पर्यटन मन्त्रीद्वारा ब्रिटिशलाई नेपाल भ्रमण गर्न आग्रह


लन्डन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ब्रिटिश मित्रहरुलाई ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा नेपाल भ्रमण गर्न आमन्त्रण गरेका छन् । नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनस्थित नेपाली दूतावासद्वारा मंगलबार बेलुका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले भूकम्पपछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भै सकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको बताए ।

उनले आउंदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थल निर्माण सम्पन्न भैसक्ने र सन् २०२१ को मध्यसम्म पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको पनि जानकारी गराए । मन्त्री भट्टराईले नेपालको सामाजिक तथा आर्थिक विकासमा युकेले गरेको सहयोगको प्रशंसा पनि गरे ।

कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए । उनले नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको जनाए । उनले आउंदो वर्ष नेपाल भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटकहरुको संख्या बढिरहेको बताए । उनले यो वर्ष ७५ हजार र आउंदो वर्ष एक लाख ब्रिटिश पर्यटक नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा प्रवर्धनात्मक कार्यक्रम शुरु गरिएको जानकारी पनि दिए ।

कार्यक्रममा प्रस्तुति गर्दै १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिश पर्वतारोही केन्टन कुलले पहाड भन्दा पनि नेपाली जनताले आफूलाई संधै प्रभावित गरेको बताए । ‘यहाँ ब्रिटेनमा हामीले समुदायको महत्व बिर्सदै गएका छौं, तर नेपालीहरुले समुदायको महत्व कायमै राखेका छन्, त्यसैले हामीले उनीहरुबाट सिक्नुपर्छ’- उनले भने । उनले आउंदो वर्ष फेरी नेपाल भ्रमणमा जाने योजना पनि सुनाए ।

त्यस्तै सगरमाथा आरोही रेबेक्का विलियम्सले पहाडहरु नेपालको परिचयको विम्ब बनेको बताइन् । उनले शेर्पा समुदायको पनि प्रशंसा गरिन् ।

समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी र पाटाका सीइओ डा मारियो हार्डीले नेपालबारे प्रस्तुति गरेका थिए । त्यस्तै सयपत्री सांस्कृतिक समूहका सदस्यहरुले रोचक नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रम सञ्चालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री