केन्टमा गोर्खा मेमोरियल फण्डको दशौं वार्षिकोत्सव


लन्डन । गोर्खा मेमोरियल फण्डको दशौं वार्षिकोत्सव कार्यक्रम गरिएको छ । गत ६ अक्टोबर आइतबार फोकस्टोन टाउन केन्टस्थित 
गार्डेन अफ रिमेम्बरेन्समा ‘गोर्खा मेमोरियल दिवस’ सहित कार्यक्रम भएको हो । समारोहमा करिब ५० उच्च पदस्थ पदाधिकारी र सयौं ब्रिटिश आर्मी परिवार तथा नेपाली सहभागी भए ।

गोर्खा रेजिमेन्टल पाइप र ड्रम बजाएर ब्रिटिश आर्मी मेमोरियल सर्भिस अर्डर अनुसार नै कार्यक्रम शुरु गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथी मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य, श्रीमति गिता आचार्य, अतिथीहरु केन्ट डेपुटी लर्ड लेफ्टीनेन्ट मेजर डेभिस ब्राडली एमबीइ, केन्ट काउन्टी काउन्सिलर एन एलन एमबीइ, फोकस्टन टाउन मेयर काउन्सिलर ज्याकी मेड, फस्ट रोयल गोर्खा राइफल्स्का कमाण्डिंग अफिसर लेफ्टीनेन्ट कर्णेल कोनोरी क्रिस्टोफर, चिफ डिष्ट्रिक्ट पुलिस अफिसर निक स्पार्क, बोर्डर फोर्स प्रमुख डेभ हट्चीन्सन लगायत थिए ।

बिहान ११ बजे शुरु कार्यक्रममा नेपाली र ब्रिटिश राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. सुवेदीले बेलायत नेपाल सम्बन्ध प्रगाढ र उचाईंमा पुरयाउन गोर्खाहरुको योगदान स्मरण गरे । उनले बेलायती मित्रहरुलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ बारे अवगत गराउंदै नेपाल घुम्न पनि अपिल गरेका थिए ।

कार्यक्रममा गोर्खा मेमोरियल फण्डका अध्यक्ष भूतपूर्व काउन्सिलर धन गुरुङले सहभागी सबैलाई धन्यवाद दिंदै गोर्खा इतिहास र बेलायत नेपाल सम्बन्धबारे चर्चा गरेका थिए । उनले रोल्पाको थवाङ गाउंमा अवस्थित बलभद्र उच्च माबिमा आउंदो फेब्रुअरी २०२० सम्म कम्प्युटर टेक्नोलोजी सेन्टर निर्माण भइसक्ने जानकारी दिए ।

मेचीनगर नगरपालिका मेयर बिमल आचार्यले कार्यक्रममा सहभागी हुन पाएकामा आयोजकलाई धन्यवाद दिंदै फोकस्टन टाउन र मेचीनगरबीच भगिनी सम्बन्ध स्थापना हुनुले दुई नगर र देशबीच थप प्रगाढ सम्बन्ध बनेको धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री