लण्डनमा पहिलो एनएलसीसी टेनिस टुर्नामेन्ट

लन्डन — बर्न्टओकस्थित नेपाली भाषा तथा सांस्कृतिक केन्द्र (एनएलसीसी) को आयोजनामा पहिलो एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गरिएको छ । गएको ३ वर्ष देखि बर्न्टओकमा नेपाली बालबालिकाका लागि नेपाली भाषा कक्षा संचालन गर्दै आएको केन्द्रले पहिलो पटक एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गरेको हो ।

गत शनिवार मिलहिल स्कुलमा आयोजित टुर्नामेन्टमा १८ जना खेलाडीले भाग लिएका थिए । प्रतिस्पर्धामा सिंगल्सतर्फ कृष्ण थापा विजयी बने भने राजन फुयाल रनर अप भए । त्यस्तै डबल्सतर्फ आरबी राई तथा हिमांशु ज्ञवाली विजेता भए भने माधव पराजुली र गौरव बराल रनर अप भए । यसै गरी देवेन्द्र गुरुङले ‘प्लेयर अफ दि म्याच’ को उपाधि जितेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि यति नेपाली एसोसिएसनका अध्यक्ष ध्रुब केसीले यति नेपाली एसोसिएसनले शुरु गरेको टुर्नामेन्टलाई निरन्तरता दिएकोमा नेपाली भाषा तथा सांस्कृतिक केन्द्रलाई धन्यवाद दिए । उनले यस्ता अतिरिक्त क्रियाकलाप गरेर नेपाली बालबालिकाहरुलाई नेपाली भाषा सिकाउने अभियानको प्रशंसा पनि गरे । केसीले विजेताहरुलाई पदक प्रदान गरेका थिए ।

‘हाम्रा बालबालिका तथा अभिभावकहरुको वृत्ति विकास तथा तन्दुरुस्तीका लागि हामीले विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएका छौं । त्यसै सिलसिलामा हामीले एनएलसीसी टेनिस टुर्नामेन्ट आयोजना गरेका हौँ’- केन्द्रका सल्लाहकार तथा कार्यक्रम संयोजक भोला पनेरुले भने । केन्द्रका अध्यक्ष सुमन प्रधानले सबै खेलाडी तथा प्रायोजकहरुलाई धन्यवाद दिए ।

कार्यक्रम आयोजना गर्न बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, राजन फुयाल, ध्रुव एमसी, कृष्ण कार्की तथा शेषराज आचार्यले प्रायोजकको रुपमा सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री