लण्डनमा भारतविरुद्ध प्रदर्शन, विरोधपत्र ‘पोस्ट’ मार्फत पठाइने


लन्डन । छिमेकी भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखेको विरोधमा बेलायतका नेपालीले प्रदर्शन गरेका छन् ।

गैर आवासीय नेपाली संघ बेलायतले सोमबार लन्डनस्थित भारतीय हाइ कमिसन अगाडि आयोजना गरेको प्रदर्शनमा सयौं नेपाली सहभागी भए ।

१२.३० देखि १.०० बजेसम्म विरोध प्रदर्शन भएको थियो । गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन गरेको हो ।

तर, उक्त कार्यक्रम मार्च पास र होहल्ला नगरि स्टेटिक (निश्चित स्थानमा बसेर) विरोध गरिएको थियो ।

बेलायतका विभिन्न शहरबाट एकत्रित भएका नेपालीले तोकिएको समय र स्थानमा उपस्थित भएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेपछि संघले विरोधपत्र बुझाउने कार्यक्रम भने हाइकमिसनले नलिएपछि पुरा भएन ।

अध्यक्ष पुनम गुरुङले विरोध कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदैँ विरोध पत्र पढेर सुनाएकी थिइन् । उनले अब इमेल र पोस्ट मार्फत पत्र हाइ कमिसन पठाइने पनि जनाइन् ।  

विरोधपत्रमा ऐतिहासिक दस्तावेजले उल्लेखित भूभाग नेपालकै भएको प्रष्ट्याउंदा पनि भारतले एकतर्फी नक्सा जारी गर्दा विदेशभर रहेका नेपाली दुःखी भएको उल्लेख छ । भारत नेपाल सीमा विवाद शताब्दीयौं लामो रहेको र यसको समाधानका लागि दुई देशस्थित विदेश मन्त्रालयका उच्च अधिकारीहरुबीच वार्ता भइरहेको अवस्थामा त्यसको निचोड नआउंदै नक्सा जारी गरिनु विडम्बना भएको पत्रमा जनाइएको छ । भारतको उक्त कार्य अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित भएको पत्रमा उल्लेख छ ।

‘नाराबाजी, होहल्ला र उत्तेजना निषेध गरिएकाले हामीले अनुशासित र मर्यादित ढंगले विरोध गर्यौं’, एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले भने, ‘नेपाल भारत सीमा समस्या समाधानका लागि हामी एनआरएनहरु जस्तोसुकै कदम चाल्न पनि तयार छौं र नेपाल सरकारको कदमप्रति ऐक्यवद्धता छ ।’

गैर आवासीय नेपाली संघका अन्य विभिन्न देशका शाखाले पनि भारतीय हस्तक्षेपविरुद्ध विरोध जनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री