमुख रुपमा उठान गरेको छु । यसबाहेक मेरो अर्को पनि चासो के छ भने नयां नेतृत्व केही व्यक्तिले टिका र आर्शीबाद लगाइदिएको भरमा चुनिनु हुन्न । प्रजातान्त्रिक ढंगबाट नयां समावेशी नेतृत्व अबको आवश्यकता हो । म यस संस्थालाई केही व्यक्तिहरुको जन्जिरबाट मुक्त गराउने अभियानमा पनि छु । मलाई यहांहरु सबैको साथ आवश्यक छ ।

(एनआरएनए यूकेको प्रकाशन ‘एनआरएन भ्वाइस’ बाट साभार)

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक