एनआरएनए यूकेमा को को ल्याइए ?


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले ५ कोअप सदस्य मनोनित गरेको छ । गत आइतबार अल्डरसटमा बसेको कार्यसमिति बैठकले को-अप सदस्यहरुमा हयारी गुरुङ, हेम गुरुङ, डा मिन रानाभाट, धनबहादुर सार्की र रामकुमार गुरुङलाई मनोनित गरेको हो । को-अप सदस्य रामकुमार गुरुङलाई संघको प्रवक्तामा नियुक्त गरिएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।

बैठकले विभिन्न विभागहरु गठन गरि जिम्मेवारी समेत बांडफांड गरेको छ जसअनुसार अध्यक्ष पुनम गुरुङलाई नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन, उपाध्यक्ष प्रेम गाहामगरलाई गोर्खा, उपाध्यक्ष सुनिलबाबु खड्कालाई च्यारिटी, उपाध्यक्ष रोजिना प्रधान राईलाई संघ-संस्था समन्वय, उपाध्यक्ष नारायण कंडेललाई कानुनी परामर्श तथा विधान र उपाध्यक्ष मोहन कार्कीलाई नागरिकता निरन्तरता विभागको जिम्मेवारी दिइएको भट्टराईले जनाए ।

अर्का उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठ, स्कटल्याण्ड राज्य परिषद अध्यक्ष छवीलाल अर्याल, वेल्स् राज्यपरिषद अध्यक्ष कृष्ण भण्डारी र नर्दन आयरल्याण्ड राज्यपरिषद अध्यक्ष नारायण कुंवर सम्मिलित सदस्यता व्यवस्थापन तथा शुद्धीकरण विभाग समेत गठन गरिएको छ । त्यसैगरी महासचिव फडिन्द्र भट्टराईलाई भाषा तथा साहित्य एवं सचिवहरु जित रानाभाटलाई बिजनेस, कोशलेश्वर ढकाललाई राज्य समन्वय र रञ्जिता मल्ललाई पर्यटन 
प्रवर्धन विभागको जिम्मा लगाइएको छ ।

कोषाध्यक्ष तेजेन्द्र रोका र सहकोषाध्यक्ष सकुन गुरुङले आर्थिक, युवा संयोजक नवीन गुरुङले युवा र महिला संयोजक प्रसुना कंडेलले महिला विभागको जिम्मेवारी पाएका छन् । कार्यसमिति सदस्यहरु प्रकाश कंडेल र कृष्ण खरेललाई सांस्कृतिक तथा खेलकुद, अमृता गिरी गजुरेललाई वृद्ध तथा अपांग कल्याण र डा. सुनिल शाहलाई स्वास्थ्य परियोजना विभागको संयोजक बनाइएको छ ।

बैठकले सल्लाहकार मनोनयनको टुंगो लगाउने जिम्मा अध्यक्ष गुरुङलाई दिएको छ । बैठकमा एनआरएन यूकेका सदस्यहरुको कार्ड वितरणको जिम्मा इंल्याण्ड राज्य परिषदले लिएको छ । राती अबेरसम्म झण्डै १० घण्टा चलेको बैठकमा संस्थाका भावी कार्यक्रम तथा योजनाबारे पनि छलफल गरिएको थियो । बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी, सदस्यका साथै चारवटै राज्य परिषदका अध्यक्षहरु सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री