बेलायतको हथ थियेटरमा ‘नेपाल यात्रा’ कला प्रदर्शनी हुने

लण्डन । नेपाली संस्कृति केन्द्र, बेलायत तथा पीएसके आर्टको संयोजकत्वमा ‘नेपाल यात्रा (यात्रा)’ कला प्रदर्शनी हुने भएको छ । बेलायतको हथ थियटरमा हुने प्रदर्शनीमा कलाकारहरू पि. सिंह तथा रोषलिन सिंहका चित्रका माध्यमबाट नेपाल र नेपाली संस्कृति प्रबर्धन गर्ने लक्ष्य राखिएको छ ।

“बुबा र छोरीको यो कलाकार जोडीले स्केच, पानी रंग र एक्रिलिक पेन्ट्सको माध्यमबाट नेपालको प्राकृतिक सुन्दरता, नेपाली कला तथा संस्कृतिबारे चिनाउने प्रयत्न गर्दैछन्”- नेपाली संस्कृति केन्द्रका अध्यक्ष निर्मलकुमार थापाले भने ।

नेपाली संस्कृति केन्द्र, बेलायतकी परियोजना संयोजक डा. संगीता श्रेष्ठका अनुसार वास्तुगत रूपमा धनी प्राचीन मन्दिर तथा मठहरू, विभिन्न जातीय समूहहरूको प्रतिनिधित्व गर्ने चित्र र परम्परागत पोशाक अदिको प्रदर्शनीले नेपालप्रति जागरूकता जगाउने र बेलायतवासीलाई नेपालबारे जानकारी गराउँदै नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने सो प्रदर्शनीको उद्देश्य छ ।

“विभिन्न आकारका ४० वटा कलाकृति २४ सेप्टेम्बरदेखि १० अक्टुबरसम्म द हथ थियटरमा प्रदर्शन गरिनेछ”- पेशाले सफ्टवेयर इञ्जिनियर पि. सिंहले भने । उनी आफ्नो फूर्सदको समयमा शौखको रूपमा पेन्टिङ गर्ने गर्दछन् ।

“हामी धेरै आशावादी छौं कि प्रदर्शनीले केही हदसम्म बेलायतमा नेपाललाई प्रबर्धन गर्न मद्दत पुर्‍याउनेछ र नेपाल सरकारको ‘नेपाल भ्रमण २०२०’ अभियानमा पनि केही योगदान पुर्‍याउनेछ”- उनले भने ।

अर्का कलाकार १५ वर्षिया रोषलिन सिंह बेलायतको निजी स्कूल वर्थमा ११ कक्षाकी विद्यार्थी हुन् । उनी आफ्नो कलाकृति प्रदर्शनमा आफ्नो बुवासँग सामेल हुन पाएकोमा आफूलाई भाग्यशाली ठान्छिन् । रोषलिन बाल्यकालदेखि नै चित्रकलामा सौखिन थिइन् र प्राथमिक बिद्यालयमा हुँदा नै बेलायतमा प्राथमिक तहका बिद्यालय स्तरीय ‘व्हेलफेस्ट कला प्रतियोगिता’ जितेकी थिइन् ।

“मलाई लाग्छ कि मेरो जीसीएसईको लागि कला विषय लिनुले वास्तवमै मलाई ठूलो सुधार गर्न मद्दत गरेको छ किनकि म कलाको नयाँ शैलीहरू सिक्दै छु, नयाँ चीजहरूको प्रयोग गर्दा म उत्साहित हुने गर्दछु । र, बिभिन्न कलाकारहरूको बारेमा सिक्दैछु पनि । सबैको शैली फरक छ”- रोषलिनले भनिन् ।

थप जानकारीको लागि सम्पर्क-

ईमेल: [email protected]

फोन: 07454840775

49, Belgravia House, Longfield Avenue,

London W5 2BE

प्रतिक्रिया

सम्बन्धित सामाग्री