अटिजम भएका नेपाली बालकले राष्ट्रिय झन्डा फहराउंदै पुरा गरे लिस्बन म्याराथन

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथन पुरा गरेका छन् । पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड पूरा गर्न सफल भएका हुन् । लिस्बन मिनी म्याराथनमा भाग लिने दुईजना मात्रै नेपाली युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ ।  

म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको ‘ईडीपी मिनी च्याम्पियन्स म्याराथन’ मा ७ बर्षीय युरेश पाण्डेयले आफ्ना ५ बर्षीय भाई युरेकको साथमा २ किमी दौड पुरा गरे । 

युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताउंछन् । बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए । 

युरेश र युरेक दुबै दाजुभाइ नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो । 

बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्न क्लबले हरेक वर्ष दौड प्रतियोगिता गर्दै आएको छ । युरेश र युरेक दुबै दाजुभाई आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री