ब्रेक्जिट नयां समयसीमा ३१ जनवरी

लन्डन । बेलायत ईयूबाट बहिर्गमन (ब्रेक्जिट) समयसीमा ३१ जनवरी, २०२० सम्म बढाउन युरोपेली नेताहरु सहमत भएका छन् । ईयू काउन्सिल अध्यक्ष डोनाल्ड टस्कले यदि ब्रेक्जिट डिल संसदबाट पहिल्यै पारित भए तोकिएको समय ३१ जनवरी अगाडि नै बेलायत अलग्गिन सक्ने बताएका छन् । यसअघि यो समयसीमा यही अक्टोबर ३१ सम्म तोकिएको थियो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट डिल भएपनि वा नभएपनि ३१ अक्टोबरमै बेलायत ईयूबाट छुट्टिने जिकिर गर्दै आएका थिए । तर, ‘बेन एक्ट’ भनिने एउटा कानूनका अनुसार प्रधानमन्त्रीले ईयूको समय अवधि बढाउने प्रस्ताव स्वीकार गर्न आवश्यक छ ।

प्रधानमन्त्री जोन्सनले १२ डिसेम्बरमा आमनिर्वाचन गर्न गरेको प्रस्तावमाथि सांसदहरुले मतदान गर्ने चर्चाबीच ईयू नेताहरुबाट नयां ‘डेडलाइन’ आएको बीबीसीले जनाएको छ । स्कटिस नेशनल पार्टी र लिब्डेमले पनि ९ डिसेम्बरमा आमनिर्वाचन गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ श्रोतले क्रिसमस अगावै चुनाव हुने सम्भावना औंल्याएको छ । प्रधानमन्त्री जोन्सनले आफ्नो योजना सफल भए मध्यावधि निर्वाचन अभियानका लागि ६ नोभेम्बर मध्यरातपछि संसद बिघटन हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री