बिहीबार, कार्तिक २८ २०७६ | Thu, November 14, 2019
नेपालको समय: ११:५६ | UK Time: 06:11

एनआरएन: जसले पद र चर्चा दियो, खुशी दिएन

अन्जु भण्डारी
२०७६ भदौ २६ गते २२:३३

अन्जु भण्डारी

बाबा… बाबा ! माथि कोठाबाट छोरी एकनासले चिच्याइरहेकी थिई । त्यतिनै बेला टेबलमा रहेको फोनको घन्टी तारन्तार बजिरह्यो । हेरेको बेलुकाको मिटिंगको तयारीका लागि रैछ । 
छोरीलाई ‘बिजी छु भरे मिटिंग सकेपछि भेट्छु’… भन्ने जवाफ फर्काएर कपडा लगाउन कोठातिर लागें ।

उफ् कोठा पनि लथालिंग, कति दिन भयो नमिलाको । २ दिन भयो सरिता घरमा नआएको पनि । कहां गएको हो, कता गएको हो कुनै पत्तो छैन् । मनमा यसै यसै हुण्डरी खेलेको छ । तर, छोरा मान्छेको अभिमानले कहां यो सब देखाउन दिन्छ र ? भनेर गएको भए पनि त हुन्थ्यो नि, के नै गर्थें र मैले । मलाई नखोज्नु भनेर 
छोरीलाई म्यासेज गरेकी रैछे नत्र त सबैतिर खोजी पनि सक्थें होला । हुन त नखोजेको पनि कहां हो र ? चिनजान भए जति सबैमा फोन नगरेको पनि होइन् । उल्टै सरिताको हालखबर के छ भनेर सोधे पछि नाजवाफ भएर फोन काटें । यो आइमाईको जात भएनी पीर, नभए झन् पीर । पीरको वर्षा पनि कति कति, उता आफ्नो प्रतिद्धन्द्धीहरु रातदिन प्रचारमा लागि परेका छन्, आफू मात्र नभएर परिवार, चिनजानका सबै साम, दण्ड-भेद सब लगाएर हिंडेका छन् तर आफ्नो भाग्य, भएकी श्रीमती पनि यही बेलामा घर छोडेर हिंडेकी छे ।

दराज खोलें लगाउन मिल्ने एउटा कपडा छैन् । यसो मिटिंगमा जांदा, बाहिर निस्किंदा हुन्छ भनेर ब्राण्डको कपडा नकिनेको पनि होइन् । ति पनि आइरन नगरेपछि खुम्चिएर हेर्ने नहुने भएको छ । आइरन लगाउने ढंग पनि छैन्, होस् पनि कसरी । पहिला एक्लो हुंदा कहिल्यै आइरन लगाउन पर्ने कपडा लगाइएन । हुन त त्यतिबेला यस्तो ‘एनआरएनए’ भन्ने पनि त थिएन । न कसैलाई देखाउनु थियो, न आफूनै देखिनु थियो । मात्रै बेलायतमा कसरी ‘सेटल’ हुने भन्ने मात्र ध्यान थियो । त्यसैले त अगाडि जे भेट्यो त्यही लगाइन्थ्यो ।

न ब्रान्ड, न आइरन, शरीर ढाक्न र बेलायतको जाडो छल्न पाए पुग्थ्यो । कागत मिलेर सरीता र छोरी आएपछि त हो यसो बाहिर निस्कन थालेको । अब आफ्नो इज्जत त राख्नै परयो । हेर्दा हेर्दै आंखा दराजको कुनामा रहेको टिसर्टमा परयो । २ वर्ष अगाडिको जन्मदिनमा सरिताले उपहार दिएकी थिइन् त्यो टिसर्ट । उनको मन राख्नका लागि मन नपरी नपरी पनि दराजमा कोचरेको थिएं ।

यसो ढोकाको संघार नाघ्न लाग्दै थिएं, मम्मीले दिनुभएको भनेर एउटा खाम हातमा थमाएर छोरी आफ्नो बाटो लागि ।

प्रिय मनिष,
सर्वप्रथम त मलाई माफ गरिदेऊ । तिम्रो हातमा यो पत्र परिन्जेल त म तिम्रो सपनाको देशको सीमारेखा पार गरिसकेको हुनेछु । मलाई थाहा छ, तिमीलाई मेरो खांचो छ, मेरो उपस्थिति तिम्रो लागि लाख हुनेछ तर म तिमीलाई शुन्यमा छोडेर जांदैछु । तिमीले जित्नु पर्छ तर म तिम्रो जीत बांड्नका लागि हुनेछैन् । तिमी धेरै राम्रो छौ, समाजका लागि धेरै गरेका छौ । र तिमी यसको लागि पनि लायक छौ । तर, पनि समाजका लागि राम्रो गर्दा गर्दै आफ्नै 
परिवारप्रति न्याय गर्न सकेनौ । अरुलाई खुसी 
राख्न खोज्दा छोरीलाई र मलाई दुःख र पीडाको महासागरमा छोड्यौ ।

तिमीप्रति गुनासाहरु त्यति धेरै त छैन् तर पनि जति छन् पोखेर पनि हल्का नहुने छन् । या भनुं गुनासाहरु गुम्सिंदा गुम्सिंदै गुनासोलाई नै जीवन ठानेर बांच्ने भैसकेछु म त । तर, मनिष अब यी गुनासाका भारी बोक्न सक्ने सामर्थ ममा छैन् । त्यसैले त अब आइन्दा तिमी सामु पोख्न नसके पनि म संगै लिएर हिंड्ने पनि छैन् ।

तिमीलाई थाहै छ, मसंग सपनाका चागंहरु त्यति धेरै छैनन् । भएपनि ति तिम्रा महत्व भित्र परेनन् । हुन त तिम्रो महत्वभित्र त म पनि पर्दिन् । त्यसैले त तिमीले आफ्नो लागि छुट्टै संसार कोरेर हिड्यौं । जुन भित्र म अटाउन सकिन । जब तिम्रो संसार भित्र म अट्न सक्दिन भने तिमीले दिएको ढुंगा माटोले बनेको घरभित्र अटाएर के गरुं त्यो पनि एक्लै । आखिर ति भित्ताहरु पनि तिमी जस्तै पत्थरका त हुन् ।

मनिष, सांच्चै ठाउं बदलिएपछि रहर पनि बदलिंदो रैछ । जस्तो शहर उस्तै सपना । तिमी यो सहर जस्तै झिलिमिली बन्यौ तर म बन्न सकिन । तिमीलाई सधैं गर्व लाग्ला बेलायत दिएं, यहांको झिलिमिली दिएं तर सम्मान दिन सकेनौं, आफ्नो नाम दियौ तर आफ्नोपन दिन सकेनौं । यो समाजको अगाडि श्रीमती भनेर चिनाउन सकेनौ । सायद तिमीलाई यहि लागेको होला तिम्रो बराबरीको म छैन् । हो म तिम्रो बराबरीको छैन्, तिमी जस्तो पढे लेखेको म 
छैन् । तिमी जस्तो बोल्न हिंड्न, लाउन म जान्दिन् । तर, पनि यसमा कुनै पछुतो छैन् किनकि मैले मेरो धरातल बिर्सेको छैन् । 
सगरमाथाको टुप्पोमा पुगे नि फर्कनु पर्ने आफ्नो धरातलमा हो, यति मैले बुझेकी छु । भन्नु पर्ने धेरै थिए मनिष तर भनिन । भनेर पनि कहिल्यै बुझेका छौ र ? हुन त जसले मेरो मौनतालाई बुझ्न सकेन, उसले मेरो शब्द कसरी बुझोस् । मलाई थाहा छ गलत समयमा लिएका सही निर्णयहरु पनि गलत हुन्छन् । हो म पनि गलत छु यतिखेर, भलै मेरो निर्णय सही 
होस् । तर, पनि पश्चातापको एक छिर्को हुने छैन् मेरो मनमा । त्यसैले त तिम्रो बेलायत, तिम्रो झिलिमिली, घर, सुखसयल सबै छोडेर नेपाल 
फर्कंदैछु । तिमीलाई शुभकामना तिम्रो बेलायत अनि ‘एनआरएनए’ सबै फलोस् फुलोस् ।

तिम्री सरीता, सोचेको भन्दा बेसी पायो भने कुनै चिजको ‘भ्यालु’ हुंदैन क्यारे । अझ आफ्नै धरातल बिर्सिदिन्छ मान्छे । हो मैले पनि बिर्सिंदिए आफ्नो धरातल । आफूले हिंडेको बाटाहरु । ज जसले मलाई यहां पुरयायो उसैलाई पछाडि छोडेर अगाडि बढेछु म त । त्यो पनि फर्कनै नसक्ने गरि । के के गरिन सरीताले मेरो लागि ? दुवै मृगौला फेल भएर डाक्टरले मृत्युको दिन तोकिंदिदा आफ्नो मृगौला दिएर कालको मुखबाट खोसेर ल्याउने उनै हुन् । आज जता जता हिंडे, जे जे 
गरें, जुन सफलता हात परे, उनैको मृगौलाले डोराएर हिडे । तर, उनलाई साथ लिएर हिंड्न लाज लाग्यो । लाज त मलाई लाग्नुपर्ने थियो जसलाई नराम्री भनेर आफूबाट टाढा राख्न खोजें, उसैले मलाई जीवन दियो । जसको अनुहारमा दागै दाग देखें उसैले मेरो लागि आफ्नो सग्लो शरीर, त्यो पनि खुसी खुसी चिर्न मन्जुर भयो । बेलायत आएको केही वर्षसम्म आफ्नो परिवारप्रति आफ्नो कर्तब्य पुरा गर्न नसकेको म । तर, मेरो जिम्मेवारी पुरा गर्न आफूले खाइरहेको जागिर नै छोडिदिइ तर पनि गुनासोको कुनै छनक पर्न समेत दिइन । न परिवारले कुनै दिन गुनासो गरे ।

तर, मैले के गरें उनको लागि । एउटा श्रीमतीको स्थान भन्दा मेरी छोरीको आमाको रुपमा हेरें । बेलायत पनि श्रीमतीलाई होइन, छोरीकी आमा ठानेर ल्याएं, छोरीको खुसीको लागि उनलाई आफू सामु राखें । हरेक पल उनीमाथि उपकार गरेको महसुस गराएं । दिनुपर्ने जति सबै दिएं । बेलायत, झिलिमिली, सुखसयल, खान्छु लाउंछु भनेको सबै पुरयांए । एउटा लोग्ने हुनुको कर्तब्य पुरै निभाएं, यही भ्रममा हिंडिरहे । तर लोग्ने हुनुको धर्म निभाउन सकिन, न उनको कुनै दुःख सुनें, न आफ्नो खुशी बांडे । गुनासाका कति पोका थिए होलान्, कहिल्यै खोल्ने चेष्टा गरिन् । यहां आएको १० औं वर्षमा १० चोटी पनि सोधिन होला तिमीलाई कस्तो छ ? मायाले कहिल्यै स्पर्श गरिन्, सधैं आफ्ना इच्छाहरु मात्र उनी माथि पोखें ।

तर, म नै अहिले समाज बदल्न भनेर हिंडिरहेछु । जसले आफूलाई बदल्न सकेन उसले अरुलाई कसरी बदल्न सक्छ र ? आफ्नोको दुःख पीडा बुझ्न नसक्नेले अर्काको घाउमा मल्हम लगाउन खोज्दैछु । आफ्नो परिवारमाथि न्याय गर्न नसक्नेले अरुको समस्यामा न्यायधिस बन्न खोज्दै छु । तर, म जे जे बनें या बन्न खोज्दैछु त्यो सरीताको साथ र सहयोगले रैछ । जति नै घमण्ड गरे पनि उनी बिना म ‘माझी बिनाको डुंगा’ जस्तै रैछु । जतिनै बेला पनि पल्टन, घोप्टन सक्ने ।

खुसीको मापन धन सम्पति, पदले होइन 
रैछ । सन्तुष्टि गलामा कति वटा खादा लगाइयो भन्नेमा होइन रैछ । सरीताले छोडेको केहि दिनमा छर्लंग भएं म । मेरो खुसी सरीता रैछिन्, यति बुझेपछि यो बेलायत, पद, सुख खुसी सब उनको अगाडि सानो लाग्न थाल्यो, फिक्का लाग्न थाले यी झिलिमिली । आखिर जहां बसेपनि देशको सेवा गर्ने हो भने आफ्नाको मन दुखाएर परदेशमा किन बसुं म । आफ्नै देशमा गएर आफ्नै संग किन नबसुं ? त्यसैले त बेलायत, पद झिलिमिली सब छोडेर आफ्नै देश लागें । आफ्नै धरातल, आफ्नै जन्मभूमि जहां मेरा आफ्ना रहेका छन्, मेरी सरीता अनि आमा बाबु रहेका 
छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक