चुम्लुङ देनलाई अझ व्यवस्थित गर्ने तयारी गर्दै कियाचु युके

अल्डरसट (बेलायत) । आफ्नो गौरवमय योजनाका रूपमा खरिद गरेको चुम्लुङ देनलाई याक्थुङ चुम्लुङ यूकेले थप व्यवस्थित ढङ्गले सञ्चालन गर्ने भएको छ । भविष्यमा बहुउद्देश्यीय परियोजनाका रूपमा चुम्लुङ देन (जग्गा) लाई उपभोग गर्न चुम्लुङले गृहकार्य पनि थालेको छ ।

शनिबार अल्डरसटमा सम्पन्न राष्ट्रिय परिषद बैठकमा बोल्दै चुम्लुङ यूके अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले चुम्लुङ देन खरिद प्रक्रिया र स्वामित्व ग्रहणको कामले पहिलो चरण मात्रै पूरा भएको बताए । उनले बेलायतवासी बीसौँ हजार याक्थुङहरूको गरिमाका रूपमा चुम्लुङ देन खरिद गर्न सफल भएको दोहोरयाए । ‘सिसेक्पा तङ्नाम भव्य ढङ्गले आफ्नै चुम्लुङ देनमा मनाउन सफल भयौँ । अब भावी पिँढीका लागि देनलाई बहुउद्देश्यीय र साझा बनाउनुपर्छ,’ परिषद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सम्बाहाम्फेले भने । उनले चुम्लुङ देनको रेखदेखदेखि भविष्यमा चुम्लुङ हिम निर्माणसम्मको परिकल्पना आफूहरूले गरेको सुनाए ।

कुल २५.३३ एकडमा फैलिएको चुम्लुङ देनको खरिद प्रक्रिया सन् २०११ मा सम्पत्ति खरिद समिति गठन भएपछि सुरु भएर गत साल समापन भएको थियो । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको हो । चुम्लुङ देन खरिदका लागि ७८७ सहयोगदाताहरूबाट रकम सङ्कलन गरिएको थियो । मेडस्टोनको याल्डिङमा रहेको जग्गा सन् २०१८ मा कुल ३,३२,१९२ पाउण्ड स्टर्लिङमा खरिद गरिएको थियो । चुम्लुङ देनको उद्घाटन मेडस्टोन बोरो काउन्सिलकी मेयर मेरियन रिङले गत जुलाई १३ मा आयोजित सिसेक्पा तङ्नाम उत्सवका अवसरमा गरेकी थिइन् ।

चुम्लुङ देनकै रेखदेख गर्न परिषद बैठकले उपाध्यक्ष विमला सेनेको संयोजकत्वमा चार सदस्यीय कार्यदल समेत निर्माण गरेको महासचिव गणेश इजमले जाकारी दिए । सदस्यहरूमा दीपक तुम्बापो, जीवन प्यारा मादेन र इन्द्र थक्लुङ रहेका छन् ।

महासचिव इजमले बैठकमा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै चुम्लुङ सदस्यता पत्र र चुम्लुङ देन सदस्यता पत्र वितरण कार्यलाई तीव्रता दिने बताए । प्रतिवदेनअनुसार हाल १५ वटा शाखा र तीनवटा अनौपचारिक क्षेत्रहरूमा २०४९ साधारण सदस्यहरू, ७२ आजीवन सदस्यहरू, ३५ जना संरक्षक सदस्यहरू रहेका छन् । उनले नयाँ पुस्तामा सँस्कृति हस्तान्तरण गर्न युवा फोरम निर्माणको अवधारणा भए पनि पूरा गर्न नसकेको बताए ।

यसैगरी, कोषाध्यक्ष धन काम्वाङले आयतर्फ कुल ५९,९५७.४५ पाउण्ड, व्ययतर्फ कुल ४४,३५२.७३ पाउण्ड भई कुल बैङ्क बचत १५,६०४.७२ पाउण्डको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

केन्द्रीय समिति र शाखा समितिहरूको उपस्थितिमा सम्पन्न परिषद बैठकले पूर्व महासचिव खगेन्द्र लाओतीद्वारा प्रस्तुत कियाचु यूके पुरस्कार सम्बन्धी नियमावली २०१९ लाई संशोधनसहित पारित गरेको थियो ।

चुम्लुङ यूकेले विभिन्न विधामार्फत् समुदाय र सङ्गठनका लागि विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सिरिजङ्गा अवार्ड, यलम्बरहाङ अवार्ड, चुम्लुङ अवार्ड र वर्षको उत्कृष्ट कलाकार अवार्डहरूले सम्मानित गर्दै आएको छ ।

यसैगरी, बैठकले सन् २०२० को सिसेक्पा तङ्नाम उत्सवका लागि उपाध्यक्ष नरवीर आङ्वोलाई मुख्य संयोजक र अर्का उपाध्यक्ष दुर्गा पाङ्मालाई उपसंयोजक तोकेको छ । वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङका अनुसार केन्द्रीय समितिले चुम्लुङ सदस्यहरूको समस्यामा सहयोग गर्न कल्याणकारी कोष निर्माण गरेको बताए । कोषले सदस्यहरूको मृत्यु भएमा या कठिन समस्या परेमा राहत रकम उपलब्ध गराउनेछ ।

बैठकले विधान संशोधनलगायत आगामी महाधिवेशनको मिति तय गर्न सन् २०२० फेब्रुअरी १५ मा विधान सभा डाकेको छ । परिषद बैठकमा पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू, सल्लाहकारहरू समेतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री