अध्यक्ष पुनम गुरुङको सिफारिसमा परेनन् महिला

Poonam Gurung

पुनम गुरुङ

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसीसी) मा मनोनयका लागि सातै जना पुरुषलाई मात्र सिफारिस गरेको छ । एनआरएनए यूकेको इतिहासमा पहिलो पटक महिला अध्यक्ष भएकी पुनम गुरुङ आफैंले गरेको सिफारिस महिलाविहीन हुन पुगेको हो ।

२४ नोभेम्बरमा कार्यसमिति बैठक तय भैसकेको अवस्थामा हतारिएर अध्यक्ष गुरुङले ‘खल्तीबाट नाम झिक्दै’ सात जनाको नाम सार्वजनिक गरेकी छन् जसमा एक जना पनि महिला परेका छैनन् । सिफारिसमा परेकाहरु उनलाई निर्वाचनमा सघाउने वा उनका आफू निकट नै छन् ।

अध्यक्ष गुरुङको चुनावी कमाण्डरका रुपमा रहेका चन्द्रबहादुर गुरुङ आइसीसी सदस्यका लागि सिफारिस भएका छन् । आर्मीबाट रिटायर्ड गुरुङ नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष हुन् । त्यस्तै गत कार्यकालमा एनआरएनए यूके उपाध्यक्षमा पराजित तथा नयाँ शक्ति पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका संस्थापक अध्यक्ष भोला खनाल पनि सिफारिसमा परेका छन् । ‘कार्यसमितिको बैठक नै नराखि गरिएको सिफारिस महिला विरोधी देखिएको छ’-एक जना एनआरएनए युके उपाध्यक्षले भने ।

आइसीसी सदस्य सिफारिसमा पर्नेमा नेकपा निकट तथा पूर्व एमाओवादी नेता रणवहादुर केसी पनि छन् । त्यस्तै, एनआरएनए युके निर्वाचनमा सचिवमा उम्मेदवारी दिने हल्ला मात्रै गरेका मधेसीज इन यूकेका अध्यक्ष भाग्यनाराण राय पनि आइसीसी सदस्यमा सिफारिस भएका छन् ।

पूर्व अध्यक्ष योगकुमार फगामी निकट रमेशसिंह सराङकोटी पनि सिफारिसमा परेका छन् । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति यूकेका उपाध्यक्ष विजन भट्ट पनि आइसीसी सदस्य सिफारिसमा परेका छन् । उनी गत वर्ष अन्तर्राष्ट्रिय समन्वय परिषद् यूरोप संह-संयोजकमा पराजित भएका थिए ।

अघिल्लो पटक एनआरएनए यूकेबाट आइसीसी सदस्यमा पराजित चिरन शर्मा (देवराज आचार्य) पनि सिफारिसमा परेका छन् । उनका आफ्नै दाई हेमराज शर्मा केन्द्रिय महासचिव भएका बेला आइसीसी सदस्यको ‘टिका लगाउने’ दाउमा शर्मा छन् ।

यसैबीच, एनआरएनए यूके उपाध्यक्ष नारायणदत्त कंडेलले सात जनाको सिफारिस र मापदण्डबारे अनभिज्ञता प्रकट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री