बेलायतमा उग्रवादीहरुबाट आतंकवादी खतरा बढिरहेको प्रहरी निष्कर्ष

लन्डन । बेलायतमा चरम दक्षिणपन्थी उग्रवादीहरुबाट आतंकवादी खतरा सबैभन्दा छिटो बढिरहेको प्रहरीले जनाएको छ ।

युकेको आतंकवाद विरोधी इकाईका प्रमुख निल बासुले एउटा ब्रिफिङमा मार्च २०१७ यता प्रहरीले उग्रवादी हमलाका २२ वटा योजनाहरु विफल बनाइ दिएको बताएको बेलायती अखबारले उल्लेख गरेका छन् । उनले ती मध्ये ७ वटा चरम दक्षिणपन्थी उग्रवादीहरुसंग सम्बन्धित रहेको बताए । यद्यपि उनले अझै पनि सबैभन्दा ठूलो खतरा जिहादीहरुबाटै रहेको जनाएका छन् ।

मेट्रोपोलिटन प्रहरीका सहायक आयुक्त बसुले चरम  दक्षिणपन्थी विचारधाराबाट प्रभावित व्यक्ति वा समूहले जिहादीहरु तथा इस्लामिक एस्टेट समूहको आक्रमण शैली नक्कल गरेको आफूहरुले पाएको पनि बताए ।

उग्रवादीहरुलाई आफ्नो प्रपोगाण्डा फैलाउन यूट्युब जस्ता प्लेटफर्म सहयोगी भएको अनुसन्धानकर्ताहरुको ठहर छ ।

प्रहरीले चरम दक्षिणपन्थी उग्रवादीका गतिविधि निस्तेज गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । गत वर्षदेखि एमआइ फाइभले प्रति आतंकवाद प्रहरीसंग सहकार्य रहेर आतंकवादी योजना निस्तेज गरिरहेको छ ।

प्रहरीले आतंकवादी हिंसा रोक्न ‘एमआई–५’ सँग मिलेर सन् २०१८ यता गोरा सर्वोच्चता र इस्लामिक अतिवादी विचारधारासम्बन्धी ८० योजनाको अनुसन्धान गरिरहेको पनि जनाएको छ । ‘एमआई–५’ ले गत वर्षदेखि चरम दक्षिणपन्थी योजनाविरुद्ध आफैंले नेतृत्व गरेको हो ।

गार्डियन समाचारपत्रका अनुसार, पछिल्ला वर्ष आतंकवादी गतिविधिमा समातिएका एक चौथाइ व्यक्ति दक्षिणपन्थी हिंसासँग सम्बन्धित थिए । सन् २०१६ मा लेबर सांसद जो कोक्स र सन् २०१७ मा उत्तरी लन्डनको मस्जिदमा एक मुस्लिमको त्यही समूहबाट हत्या भएको प्रहरी निष्कर्ष छ । विगत दुई वर्षमा यस्ता मुद्दा ४ प्रतिशतले बढेका प्रहरीले जनाएको छ । सन् २०१६ देखि २०१८ बीचमा कट्टरपन्थी कारबाही पनि ८ प्रतिशतले बढेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री