एनआरएनए युके निर्वाचनः के होला परिणाम ?

राजकुमार थापा

गैरआवासीय नेपाली संघको जन्म बेलायतको लन्डनबाट भयो । सन् २००३, अक्टोबरमा बसेको बैठकले विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई एकीकृत गर्ने उद्देश्यले एउटा साझा संस्थाको रूपमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद निर्माण गर्ने निर्णय भयो । तत्कालीन राजा वीरेन्द्रले संघको पहिलो 
अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गरेका थिए । त्यस यता यसले आफ्नो आठौं विश्व सम्मेलन सम्पन्न गरेर अहिले आगामी अक्टोबर १५-१७ तारिख काठमाडौंमा आयोजना हुने नवौं विश्व सम्मेलनको संघारमा छ । तर, यो आलेखको विश्लेषण सिङ्गो एनआरएनएको होइन, मात्र यस संस्थाको जननी देश बेलायतको हो । जहां भोलि सेप्टेम्बर १४ तारिख नयां नेतृत्वको लागि चुनाव हुंदैछ र परिणाम आउन केही घण्टा लाग्ला । यो पक्तिकार स्वयंलाई पनि बेलायतको एनआरएनए र समाजलाई नजिकबाट नियाल्ने मौका पाएकोले यो विश्लेषण गर्ने आधार मिलेको हो ।

शुरुवातः

एनआरएनए जस्तो विश्वस्तरको संस्थाको स्थापना बेलायतको भूमिबाट भएको माथि भूमिकामै उल्लेख भइसक्यो । बेलायतबाटै औपचारिक रूपमा शुरु भएको एनआरएनए अभियान आज विश्वका ८० देशमा फैलिंदा बेलायत एनआरएनएका लागि यो एउटा गौरव र चुनौतीको विषय बनेको छ । एनआरएन इतिहासमा १४ हजार भन्दा माथि अर्थात सबैभन्दा बढी पन्जिकृत सदस्यहरु बनाएर रेकर्ड तोडेको बेलायतले आफ्नो नयां नेतृत्व चैं कस्तो चुन्ला ? सबैको चासो र कौतुहलताको बिषय बनेको छ ।

गठबन्धनः

एनआरएनए बेलायतको इतिहासमा निर्वाचन प्रयोजनकालागि अहिलेजस्तो ठूलो गठबन्धन र ‘क्याम्पेनिङ’ यस अघि कहिल्यै अनुभव नगरिएको बताइन्छ । तर, केही वर्ष पहिला विवादकै कारण एक-एक वर्ष कार्याकाल बांडेर पनि एनआरएनए बेलायत चलेको इतिहास छ ।

यसपटकको गठबन्धन भने अलि अनौठो र घोलघाल जस्तो देखिएको छ । राजनैतिक, वैचारिक र सामाजिक रूपमा कोही कुनै निश्चित गठबन्धनमा देखिंदैनन् अर्थात समाजका सामाजिक अभवयहरु विभाजित लाग्छन् । बेलायतको नेपाली समाजका निक्कै प्रभाव राख्ने जातीय संस्थाहरु पनि छुट्टाछुट्टै ध्रुवमा उभिएको देखिन्छ । जस्तो कि तमुधीं युकेले अध्यक्षको उम्मेदवारमा पुनम गुरुङलाई समर्थन गरेको छ भने किरांत राईहरुको संस्थाले शेर सुनारलाई ।

यी र यस्ता कारणहरुबाट चुनावी परिणामको आंकलन गर्न कठिन भएको छ । गठबन्धनका अगुवा उम्मेदवारहरु पुनम गुरुङ र शेर सुनार आफू र आफ्नो समूह जित्ने दावी त गर्छन् तर यही अन्योलताका बीच दृढ विश्वास व्यक्त गर्न भने चुनाव हुनु केही घण्टा अघि सम्म सकेका छैनन् ।

प्रचारः

अहिलेको सामाजिक सञ्जाल, इन्टरनेट र प्रविधिको जमानामा दुवै पक्षले प्रचारका यी चीजहरुलाई भरपुर प्रयोग गरेर आफ्नो पक्षमा जनमत बटुल्ने भगिरथ प्रयत्न गरेको देखिन्छ । तर, प्रचारको हिसाबले पुनम गुरुङ समूह अलि ब्यवस्थित, आक्रमक र अग्रभागमा रहेको लन्डनकी एकजना मतदाता शीला शर्माको अनुभव छ ।

युकेको प्रभावशाली मध्येको एक संस्था तमुधीं युकेको समर्थन प्राप्त भएर पनि होला, पुनमको प्रचारको ‘ब्यारोमिटर’ अलि माथि देखिन्छ । तर, बेलायतबाट सञ्चालित नेपाली मिडियाहरुमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि हुने गरि कुनै एजेन्डा अगाडि सारेको देखिंदैन् । बरु मिडिया आफैंले उम्मेदवारहरुलाई खोजी खोजी प्रचार गर्नुपर्ने अवस्थाले चुनाव एजेन्डामा भन्दापनि ब्यक्ति केन्द्रित भएको हो कि भन्ने चिन्ता र चासो बेलायतको बौद्धिक नेपाली समुदायमा देखिन्छ ।

परिणामः

जति नै ब्याख्या र बिश्लेषण गरेपनि चुनाव हो एउटाले जित्ने छ अर्कोले हार्ने हार्नेछ, माथिकै विश्लेषण र लेखाजोखालाई आधार मान्दा निर्वाचन परिणाम कसैको पक्षमा एकलौटी हुने देखिंदैन । नतिजा मिश्रित आउने आंकलन गर्न सकिन्छ, कडा प्रतिस्पर्धाबीच सम्भवत अध्यक्षमा पुनम गुरुङ जित्लिन् । महासचिवमा सबैभन्दा कडा टकराव होला, यदि समूहको इमानदारीता देखिए फडिन्द्र भट्टराई जित्लान्, तर जातीय प्रभाव हावी भए कर्मा शेर्पाले बाजी मार्नेछन् ।

आइसिसी सदस्यहरुमा भने धेरै जसो चिरपरिचित अनुहारहरु नै छनौट हुने देखिन्छ । जस्तो कि योगकुमार फगामी, सुशीला राई, ललित न्यौपाने, रमेशराज बास्तोला, अर्जुनकुमार कटुवाल, राजन खकुरेल, दयानिधि सापकोटा, अर्कराज तिमिल्सिनाहरुले बाजी मार्न सक्लान् । अन्य पदहरुमा पनि परिणाम मिश्रित नै हुने अपेक्षा देखिन्छ ।

(लेखक गैरआवासीय नेपाली पत्रकार महासंघका अभियानकर्ता एवं वल्ड नेपाली डटकमका संस्थापक प्रधानसम्पादक हुन् ।)

प्रतिक्रिया

सम्बन्धित सामाग्री