तमु समाज युकेले मनायो १२ औं स्थापना दिवस

लन्डन । तमु समाज युकेले एक समारोहबीच १२ औं स्थापना दिवस मनाएको छ । लण्डनस्थित तमु समाज 
युकेको आफ्नै कम्युनिटी सेन्टरमा गत ०५ अक्टोबरका दिन वार्षिकोत्सव मनाइएको हो ।

सन् २००७ सेप्टम्बरमा स्थापना भई गत डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा वैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख सुःखमा साथ दिंदै आएको छ ।

समाजको सामाजिक सक्रियता र विगत १२ वर्षमा यसले हांसिल गरेका उपलब्धि गर्व गर्न लायक छन् । नेपाली तथा तमु कला संस्कृतिको प्रचार प्रसार, भाषा एवं भेषभुषा संरक्षण, सम्वर्धन तथा नयां पुस्तामा आफ्नो 
मौलिक परम्परा कायम गराउन यस संस्था निरन्तर 
रुपमा लागिरहेको छ ।

तमु समाज युकेले नेपाली तथा तमु पहिचानको जगेर्ना गर्दै स्वदेश तथा प्रवासमा विभिन्न 
सांस्कृतिक, सामाजिक तथा परोपकारी कार्य गर्दै संयुक्त अधिराज्यमा बेलायती रहनसहन र जीवन पद्दतिमा अन्तरघुलन तथा समाहित हुंदै सम्पूर्ण बेलायतवासीको मन जित्न सफल भएको छ ।

वार्षिकोत्सव कार्यक्रम तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, तमु समाज युएइकी अध्यक्ष उषा गुरुङ र तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर 
गुरुङले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

१२ औं वार्षिक उत्सवको औपचारिक कार्यक्रम समाजका पूर्व महासचिव ज्ञानबहादुर गुरुङले सन्चालन गरेका थिए भने उपाध्यक्ष शिवकुमार गुरुङले ‘हेल्थ एण्ड 
सेफ्टी’ सम्बन्धी जानकारी दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तब्य दिंदै १२ औं वार्षिकोत्सवको सुःखद उपलक्ष्यमा हार्दिक शुभकामना दिए ।

मन्तव्यका क्रममा विशेष अतिथी तमु समाज युएइकी अध्यक्ष उषा गुरुङले तमु समाज युकेले आयोजना गरेको ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउंदा 
धेरै खुशी लागेको बताउंदै शुभकामना दिइन् ।

कार्यक्रमको दोस्रो चरणमा उपाध्यक्ष शिवकुमार गुरुङले सञ्चालन गरेको सामाजिक भवन परियोजनाका चन्दादाताहरुलाई खादा, फेटा र सम्मानपत्रसहित धन्यवाद दिएर सम्मान गरियो । त्यसैगरि हालै सम्पन्न एनआरएनए यूकेको चुनावमा निर्वाचित हुने उपाध्यक्ष सुनिलबाबु खड्का र सचिव जीत रानाभाटलाई तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति बिन्दु घलेले खादा लगाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रमलाई थप उल्लासमय बनाउन तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमती बिन्दु घलेले संयुक्त रुपमा १२ औं वार्षिकोत्सवको केक काटेका थिए ।

मन्तव्यका क्रममा संस्थापक अध्यक्ष चित्रबहादुर 
गुरुङले स्थापनाकालदेखि वर्तमानसम्म आइपुग्न निस्वार्थ भावले योगदान दिने विभिन्न कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आमा समूह र युवा समूहका 
पदाधिकारीहरुलाई धन्यवाद दिंदै संस्थाको हालसम्मका गतिविधिबारे प्रकाश पारे ।

कार्यक्रममा एनआरएनए यूके नवनिर्वाचित उपाध्यक्ष सुनिलबाबु खड्का र सचिव जीत रानाभाटले पनि समाजले दिएको सम्मानको कदर 
गर्दै शुभकामना दिए ।

कार्यक्रमको अन्त्यतिर आमा समूहकी अध्यक्ष श्रीमति बिन्दु घले र समूहकी कोषाध्यक्ष श्रीमति विमला घलेले विगत ५ महिनामा आमा समूहबाट संकलित ३ हजार ५ सय पाउण्ड तमु समाज यूकेका कोषाध्यक्षलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सघाउने समाजका सबै पदाधिकारी, सल्लाहकार, आजीवन सदस्यहरु, युवा समूह, आमा समूह र अन्य शुभेच्छुकहरुप्रति आभार व्यक्त 
गर्दै समाज घरका म्यानेजर बाबुराम गुरुङ र सहायक म्यानेजर यम गुरुङलाई धन्यवाद दिए । उनले खाना उपलब्ध गराउने गोर्खा स्पाइसी रेष्टुरेन्टलाई पनि धन्यवाद दिए ।

कार्यक्रमको अन्त्यमा विशालको डिजेमा सहभागीले 
भरपुर मनोरन्जन लिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री