गैरआवासीय नेपाली संघको पहिलो बैठकका विभिन्न निर्णय

काठमाडौं ।  गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले श्रमिक कल्याणकारी कोषका लागी १ करोड ६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । 

गैरआवासीय नेपाली संघ सचिवालयका अनुसार, बैठकमा सहभागी सदस्यहरुले वैदेशिक रोजगारीमा पीडितहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् ।

स्मरण रहोस् यस कोषबाट एक निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पीडितहरुलाई सहयोग हुँदै आएको छ ।

बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको थियो । बैठकले यस अघिनै थालिएका कार्यक्रम र शुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सरकारले अघि सारेको ‘नेपाल भ्रमण वर्ष २०२०’ मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पूर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्ने बैठकले निर्णय गरेको छ ।

संघको निर्वाचन विधुतिय पद्दतीबाट प्रत्यक्ष मतदानमार्फत गर्न र निशुल्क सदस्यताबारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ छन् ।

महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउन तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौस्थित सचिवालयलाई चुस्त बनाउन डा. हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ ।

सँस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ । आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशाला आयोजना गर्ने भएको छ ।

संघमा अब ५ बिभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यपार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन) निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ। एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघका संरक्षक परिषद गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्षद्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहने छन् । बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन

बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य (युके), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्वआदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका) र हरिबोल भण्डारी (अमेरिका) रहने छन् ।

बैठक अत्यन्त सौहार्धपूर्ण वातावरणमा भएको थियो । बैठकमा चुनावको बेला गरिएका कुरा बिर्सिएर अवका दिनमा एक ढिक्का भएर अघि वढनुपर्ने कुरामा पूर्ण मतैक्यता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री