मंगलबार, मंसिर २४ २०७६ | Tue, December 10, 2019
नेपालको समय: ०५:१७ | UK Time: 23:32

कलाको अनुपम छटा

मन्जु भण्डारी खरेल
२०७६ कार्तिक २९ गते १७:३६

कलमले लेख्न छोडेर
कागजमा प्रिय कविता
मैले लेखेकी छु आफ्नै आँखाको लयमा
तिम्रा प्रतिबिम्बको असीम गहिराइलाई
नजरका निर्दोष दृष्‍टि रेखाहरुको साङ्गीतिक स्केचमा सजाएर
समेटेकी छु सम्पूर्णत: तिमीलाई

हृदयको रङ्गीन क्यानभासमा
गुलाफको किरणजलले छोएर हर पल
प्रेमको कोमल बास्नामा
सधैं सधैं लुटुपुटिइरहन्छु

त्यो रहस्यको जीवन्त छटा
एउटा आकृति, तर अनन्त आलोक
एउटा अस्तित्व, तर असंख्य आकांक्षा
प्रत्यक्ष प्रतिरूप, तर अमूर्त कला
व्याख्या गरुँ शब्दले धान्दैन,
विचार आरोपण गरुँ व्यापकता बन्छ,
चुहिएर जिन्दगीझैं तपतप भावना
तिम्रो मुटुभरी तरलित बनेर बगिदिन्छ
स्वप्निल समय रोटेपिङ खेलेर फन्का मारिरहन्छ हरेक यादमा

आऊ न अब सब औपचारिकता फुकालेर
सब सब दार्शनिकतालाई घिसारेर
नाघौं यो आदर्शको मौनतालाई एक झट्कामा
बगौं यो बतासको गति समातेर सँगसँगै
समयको सुदुर एकान्तमा !!

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक