बेलायतमा अब पढाईपछि ‘वर्क भिजा’

लण्डन । अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट भएपछि दुई वर्षसम्म ‘वर्क भिजा’ पाउने भएका छन् ।

सरकारले इन्टेक २०२०-२१ देखि यस्तो नियम ल्याउन लागेको होम अफिसको अध्यागमन सम्बन्धि पछिल्लो श्वेत पत्रमा उल्लेख छ । 

तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा सन् २०१२ मा हटाइएको पोस्ट स्टडी वर्क भिजा व्यवस्था पुनः ल्याउन लागिएको हो । अहिले ब्याचलर्स, मास्टर्स गरेपछि चार महिनामात्र काम गर्न छुट छ ।   

प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेको नयाँ रणनीतिको मुल उद्देश्य ओभरसीज विद्यार्थीलाई बेलायती विश्वविद्यालयतर्फ आकर्षित गर्नु रहेको छ ।  

यूरोपियन कानुन अनुसार बेलायती र ईयू विद्यार्थीलाई बर्षको ९ हजार २५० पाउन्ड ट्युसन फि तोकिएको छ तर अन्तर्राष्ट्रिय विद्यार्थीलाई ‘लिमिट’ छैन् । यसको मतलब अन्तर्राष्ट्रिय विद्यार्थीलाई बेलायती विश्वविद्यालयले आफ्नै ढंगले ‘चार्ज’ गर्न सक्छन् ।   

‘अन्तर्राष्ट्रिय विद्यार्थीलाई पढाईपछि काम गर्ने अधिकार दिइनु स्वागतयोग्य कुरा हो’, हाल पिएचडी गरिरहेका विद्यार्थी अभियन्ता गणेश खड्का भन्छन्, ‘तर नेपालबाट कन्सलटेन्सीहरुले यसको दुरुपयोग गर्न सक्नेतर्फ पनि विद्यार्थी चनाखो हुन जरुरी छ ।’ 

बेलायतले करिब दशकअघि नियम खुकुलो बनाउंदा यसको ब्यापक दुरुपयोग भएपछि अध्यागमन नियममा कडाइ गरिएको थियो ।  

अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतलाई बर्षको प्रत्यक्ष-अप्रत्यक्ष करिब २० बिलियन पाउन्ड योगदान गरिरहेका बताइन्छ । हाल बेलायती विश्वविद्यालयमा ४ लाख ६० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको आकंडा छ । इकान्तिपुर  

प्रतिक्रिया

सम्बन्धित सामाग्री