बेलायतमा पर्यटन प्रवर्धनमा मन्त्री भट्टराई

लन्डन । विश्वभरका पर्यटन व्यवसायीहरुको एउटा कुम्भ मेला वल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा भाग लिन बेलायत आइपुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई यतिखेर नेपाल पर्यटन प्रवर्धन गर्न व्यस्त छन् ।

मन्त्री भट्टराई सोमबार लन्डनस्थित एक्सेल एक्जिबिसन सेन्टरमा शुरु वल्र्ड ट्राभल मार्केटमा सहभागी भए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीसहित एक्सेल पुगेका मन्त्री भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुमै बसेर अवलोकन तथा प्रचार प्रसार गरेको दूतावास श्रोतले जानकारी दिएको छ । मन्त्रीले आयोजक संस्थालाई अन्तरवार्ता दिंदै नेपाल पर्यटनबारे अवगत समेत गराएका थिए । उनले बेलायतीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

४ देखि ६ नोभेम्बरसम्म चल्ने उक्त प्रदर्शनीमा विश्वका १८२ देशबाट ५ हजार बढि प्रदर्शनीकर्ता र ५१ हजार सहभागी छन् । यसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी समेत संलग्न छन् ।

मन्त्रीले मंगलबारसांझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित पर्यटन प्रवर्धन 
सांझलाई सम्बोधन गरे 

यसअघि मन्त्री भट्टराई एनआरएनए यूकेद्वारा आयोजित एक कार्यक्रममा सहभागी भए । उक्त कार्यक्रममा मन्त्रीले नेपाली विमानलाई युरोपमा उडान अनुमति दिन युरोपेली संघ (ईयू) संग छलफल भइरहेको बताएका थिए । मन्त्री भट्टराईले युरोपेली राष्ट्रमा रहेका नेपाली नियोगमार्फत् प्रतिवन्ध हटाउन कूटनीतिक प्रयास भइरहेको पनि बताए ।

दुई वर्षअघि अन्तर्राष्ट्रिय नागरिक उड्ययन 
संगठन (आइकाओ) ले नेपाललाई कालो सूचीबाट हटाए पनि युरोपेली संघले सन् २०१३ मा नेपाली विमान सेवाहरुलाई लगाएको प्रतिवन्ध कायमै छ ।

सो कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गर्दै यो अभियान एक वर्षमात्र नभई एक दशकसम्म निरन्तरता दिन जरुरी रहेको बताए ।

नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पुरयाउने लक्ष्य सरकारको छ । पर्यटनमन्त्रीले यसै अभियानलाई सहयोग पुग्ने गरि तीनजना सद्भावना दूत तोक्ने समेत जनाइएको छ । बेलायतको उपल्लो सदन हाउस अफ लर्डसमा बिहीबार एक कार्यक्रमबीच 
सद्भावना दूत र बेलायती पर्वतारोही एवं पर्यटन व्यवसायीलाई सम्मान कार्यक्रम तय छ ।

बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा आएका थिए । लन्डनस्थित राजदूत डा. दुर्गाबहादुर सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्रयाइने दावी गरेका छन् ।

दूतावासबाट एकै दिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रवर्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका 
राजदूतको भनाइ छ ।

लन्डनका राता बसमा नेपाल प्रवर्धन

यसैबीच, लन्डन शहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्धन सामाग्री राखेर 
प्रचार तीव्र पारिएको छ । सोमबार ४ नोभेम्बरदेखि तीन सातासम्म राता बसमा प्रवर्धन जारी राखिने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले लन्डनमा दोश्रो पटक नेपाल भ्रमण वर्ष लक्षित यस्तो प्रभावकारी उपाय अपनाएको हो । विश्वकै सबैभन्दा वृहत पर्यटन मेला (वल्ड ट्राभल मार्केट) मा भने बोर्डको पहिलो प्रयास हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री