इंग्ल्याण्ड राज्य परिषदको कोषाध्यक्ष पदमा अनुभवी उम्मेदवार

लन्डन । क्रोयडन नेपलिज कम्युनिटी यूकेका संस्थापक अध्यक्ष ध्रुवहरि बास्कोटा एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषदको कोषाध्यक्ष पदका लागि अहिले चुनावी मैदानमा छन् । आउंदो साता १४ सेप्टेम्बरमा हुन लागेको निर्वाचनमा सक्षम, कर्मशील र अनुभवी उम्मेदवार ठानिएका उनी 
अग्रपंक्तिमा पनि छन् ।

एनआरएनलाई सबैको साझा संस्थाको रुपमा विकास र प्रवर्धन गर्न यस संस्थाको सदस्य बढाउंदै सदस्यता प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन पहल गर्ने, आर्थिक पारदर्शीतालाई पहिलो प्राथमिकता दिइ संस्थाको आय श्रोत जुटाउन प्रभावकारी पहल गर्ने, बेलायतमा रहेका अन्य सम्पूर्ण संघसंस्था, नेपाली दूतावास, स्थानीय काउन्सिल र नेपाल सरकारबीच समन्वय गर्दै एनआरएनएलाई सम्पूर्ण नेपालीहरुको एकमात्र साझा संस्थाको रुपमा विकास गर्दै लैजान आफ्नो व्यवसायिक तथा व्यक्तिगत सञ्जालको सक्दो सदुपयोग गर्दै अगाडि बढ्ने आदि एजेन्डा उनले लिएका छन् ।

सन् २००५ मा बेलायत आएका वरिष्ठ समाजसेवी बास्कोटा सन् २००७ देखि क्रोयडनमा स्थायी रुपमा बसोवास गर्दै आएका छन् । सन् २०११ मा समाजसेवा गर्ने मनोकांक्षा अझ सशक्त रुपमा अगाडि बढाउन आफ्नै पहलमा उनले क्रोयडन नेपलिज कम्युनिटी यूके स्थापना गरे । सन् २०११ देखि ०१७ सम्म अनवरत रुपमा अध्यक्षको पदमा रही विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमलाई बढावा मात्र होइन, क्रोयडन वरपर बसेका सम्पूर्ण नेपालीलाई एकतावद्ध गर्ने श्रेय पनि उनैलाई जान्छ ।

केही वर्ष देखि उनले स्थानीय सांसद तथा काउन्सिलरहरुसंग सहकार्य गर्दै क्रोयडन नेपलिज कम्युनिटी यूकेलाई साझा नेपाली संस्थाको रुपमा स्थापित गर्न सफल भएका छन् । नेपालमा पाटन संयुक्त क्याम्पसबाट अर्थशास्त्रमा स्नातक तहको शिक्षा हासिल गरेका बास्कोटाले पूर्व प्रहरी परिवार मञ्च यूकेको सह-कोषाध्यक्षको पद सफलतापूर्वक सम्हालिसकेका छन् । उनी क्याट यूकेको आजीवन सदस्य पनि हुन् ।

बास्कोटाले आफूलाई मत दिएर जिताइदिन सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री