३१ राजदूत बोलाएर भ्रमण वर्ष सफल बनाइदिन पर्यटनमन्त्रीको अपिल


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ‘नेपाल भ्रमण वर्ष-२०२०’ सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पांचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसंग आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले राजदूत र बैदशिक साझेदार संस्था प्रमुखहरुलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरेर भने, ‘यो कार्यक्रम बाहिर होटल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार-सरकारबीचको सम्बन्धलाई जोड्ने विश्वासका साथ मन्त्रालयमै गरिएको हो ।’ अब सरकारको विदेश सम्बन्धममा पर्यटन कुटनीति पनि महत्वपूर्ण पाटो रहने उनको भनाई छ ।

‘भ्रमण वर्ष-२०२०’ सफल पार्न नेपालस्थित 
राजदूतहरुको भूमिका महत्वपूर्ण हुने भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरी सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध पनि गरे । ‘नेपाल भ्रमण वर्ष-२०२० को विषयमा यहांहरुका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । यो वर्षको नयां वर्ष-२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस्’-उनले भने ।

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिंदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीको अनुरोध समेत गरे ।

मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभूकम्पको पीडाबाट उठ्न यहांहरुले गर्नुभएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्न पनि यहांहरुको उस्तै सहयोग र साथ अपेक्षा गरेका छौं ।’

मन्त्री भट्टराईले महाभूकम्पबाट भत्किएका नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बांकी निर्माणको क्रममा रहेका जानकारी दिए । बांकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आव्हान गरे ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पूंजीको विकास गरेर समतामुलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए । ‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूंजीको विकास गरेर समतामुलक समाज निर्माण गर्नेछौं’- उनले भने, ‘यही बाटोबाट हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली: समृद्ध नेपाल’को सपना पुरा 
गर्नेछौं ।’


मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिंदै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुंदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए । अहिले विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए ।

मन्त्रीले आगमी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी पनि दिए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिंदै उनले भने, ‘तपाईहरु मार्फत म यो जानकारी तपाईंहरुको देशका वायु सेवा कम्पनीलाई गराउन चाहन्छु ।’

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भिर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पुरा गर्न सरकार सक्रिय रहेको बताए । उनले नेपालका नीजि तथा सरकारी वायु सेवा निगम कम्पनीहरुले चांडै विश्वभरीका आकाशमा निर्वाध उडान भर्ने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिदै आगामी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई 
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरुलाई स्वागत गर्दै विश्वभरी भ्रमण वर्ष–२०२० को प्रवर्धनका लागि अनुरोध गरे । ‘नेपाल भ्रमण वर्ष-२०२०’ का संयोजक सुरज वैद्यले नेपालको पर्यटकीय स्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीबारे जानकारी दिए ।

सहयोगका लागि तयार छौं- राजदूतहरु
कार्यक्रममा सहभागी राजदूतहरुले नेपाल भ्रमण वर्ष सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नेपालका लागि चिनिया राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिवद्धता जनाइन् । उनले अगाडि भनिन्, ‘नेपाल भ्रमण वर्ष-२०२० सफल बनाउन प्रवर्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।’

उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरु चिनिया कम्पनीहरुले निर्माण गरिरहेको बताउंदै चिनिया कम्पनीहरुले गुणस्तरीय काम सहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी दिइन् ।

नेपालका लागि अमेरिकी राजदूत रयाण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसंग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, अष्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउंबाट सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री