एनआरएन युके अध्यक्ष पुनम गुरुङद्वारा हारेकालाई एक साथ लिएर जाने अठोट

लण्डन । नवनिर्वाचित एनआरएन युके अध्यक्ष पुनम गुरुङ नेतृत्वले आइतवार एक भव्य समारोहबीच शपथ लिएको छ । निर्वाचन समितिका प्रमुख संयोजक डमर घलेले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, सह-कोषाध्यक्ष सोम सापकोटा, सल्लाहकार डा. हेमराज शर्मा, युरोप महिला सह-संयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा लगायत करिब ५ सय सहभागी थिए ।  

शपथ तथा घोषणा सभामा अध्यक्ष पराजित शेरबहादुर सुनार समूह भने सहभागी थिएन । केन्द्रिय उपाध्यक्ष आचार्यले अर्को समूहलाई ल्याउन अन्तिमसम्म प्रयास गरिए पनि सम्भव नभएको बताउँदै उनीहरुलाई संगै लिएर अगाडि जान नयाँ कार्यसमितिलाई सुझाए ।

तस्बिर- मिलन तमु

निर्वाचन समितिका प्रमुख संयोजक घलेले आफूहरुले निर्वाचन स्वच्छ बनाउन सकेसम्म प्रयास गरेको तर कहीं कतै त्रुटी हुन गएको भए माफी दिन आग्रह गरे ।  



एनआरएन युके अध्यक्ष पुनम गुरुङले शपथ कार्यक्रममा दिएको मन्तब्य यस्तो छ : 

निर्वाचन समितिका आदरणीय संयोजक ज्यू, अन्य सदस्यज्यूहरु, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण नेतागणहरु, गैरआवासीय नेपाली संघ युकेका संरक्षक परिषद र राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण नेतृत्वगणहरु, गैरआवासीय नेपाली संघ युकेका विजीत र अविजीत सबै उम्मेदवार साथीहरु, पत्रकार मित्रहरु, उपस्थित सबै अतिथिज्यूहरु, आमाबुबा, दाज्यूभाई दिदीबहिनीहरु ।

आजको दिन – एनआरएन युकेले इतिहासको एउटा नयाँ पाना कोरेको दिन, एनआरएन युकेको विगत १६ बर्षको लामो इतिहासमै अत्यन्त कडा प्रतिष्पर्धाको बीचबाट पहिलो पटक एकजना महिला अध्यक्षले चुनाव जितेको घोषणा भएको दिन, संसारैभरका एनआरएनहरुमा सबैभन्दा ठूलो मतदाता संख्याले निर्वाचनमा भाग लिएर बादविबाद, धैर्यता र संयमताको बीचबाट निर्वाचनलाई सफलतामा टुंग्याएको दिन, आज यहाँहरु सबैजना खुशी हुनुभएको छ । म पनि खुशी भएकी छु ।

जसरी सगरमाथा आरोहीले सगरमाथाको शिखर पुग्दा आत्मविभोर भई खुशी व्यक्त गर्छ, त्यसरी नै आज हामी खुशीले हर्षविभोर भएका छौं । यस अवसरमा, आजको यस पवित्र दिनमा, यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुसंगै हामी खुशी व्यक्त गर्न चाहन्छौं ।

र, हामीलाई मतदान गरेर विजय गराइदिनुहुने हाम्रा सम्पूर्ण मतदाताज्यूहरुलाई मेरो तर्फबाट र मेरो सम्पूर्ण टिमको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

हाम्रो यस विजय यात्रा हामी कसैको एक्लो प्रयासले मात्र संभव भएको होइन । यस कार्यमा हाम्रा सयौं अग्रज महानुभावहरुको अतुलनीय योगदान रहेको छ । आजको यस घडीमा म वहाँहरुलाई संझना गर्न चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु ।


सर्वप्रथम, यति ठूलो निर्वाचनलाई निकै नै भव्य र सभ्य तरिकाले सम्पन्न गर्न नेतृत्व दिने निर्वाचन समितिका संयोजक ज्यू र निर्वाचनलाई सफल बनाउन वहाँको टिममा रहेर अहोरात्र खट्ने निर्वाचन मण्डलका सम्पूर्ण सदस्यज्यूहरुलाई म र मेरो टिमको तर्फबाट हार्दिक धन्यवाद दिन ज्ञापन गर्न चाहन्छु ।

हाम्रो निर्वाचन महानिर्वाचन या आमनिर्वाचन जस्तै विशाल थियो । स्कटल्याण्डदेखि नर्दन आयरल्याण्ड र वेल्स हुँदै ईङ्गल्याण्डसम्मको यति ठूलो निर्वाचनमा सफलता पाउने गरी व्यवस्थापन गर्नु निकै चुनौतिपूर्ण काम थियो । यसलाई हाम्रो निर्वाचन समितिले अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यको लागि म हाम्रो निर्वाचन परिचालन समितिका संयोजकज्यू, मतदाता परिचालन समितिका संयोजकज्यू लगायत चुनाव समितिका मेरा सम्पूर्ण अग्रजहरुप्रति म र मेरो टिमको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु र आभार व्यक्त गर्दछु ।

आजको एक्काईसौ शताव्दी सञ्चार र मिडियाको शताब्दी । यस चुनावी अभियानमा हाम्रा बिचारहरु हाम्रा मतदाता र सम्पूर्ण सरोकारवाला महानुभावहरुसमक्ष संप्रेषण गर्न मद्दत गर्नुहुने मिडियाका सम्पूर्ण साथीहरुलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं ।

निर्वाचनको यस प्रतिष्पर्धाको मैदानमा म संगसंगै चुनावी प्रतिष्पर्धाको मैदानमा एउटै लय र एउटै शूर भएर अहोरात्र खट्ने मेरा टिमका सम्पूर्ण साथीहरूलाई म बधाई साथसाथै धन्यवाद दिन चाहन्छु । हामीहरुको सामूहिक प्रयासले नै कडा प्रतिष्पर्धाको यस चुनावमा हामी बहुसंख्यक साथीहरुले निर्वाचन जित्न सफल भएका छौं । हाम्रा केही साथीहरु निर्वाचनमा विजयी हुन सक्नु भएको छैन । फेरी पनि हामी एउटा टिममै छौं । हाम्रो टिमले काम गर्ने हो । हामी एनआरएनको यस अभियानलाई संगै लिएर अगाडी बढ्ने नै छौं । यस अर्थमा वहाँहरुलाई पनि म हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु ।

हामीहरुको यस अभियानमा हामीसंगै साथमा रहने हाम्रा परिवारका सदस्यहरुको अहम भूमिका रहेको छ । मेरा श्रीमान्, मेरा बालबच्चाहरु र परिवारका अन्य सदस्यहरु, र मेरो जस्तै मेरो टिमका सबै साथीहरुको आ–आफनो परिवारहरुको त्याग र योगदान अत्यन्त मुल्यवान छ । हामी वहाँहरु सबैजनाप्रति हार्दिक धन्यवाद दिन चाहन्छौं र आभार प्रकट गर्न चाहन्छौं ।

यस निर्वाचन निकै कडा प्रतिष्पर्धात्मक रहयो । यस्तो प्रतिष्पर्धा एनआरएनको एउटा सुन्दर पक्ष पनि हो । बादविबाद र सहमतिबाट नै असल कुराहरुको बिकास हुन सक्ने भएकोले यसपटक हामीले एनआरएन युकेमा यो अभ्यासलाई स्थापित गरेका छौं । निर्वाचनको मैदानमा होमिएपछि कोही हार्ने र कोही जित्ने स्वभाविक कुराहरु हुन् । यसलाई हामी सबैले मनन गर्न जरुरी हुन्छ । एनआरएन युकेले यस कुरामा एउटा सबल उदाहरण दिन सफल भएको छ । यो ‘डेमोक्रेटिक’ अभ्यासमा हामी सबैको जित हुन्छ । यसर्थमा, म हाम्रा प्रतिष्पर्धी साथीहरुलाई म र मेरो टिमको तर्फबाट हार्दिक धन्यबाद र बधाई दिन चाहन्छु ।

अब हामी हाम्रो आगामी दुई वर्षे कार्यकाललाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने ? हाम्रो घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरुलाई कसरी सफलतापूर्वक लागू गर्ने भन्ने विषयमा केन्द्रित भएर लाग्ने छौं । हाम्रो एनआरएनलाई राम्रो एनआरएन बनाउने हाम्रो प्रतिबद्धता हो । यस मूलमन्त्रलाई साकार बनाउने प्रतिबद्धता आजको यस सभामा पुनः दोहोरयाउन चाहन्छु । यस महान अभियान हामी एक्लैले पुरा गर्नसक्ने विषय पनि भएन । यसमा बेलायतमा रहने आम बेलायतबासी आमाबुबा, दाज्युभाई, दिदीबहिनीहरुको साथ सहयोग हामीलाई जरुरी हुन्छ । जसको लागि भोलिका दिनहरुमा यहाँहरुको घर आँगनमा पुनः आउने बाचा गर्दै सबै सबैमा पुनः हार्दिक धन्यवाद ज्ञापन गदै आफ्नो भनाईहरु यही अन्त गर्दछु । धन्यवाद 

तस्बिर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री