एनआरएनए यूकेः नवौं महाधिवेशनमा हाम्रो उपलब्धि

लन्डन । एनआरएनए यूके अध्यक्ष श्रीमती पुनम गुरुङको नेतृत्वमा गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनमा भाग लिन प्रतिनिधिमण्डलसहित काठमाडौं ओर्लिएको एनआरएनए यूके कार्यसमितिले महाधिवेशनमा सहभागिताबाहेक धेरै उपलब्धिमुलक काम गर्न सफल भएको छ । यस आलेखमा एनआरएनए यूके के-कस्ता क्रियाकलापमा सहभागी भयो भन्नेबारे संक्षिप्त चर्चा गर्ने मेरो प्रयत्न छ ।

बेलायतको सहभागिता, प्रतिनिधि चयन र नतिजा माथिको सफलता असफलताबारे अर्को आलेखमा छुट्टै वहस गर्ने छौं । तर, अहिले भने हामी हाम्रो उद्देश्यमा के कति निहित रहन सक्यौ र संस्थागत रुपमा दुरगामी महत्वका विषयवस्तुमा हाम्रो प्रस्तुति कस्तो रह्यो भन्ने चर्चा गर्दैछौं ।

गैर आवासीय नेपाली संघको यो अभियानले डेढ दशक पार गरिरहंदा आज हाम्रो सामु अवसर र चुनौतीहरु पनि परिवर्तित अवस्थामा छन् । अन्य समस्या र मुद्दाहरुको तुलनामा नेपालको 
संविधानमा प्रावधान भए अनुरुप गैर आवासीय नेपालीहरुलाई प्रदान गरिने नेपाली नागरिकताको सवाल जत्तिको महत्वपूर्ण र दुरगामी सायदै अरु कुनै सवाल होला भन्दा अतिशयुक्ति नहोला ।

अहिले नेपाली नागरिकता सम्बन्धि विधेयक नेपालको संसदमा विचाराधीन अवस्थामा छ । गैर आवासीय नेपाली नागरिकता सम्बन्धि बन्दै गरेका कानुन र नीति नियमहरुले हामीलाई पुस्ता पुस्तान्तरसम्म असर पार्ने कुरा घाम जत्तिकै छर्लंग छ । नागरिकताको सवाल हाम्रो लागि अहिले दिनहुं जप्नु पर्ने मन्त्र जस्तै भएको छ । हामीले यो सवाललाई यसको तार्किक निष्कर्षमा नपुगुन्जेल एक पटक उठाएर चुप लागेर बस्न सक्ने अवस्था छैन् । नेपाल सरकार र सम्बन्धित निकायका अधिकारीहरुलाई उनीहरुका कान तातुन्जेलसम्म पटक पटक पुनरावृति हुने गरी झक्झकाउनु अहिले हाम्रो कर्तब्य हुन आउंछ । चाहे त्यो अन्तर्राष्ट्रिय समन्वय परिषदको तत्वावधानमा होस् अथवा संसारको अर्को कुनै राष्ट्रिय समन्वय परिषदमार्फत होस्, यो मागको आवश्यक सुनुवाई नभएसम्म निरन्तर र अविरल लागिरहनु हामी सबैको दायित्व हो । पूर्ववत कार्यसमितिले समेत पटक पटक उठाउंदै आएको यो सवाललाई हामीले अहिलेको नेपाल बसाईमा पनि यथासक्य उठाउने पहल गरेका छौं ।

काठमाडौंमा सम्पन्न महाधिवेशन, निर्वाचनको विषम परिस्थितिको वावजुत पनि हामी हाम्रो कित्ताको यो अत्यन्तै महत्वपूर्ण मागलाई सम्बोधन गराउन यथासक्य प्रयास गरयौं । यसै सिलसिलामा निम्न उल्लेखित निकायहरुमा सम्बन्धित अधिकारीहरुसंग भेट गरेर हामीले हाम्रो मागलाई दोहोरयाउंदै ज्ञापनपत्र दिने लगायत घनीभूत छलफलमा सहभागी बनेका हौं ।

राज्य व्यवस्था तथा सुशासन समितिको अध्यक्ष शशी श्रेष्ठ संगको भेट
नागरिकता सम्बन्धि विधेयकको निरक्यौल गर्ने जिम्मा पाएको राज्य व्यवस्था तथा सुशासन समिति अध्यक्ष शशी श्रेष्ठसंग एनआरएनए यूके टोलीले विशेषत नागरिकता सम्बन्धि एक ज्ञापनपत्र बुझाउंदै गैर आवासीय नेपाली नागरिकता सरल, निसर्त र सर्वसुलभ तरिकाले वितरण गर्ने कानूनी प्रावधानको व्यवस्था गर्न माग गरेको छ । झन्डै डेढ घण्टा लामो छलफल र सुझाव प्रस्तुत गर्दै गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था सम्बधित देशको कुटनैतिक निकायमार्फत गरियोस् भन्ने हाम्रो मागमा माननीय शशी श्रेष्ठ ज्यूले नागरिकता वितरणको सर्वमान्य सिद्दान्त अनुरुप नागरिकता प्राप्तिका लागि मातृभूमिमै आउने पर्ने भएपनि यसको व्यवाहारिक पक्षलाई आत्मसात गर्दै नागरिकताको आवेदन दूतावासमार्फत दिन सकिने प्रावधान व्यवस्था गर्न सकिनेमा आश्वस्त पार्नु भएको थियो । त्यसैगरी गैर आवासीय नेपालीहरुको नेपालमा रहेको सम्पतिको सुरक्षाको ग्यारेन्टी हुनु पर्ने मागलाई पनि हामीले जोडदार रुपमा उठायौं । जवाफमा माननीय श्रेष्ठले त्यसमा निश्चिन्त रहन हामीलाई आश्वासन दिनु भयो ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने संक्रमणकाल एक वर्षसम्म राख्न सकिनेबारे भएको छलफलमा अनेकन व्यवहारिक पक्ष उठान 
गर्दै हामीले कमसेकम त्यो अवधि दुई वर्षसम्म कायम रहनु पर्ने मागलाई दोहोरयाएका थियौं । उहांले गैर आवासीय नेपालीहरुलाई प्रदान गर्न लागिएको नेपाली नागरिकता संविधानमै व्यवस्था भएको हुनाले त्यसमा अन्यथा हुन नसक्ने भन्दै आफूहरु कानूनी देखि वितरण प्रक्रियासम्म हदैसम्म लचक रहने विश्वास हामीलाई दिलाउनु भएको छ ।

त्यसैगरी, हामीले नागरिकता सम्बन्धि कानूनको अन्तिम प्रारूप तयार गर्ने बेलामा सरोकारवाला हामीहरुसंग पनि समन्वय र सहकार्य गर्न अनुरोध गरेका छौं । आवश्यक परेको खण्डमा तत् अवस्थामा उहां स्वयंलाई बेलायत निम्त्याएर आम जनसमुदायको चासोको सुनुवाई गराउने अथवा हाम्रो कार्यदलले फेरी भेटवार्ता गर्न सक्नेबारे पनि हामीले स्मरण गराएका थियौं ।

त्यसैगरी, भूपू गोर्खाहरुको विशिष्ठ परिस्थितिलाई मध्यनजर गर्दै नागरिकता सवालमा नेपाल सरकारले उनीहरुलाई दिने सक्ने प्रावधानमा पृथक व्यवस्था गर्न समेत हामीले अनुरोध गरेका छौं ।

वास्तवमा नागरिकता सम्बन्धि कानुनलाई अन्तिम रुप दिने निकाय यो नै भएकोले पनि अन्य मन्त्रीसंगको भेट भन्दा पनि अत्यन्तै महत्वपूर्ण रुपमा लिएर नै हामीले यो भेटवार्तालाई विशेष महत्व दिएका हौं । यसको संयोजन आइसीसीका निर्वतमान सल्लाहकार तथा कानुनवीद सुरेन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

माननीय गृहमन्त्री रामबहादुर थापासंगको भेट
त्यसैगरी एनआरएन यूकेको टोलीले यही दौरानमा गृहमन्त्री रामबहादुर थापासंगको भेटमार्फत हाम्रा मागहरुलाई ज्ञापन पत्रमा बुंदागत गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा आइपरेका विगतका विभिन्न दैवी प्रकोप राहत तथा उदार कार्यमा नेपाल सरकार गृह मन्त्रालयसंगको सहकार्य स्मरण गराउंदै गृह प्रशासन अन्तर्गत हुने नागरिकता वितरण प्रक्रिया सर्वसुलभ र सरल बनाउनु पर्ने मागलाई हामीले दोहोरयाएका थियौं । जवाफमा उहाले गृह मन्त्रालयबाट यसमा सक्दो सहयोग हुने बताउंदै गैर आवासीय नेपालीहरुको माग र भावनालाई नेपाल सरकारको सम्बन्धित निकायसम्म पुरयाउने आश्वाशन दिनु भएको थियो । यो भेटको संयोजन वर्तमान कार्यसमितिका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले गर्नु भएको थियो ।

माननीय उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबसंगको भेट
एनआरएनए यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको संयोजनमा एनआरएन यूके टोलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादबसंग भेटवार्ता गर्दै एक ज्ञापनपत्र बुझाएको छ । उहांसंगको भेटमा नेपालका दुर दराजमा स्वास्थ सेवाबाट बञ्चित निम्न वर्गीय समुदायलाई स्वास्थ्य सेवामा पहुंच बढाउन एनआरएन यूकेले सहकार्य गर्न सक्ने क्षेत्रको पहिचान गर्दै टेलीमेडिसिन जस्ता उपयोगी सेवामा समन्वय गर्न सक्ने सम्बन्धि छलफल भएको थियो । साथै ज्ञापनपत्रमा स्वास्थ्य मन्त्रालयमार्फत हाम्रा मागहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराएका थियौं ।

माननीय पर्यटनमन्त्री योगेश भट्टराईसंगको भेट
नेपाल सरकार पर्यटन मन्त्रालय र एनआरएनए आइसीसीले एमओयू (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) गरिसकेको परिप्रेक्षमा एनआरएनए यूकेको टोलीले एक भेट गर्दै ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन बेलायतबाट के कस्तो कार्य गर्न सकिन्छ भन्नेबारे छलफल गरेको छ । यसबारेमा आगामी महिना हुने पर्यटन मन्त्रीको आसन्न बेलायत भ्रमणमा थप छलफल र अन्तरक्रिया गर्नेबारे समेत छलफल भएको छ । यो भेटका लागि मन्त्री भट्टराईले हामीलाई स्वयं आमन्त्रित गर्नु भएको थियो ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसंगको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीले आइसीसीको नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित समारोहमा एनआरएनए यूकेको आमन्त्रित टोलीले छोटो भेट गरेको थियो । त्यस अन्तर्गत एनआरएन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङले आफ्नो परिचयात्मक भेटमा प्रधानमन्त्रीको हालै सम्पन्न बेलायत भ्रमणको हवाला दिदै तत्कालिन समयमा एनआरएन यूकेले नागरिकता तथा भूपू गोर्खाहरुको माग सम्बन्धमा स्मरण गराउनु भएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले आफू यस बारेमा पूर्ण अवगत भएको जानकारी गराउनु भएको थियो । प्रधानमन्त्रीसंग एनआरएनए यूकेको टोलीले छुट्टै विशेष भेटवार्ता गर्ने योजना भने दुवै पक्षको ब्यस्त कार्यतालिका बावजुत हुन नसकेको हो । प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले आगामी दिनमा प्रधानमन्त्रीसंगको भेट मिलाउने आश्वासन दिनु भएको छ । तर, सम्माननीय राष्ट्रपतिसंग भेट गर्ने हाम्रो चाहना भने राष्ट्रपतिको म्यान्मार भ्रमणका कारण सफल हुन सकेन ।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसंगको भेट
नेपाल बसाईको उत्तरार्धमा एनआरएनए यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसंग उहांकै कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको छ । भेटमा अध्यक्ष गुरुङले पूर्व प्रधानमन्त्री भट्टराईलाई गैर आवासीय नेपाली नागरिकता तथा भूपू गोर्खाहरुको मागलाई सम्बोधन गराउन पहल गरिदिन अनुरोध गर्नु भएको थियो । जवाफमा पूर्व प्रम भट्टराईले आफूले यसमा हर सम्भव प्रयास गर्ने आश्वासन दिनु भएको थियो । भेट पश्चात भट्टराईले एक ट्वीट गर्दै भूपू गोर्खा तथा गैर आवासीय नेपालीहरुको माग सम्बोधनमा गम्भीर हुन नेपाल सरकारको ध्यानाकर्षण समेत गर्नु भएको थियो । पूर्व प्रम भट्टराईले विशेषतः भूपू गोर्खाहरुको मागको सम्बन्धमा आफू गम्भीर रहेको र यस सम्बन्धमा आफ्नो यथासक्य प्रयास रहने जानकारी गराउनु भएको थियो ।

अत्यन्तै छोटो सूचना र तयारी बावजुद आयोजित उल्लेखित भेटवार्ताहरुमा कार्यसमितिका विभिन्न पदाधिकारी, निर्वतमान अध्यक्ष, आइसीसी सदस्य तथा कार्यसमिति सदस्यहरुको उपस्थिति थियो ।

नागरिकता लगायतका मागहरुलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले जोडदार रुपमा उठाउंदै आएको छ । तथापि तुलनात्मक रुपमा बेलायतको हकमा जनसंख्या तथा ‘सेटलमेन्ट’ प्रकृतिका कारण हामीले यसमा विशेष पहल कदमी लिनुपर्ने आवश्यकता महसुस गरेका छौं । हामी यो आन्दोलनमा आम बेलायतवासी नेपाली जनसमुदायको विशेष साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।

एनआरएनए यूके कार्यसमितिले के गर्नु पर्छ र आगामी कार्यदिशा कस्तो हुनु पर्छ भन्ने सवालमा हामी तपाईंहरुको राय सल्लाह र सुझाव बमोजिम चल्ने नै छौं । यसैबीच कार्यसमिति मार्फत भए गरेका क्रियाकलापहरुको बारेमा तपाईंहरुलाई सुसुचित गर्ने श्रृंखला अनुरुप यो पहिलो श्रृंखला पस्किएका छौं । कार्यसमितिले पूर्ण रुपमा कार्यभार ग्रहण समेत नगरिसकेको परिप्रेक्षमा यसको गतिसिलतामा अझै केही धैर्य गर्नुपर्ने देखिएको छ । आगामी दिनमा यसको सूचना सञ्जाललाई अझै चुस्त दुरुस्त रुपमा परिस्कृत गर्दै जाने छौं । धन्यवाद

(भट्टराई एनआरएन यूके महासचिव हुन्)
सम्पर्कका लागि[email protected]

प्रतिक्रिया

सम्बन्धित सामाग्री