सालिन अभियन्ता कृष्ण तिमल्सेनाको युरोप उपसंयोजकमा उम्मेदवारी


लन्डन । लन्डनस्थित एकजना सालिन र कर्मठ एनआरएन अभियन्ता कृष्ण तिमल्सेनाले एनआरएनए 
युरोप उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय महासचिव डा. बद्री केसीलाई साक्षी राखेर तिमल्सेनाले आइतबार सांझ लन्डनमा एक पत्रकार सम्मेलन गरि आफ्नो ९ बुंदे 
प्रतिवद्धतापत्रसहित उम्मेदवारी घोषणा गरेका हुन् ।

सन् २००७ देखि एनआरएनमा आवद्ध तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

‘मिडिया एक्सपोजर’ भन्दा काममा बढि विश्वास गर्ने उनले गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७), एनआरएनए युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहेर 
आफ्नो कार्यकौशलता प्रस्तुत गरिसकेका छन् ।

मृदुभाषी, सालिन, निष्कपट र निष्कलंक छविका तिमल्सेना सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

तिमल्सेनाको ९ बुंदे प्रतिवद्धतापत्र जस्ताको तस्तै-
१. युरोप क्षेत्रमा रहेका नेपाली समुदायका लागि विशेष राहतको कार्यक्रम स्वरुप बेलायतको राजधानी लण्डनमा एक विशेष च्यारिटी कार्यक्रमको आयोजना गरी आपतकालीन राहत कोष स्थापनाको लागि पहिलो पहलकदमी गर्नेछु ।

२. गैरआवासीय नेपाली संघले उठाउंदै आएका 
महत्वपूर्ण मुद्दाहरु, नेपालमा सामूहिक लगानी कोष, नागरिकताको निरन्तरता, भूपूगोर्खा लगायतका मुद्दाहरुलाई आगामी नयां कार्यसमितिको सहयोग सहकार्यमा कार्यान्वयन गर्न लागि पर्नेछु ।

३. संघको क्षेत्रीय बैठकहरुलाई अझ व्यवस्थित गर्न आयोजक राष्ट्रबीच प्रतिस्पर्धी बनाइ प्रष्ट कार्ययोजना सहितको प्रपोजलका आधारमा आयोजक राष्ट्रको चयन गरिने छ ।

४. गैरआवासीय नेपाली संघका क्षेत्रीय बैठकमा भएको खर्च विवरणलाई पारदर्शी बनाइने छ ।

५. हाल युरोप क्षेत्रमा निस्क्रिय संघ तथा राष्ट्रिय समितिलाई निर्वाचित भएको ३ महिनाभित्र सक्रिय बनाउन पहल गर्नेछु ।

६. युरोपस्थित नेपाली समुदायमा हुर्किंदो दोस्रो पुस्ता तथा युवाहरुको लागि नेपाली भाषा तथा संस्कृति सिकाउने र युरोप क्षेत्रमा नेपालको पर्यटन प्रवद्र्धन गर्न हरेक राष्ट्रिय समितिसंग समन्वयन गरी विशेष कार्यक्रम सञ्चालन गर्नेछु ।

७. युरोपियन युनियन लगायत यहांका संघसंस्था तथा व्यवसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न आवश्यक पहल गर्नेछु ।

८. युरोपमा रहेका राष्ट्रिय समन्वय परिषद्लाई थप सक्रिय बनाउन तथा अझ संस्थागत बनाउंदै सबैको एनआरएनए भन्ने भावनालाई जागृत गराउन लागिपर्नेछु ।

९ युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा केन्द्रसंगको समन्वयमा आवश्यक पहल गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री