बेलायत निवासी दुई स्रष्टा सम्मानित


लण्डन । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले बेलायत निवासी दुई स्रष्टालाई सम्मान गरेको छ । काठमाण्डौंमा मंगलवार एक समारोहबीच तिहार शुभकामना आदानप्रदान सहित स्रष्टालाई सम्मान गरिएको हो ।

बेलायतको नेपाली डायस्पोरामा रहेर नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा लागि परेकी विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान बेलायत (युरोप च्याप्टर) की महासचिव मन्जु भण्डारी र विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको विशिष्ट सदस्य एवं वांगमयप्रेमी सर्जक विदुर सिटौला सम्मानित भएका हुन् ।  

प्रमुख अतिथि पूर्वमन्त्री हरिप्रसाद न्यौपानेले बिदेशमा बसेर आफ्नो भाषा, साहित्य जगेर्ना गर्न सांगठनिक रूपमा, व्याक्तिगत रूपमा लागिपरेका स्रष्टाहरूलाई सम्मान गरेर संस्थाले उनीहरूमा हौसला र जांगर थपेको बताए ।  

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले संस्थाको गतिविधिबारे प्रकाश पार्दै बेलायतको नेपाली डायस्पोरामा नयाँ पिंढीलाई भाषा हस्तान्तरणको चुनौती सामना गर्न सर्जकहरू लागिपरेका र यस्तो सत्प्रयासमा जुटेका साथीहरूलाई उर्जा थप्न हरदम तयार रहेको बताए । 

बिशेष अतिथि एवम बरिष्ठ कलाकार मदनदाश श्रेष्ठले सम्मानित स्रष्टालाई बधाई दिंदै भाषा साहित्यको अनुरागले आफुलाई संधै तानिरहने र संसारमा जहां पुगेपनि नेपालीहरूको नेपालप्रेम देखेर भावुक हुने धारणा राखे । अर्का विशेष अतिथि प्रा. डा. पारसमणि भण्डारीले आफ्नो माटोको सुवास र भाषालाई मुटुमा बोकेर हिंड्ने साथीहरूको कदर गरेर यो संस्था अनुकरणीय बनेको बताए ।

यसैगरि बिशेष अतिथि शिवराम राजवंशीले साहित्य संस्कृतिको उत्थानमा सदैव लागिरहने प्रण गर्दै श्रष्टाहरूलाई यथासक्दो सहयोग गर्ने आश्वासन दिए । संस्थाकी बरिष्ठ उपाध्यक्ष एवं प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टालाई अझ उर्जा थपियोस् भन्दै निरन्तर भाषाको समृध्दिमा लगिरहन शुभकामना दिइन् ।

अतिथिको आसनबाट बोल्दै नोबेल साकोस प्रतिष्ठानका संयोजक राजन न्यौपानेले संसारभरिका नेपालीहरूलाई जोड्ने नेपाली भाषा साहित्य सबल भएको देखेर आफू आल्हादित भएको उल्लेख गरे ।

सम्मानित स्रष्टा मन्जु भण्डारीले बिशेष सम्मानलाई आफूले शब्दमा व्यक्त गर्न कठिन भएको र यसले वांगमय क्षेत्रमा अरू धेरै काम गर्न उर्जा थपेको बताइन् । यसैगरि अर्का सम्मानित स्रष्टा विदुरकान्त सिटौलाले पनि भाषा साहित्यका लागि निरन्तर लाग्न यस सम्मानले बल प्रदान गरेको बताए ।

कार्यक्रमको आरम्भमा संस्थाका सल्लाहकार एवम पत्रकार लक्ष्मीप्रसाद प्रसाईले आफ्नो सारगर्भित भनाईसहित उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा गोरखापत्र संस्थानका पूर्व नायव महाप्रबन्धक भरत प्रसाई, नोबेल साकोस प्रतिष्ठानका अध्यक्ष सरस्वती गौतम, संस्थाका सल्लाहकार किशोर उप्रेती, संस्थाका सल्लाहकार एवं साहित्यकार बाबा बस्नेत, जेष्ठ नागरिक समाज वडा नं-२९ का अध्यक्ष ध्रुब केसी, घट्टेकुलो विकास समाजका संस्थापक ध्रुब प्रसाई, पत्रकार यज्ञ ढकाल लगायतको उपस्थिति थियो । 

सो अवसरमा संस्थाका कार्यसमिति सदस्यहरू राधिका दाहाल एवं कल्पना प्रसाई पाठकले सुन्दर सृजना वाचन गरे । संस्थाका महासचिव पुकार तिमिल्सिनाले सहज र रोचक ढंगले कार्यक्रम संचालन र कार्यसमिति सदस्य तीर्थराज दाहालले आफ्नो संक्षिप्त भनाई राख्दै कार्यक्रम समापन गरेका थिए ।

कार्यक्रममा कमलराज प्रसाई, दीपक घिमिरे, रामबहादुर घिसिङ, बुध्दिप्रसाद आचार्य, यादृक्षा उप्रेती, चन्द्र थापा, लोकराज जोशी, देवीदाश भट्टराई, श्यामकृष्ण खड्गी, सम्राट न्यौपाने, हर्क गुरुङलगायत साहित्य अनुरागीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री