हजार बालबालिकाकी एक्ली आमा

एकजना मानिसका छोराछोरी बढीमा कति होलान् ? दश जना । बाह्र जना । पन्ध्रजना । तपाई कल्पना गर्न सक्नुहुन्छ, कसैको छोराछोरीको संख्या एक हजार बढी होला ? हो, ४३ वर्षीय इन्दिरा रानामगरका छोराछोरी एकहजार बढी छन् ।
रहरले होइन आवश्यकताले, पैसाले होइन दृढ प्रतिज्ञाले, देखावटीले होइन असल सेवाभावले इन्दिरा दुईदशकदेखि समाज सेवामा होमिएकी छिन् । कुरामा भन्दा काममा, प्रचारमा भन्दा ब्यवहारमा सक्रिय हुनु इन्दिराको आदत हो । त्यसैले त उनलाई नेपालीले चिन्दैनन्, जति विदेशीले चिन्छन् । उनको कार्यक्षेत्र नेपाली बालबालिकाहरु हुन् यद्यपि उनको कामको चर्चा स्वदेशमा हुँदैन जति देश बाहिर हुन्छ ।
यिनै इन्दिरा अहिले बालबालिका क्षेत्रको नोबेल पुरस्कार मानिने एक लाख डलर राशीको विश्व बाल पुरस्कारको अन्तिम तीन प्रतिस्पर्धीको सूचीमा परेकी छिन् । समाजलाई नवीन सोचबाट अगाडि बढाउने विश्वभरका व्यक्तित्वलाई प्रदान गरिने अशोका फेलोसिपबाट इन्दिरा सन् २००५ मा सम्मानित भइसकेकी छिन् । एसिया सोसाइटी न्यूयोर्कले सन् २०१० मा एसिया २१ योङ लिडरसिप पब्लिक सर्भिस अवार्डबाट विभूषित गरिसकेको छ । कुनै वर्ष उनले यो भन्दा उम्दा पुरस्कार पाइन् भने आश्चर्य नमान्दा हुन्छ ।
समाजसेवाको पर्याय बनिसकेकी इन्दिराको यो पहिचान रातारात बनेको भने होइन । अत्यन्तै न्यून आयस्रोत भएको, अशिक्षित, राजधानीबाहिरको मगर परिवारबाट यहाँसम्म आइपुग्दाका उनका यात्रा कतै रोमाञ्चक छ त कतै पीडादायी ।
बिरानो भो जन्मेको गाउँ

त्यसो त संघर्षसित इन्दिराको सम्बन्ध जन्मनु अगाडिदेखि नै गाँसिन्छ । आफ्नी आमालाई उनी साठी वर्षअघिकी महिला अधिकारकर्मी मान्छिन् । आफ्नो श्रीमानले अर्को विहे गरेपछि विद्रोह गरी उनकी आमा माइत बसेकी थिइन् । माइतीमा बसेकै बेला उनको प्रेमविवाह भयो । आफ्नो विवाहलाई समाजले स्वीकार नगरेकाले उनी श्रीमान्लाई लिएर उदयपुरबाट झापामा सरिन् । आफूले सबैभन्दा धेरै विश्वास र भरोसा गर्ने भगवानले पनि जन्मेको गाउँमा बसाउन नसकेको आक्रोश पोख्दै उनका बाउआमाले सधैँ पूज्ने भगवानको मूर्ति सप्तकोशीमा बगाइदिएका थिए । अभागीलाई जहाँ गयो त्यहीँ दुःख । झापा बुट्टाबारीमा उनका बाउआमा जंगल फाँडेर खेतियोग्य जमिन बनाउँथे, साहुहरु त्यो जग्गा आफ्नो नाममा दर्ता गराउँथे । कमाइ उनका बाउ आमा लगाउँथे, बाली साहु उठाउँथ्यो ।
छोरी पढाउने चेतना बाह ्रहात टाढै थियो त्यतिबेला । दाइहरु स्कुल जान पाउँथे इन्दिरा चाहिँ जान्थिन् गोठाला । भगवानलाई गुहार माग्थिन् – हे भगवान मलाई पनि पढ्न पठाइदेऊ । दाइहरु पढेको हेर्थिन् । दाइहरुको पछिपछि क, ख घोक्थिन् । फ्लोरेन्स नाइटिंगलको जीवनी दाइहरु चिच्याउँदै पढ्थे उनी मनमनै सोच्थिन् फ्लोरेन्सजस्तै हुन पाए । आमाको पछि लागेर घरेलु आयुर्वेदिक उपचार गर्दै फ्लोरेन्स नाइटिंगेलको पदचाप पछ्याउन खोज्थिन् ।
उनले १० वर्ष टेकिन् । जेठा दाजु एसएलसी पास भएर गाउँमै मास्टर बने । एकदिन दाइले पढाउने स्कुलका हेडमास्टर दाइसितै घर आए । सोधे इन्दिरालाई किन स्कुल नपठाएको ? अन्ततः उनले १० वर्ष पुगेपछि स्कुल पढ्ने अनुमति पाइन् जतिबेला सँगैका साथीहरु माथिल्लो कक्षामा पुगिसकेका थिए । उनी पनि एकैचोटी कक्षा ५ मा भर्ना भइन् । भलो देख्न नचाहने असत्तीहरुले कुरा काटे, एक कक्षा पनि नपढेकीलाई ५ कक्षामा भर्ना गर्न मिल्छ ? पढ्न नपाएको वर्षौँको भोक थियो उनीसित । पढ्न पाएकोमा असिम रहर पनि । अनि रिस गर्नेहरुलाई देखाउने अठोट पनि । टिफिनको समयमा गाइबाख्रा चराउँदै उनले दिनरात मिहिनेत गरिन् । कक्षा १ पनि नटेकेकी इन्दिरा कक्षा ६ मा जाँदा प्रथम पो भइन् ।
सामन्तीहरुले गरिबले गरेको देखिसहँदैनथे । त्यसैले उनका दाइले पाएको शिक्षकको जागिर पनि छोड्नुप¥यो । निराश भएर दाइ गाउँ छोडेर हिँडे । अब इन्दिरालाई किताब, कापीकलम जोहो गर्न पनि धौ धौ भयो । कहिले मारवाडीका छोराछोरीलाई पढाएर, कहिले प्रौढ शिक्षा पढाएर उनले कापीकलम, मट्टितेल जुटाइन् । दुःखको बयान गरेर के साध्य ? भोग्नेलाई थाहा हुन्छ दुःखको स्वाद कस्तो हुन्छ । १० कक्षा पुग्दा पनि उनलाई चप्पल लगाउँदा कस्तो अनुभूति हुन्छ थाहा थिएन ।
एसएलसी पास गरेपछि गाउँमै खुला प्रतिस्पर्धाबाट शिक्षिकामा उनले नाम निकालिन् । हुनेखानेहरुले आफ्ना छोराछोरीलाई जागिर खुवाउन उनलाई काम दिएनन् । पढेकी केटी त्यतिकै हल्लिनु पढ्दै गरेका अरु केटीहरुलाई पनि निराश पार्नु थियो । केही न केही गर्नै थियो । प्रौढ शिक्षा पढाइन् । अरुको राम्रो देख्न नसक्नेहरुले उनलाई महिलाहरुलाई बिगार्न लागी भने । गाउँ छोडेर उनले दमक (झापा) मा क्याम्पस पढ्दै बोर्डिङ पढाउन थालिन् । बोर्डिङको जागिर जागिर भन्नु मात्र थियो । दिउँसो पढाउनु पर्ने, बिहान बेलुका भात पकाएर खुवाउनुपर्ने, छुट्टीको दिन लुगा धोइदिनुपर्ने । तैपनि तलव चाहिँ नपाइने । गाउँ फर्केर नुनियाँ (सिमेन्ट बोक्ने ज्यामी) पनि बनिन् । केटाकेटीलाई ट्यूसन पढाएको अलिअलि पैसा बोकेर २०४६ मा उनी पहिलोपटक काठमाडौँ छिरिन् ।
जब्बर काठमाडौँमा इन्दिरा
झापाभन्दा काठमाडौँ अग्घोर चलाख थियो । त्यसैले उनले दुःख गरेर कमाएको पैसा पनि चोरियो । उनी झापा फर्किन् । २०४७ मा पुनः काठमाडौँ आइन् । काठमाडौँमा चिनजानकी साथी थिइन्, टेलर्समा काम गर्ने । उनलाई भने केही सीप नआउने । त्यसैले उनको काम पाइन् टाँक लगाउने । बिस्तारै आइरन लगाउन सिकिन् । एउटा कपडा आइरन लगाएको आठ आना (५० पैसा) मिल्थ्यो । त्यतिखेर पत्रिकामा एउटा विज्ञापन छापिएको थियो अमृत बोर्डिङ स्कुलमा शिक्षिका चाहियो भन्ने । उनले निवेदन दिइन् र छानिइन् पनि ।
साहित्यकार पारिजातको बहिनीको स्कुल रहेछ त्यो । प्लास्टिकको चप्पल र फ्याङ्लो लुगा लगाएकी इन्दिरालाई देखेर पारिजातले के सोचिन् खै, इन्दिरालाई असाध्यै माया गर्न थालिन् । अमृत स्कुलमा पनि उनले चाहेजति काम गर्न पाइनन् । उनको जीवन अन्तै बदलिनलाई थियो कि दुःख पाउनलाई ? कहीँ पनि उनले सञ्चोसित काम गर्न पाइनन् उनले ।
उसो त एसएलसी पास गरेपछि नै उनलाई माग्न बेलायतका लाहुरेहरु नआएका होइनन् । १० तोला सुन दिन्छु भन्नेहरु पनि आएका थिए रे । तर उनलाई चाहिँ आफ्नै खुट्टामा उभिने इच्छा थियो । बाउआमाले पनि विहे गर्न कर नगरी उनलाई तिम्रो इच्छा हो, जे ग¥छौ गर भने रे । स्वावलम्बी बन्न बाउआमाले त्यतिखेर दिएको सहुलियतको उनले प्रशंसा गरिन् ।
पारिजातको प्रेरणा
पारिजातको संगतमा उनले बन्दीगृह (जेल) नजिकबाट देखिन् । पारिजातको नेतृत्वको बन्दी सहायता नियोग (पाम) मा आवद्ध भएर उनले जीवनमै नसोचेको काम गर्न थालिन् –जेलबाट रिपोर्टिङ । आम मानिसले जेल भनेको अपराधी बस्ने थलो भनेर तर्किरहँदा उनी चाहिँ निर्धक्क जेलका बन्दी भेट्थिन् । बन्दी महिला र बालबालिकाको समस्या, अवस्था बुझ्थिन् । जेलमा काम गर्न जान्छु भन्दा उनलाई अपराधीको सँगत गर्ने भनेर पनि मुछ्न खोजे । पब्लिक युथ कलेजमा पढ्दा उनलाई ‘तिम्रो को जेलमा परेको छ र जेल जान्छौ’ भनेर सोध्नेहरुको पनि कमी थिएन । त्यतिसम्म त ठीकै थियो । महिलाको कुरा काट्न कुनै कारण चाहिँदैन मानिसहरुलाई । त्यसमा पनि काठमाडौँमा एक्लै बस्दै काम गरिरहेकी, बिहान–दिउँसो–साँझ हरसमय ब्यस्त रहने एउटी महिना थिइन् उनी । अब त के चाहियो र पुरुषप्रधान समाजलाई । कानोले आँखो खोजेजस्तै भइगो । औँल्याएर कुरा काट्नेहरु देखिए । रक्स्याहा भए पनि श्रीमान् भएकी महिलालाई समाजले इज्जतमा प्रश्न ठड्याउँदैन । त्यसैले आफ्नो लागिभन्दा पनि समाजका लागि बाध्य भएर उनले २४ वर्षको उमेरमा विहे गरिन् । १६ वर्षको उमेरदेखि घर गाउँ छोडेर काठमाडौँमा संघर्ष गरिरहेकी उनलाई समाजले गर्ने प्रश्न श्रीमानले नै गर्न थालेपछि एक्लै बस्नु उचित ठानिन् ।
पारिवारिक उतारचढाव र सामाजिक गिद्देदृष्टिले उनको यात्रा बिथोल्न सकेन । आफ्नो यात्रामा सतिशाल झैँ अडिग उनले बन्दी सहायता नियोगमा १० वर्ष काम गरिन् । उनको कामको परिपक्वता र गम्भीरताले अब चर्चा पाउन थाल्यो । बीबीसीले उनको अन्तर्वार्ता लियो । आफ्नो कर्मचारीको चर्चालाई आफ्नो संस्थाकै चर्चा मान्न नियोगका सञ्चालकहरुले सकेनन् । हाकिमसाबहरु ओझेलमा कर्मचारी प्रचारमा रहेको सञ्चालकहरुले सहन सकेनन् । दिनरात, घामपानी नभनी १० वर्ष काम गरेको संस्था उनका लागि अब पराई भो । सन् २००० मा उनले बन्दी सहायता नेपाल (पिए नेपाल) खोलिन् ।
शुरुमा त उनले संस्था बिनै काम गर्न खोजेकी थिइन् तर संस्था बाहेकलाई जेल पस्नै नदिने भने पछि उनलाई संस्था चाहियो । जेल जेल पुगेर काम गरिरहेकाले बन्दी जेलरहरुसित सम्पर्क, सम्बन्ध राम्रो थियो तर स्रोत कमजोर । एकजना जर्मनले उनलाई गोजीखर्चका लागि दिएको ४० हजार रुपियाँ उनले संस्थाका लागि लगाइन् । जेलमा रहेका बालबालिका ज्योति र विशाललाई उद्दार गरिन् । शून्यबाट शुरु गरे पनि उनले दिनरात मिहिनेत गरेर संस्थालाई चम्काउन थालिन् । दाताहरुले पनि अब हेर्न लागे । कुनै दाताले सहयोगका लागि बोर्डमा आफ्नो मान्छे राख्न च्याँखे थापे । बोर्ड पुनर्गठित पनि भयो । पछि ती बोर्ड मेम्बरहरुले नै उनलाई हटाउन पनि खोजे । मुद्दा मामिला नै चल्यो, जित्न चाहिँ उनले नै जितिन् ।
बालबालिका नै सुखसम्पत्ति
स्थापनाको डेढदशकमा उनको कार्यले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाइसकेको छ । बाउआमा जेल पर्दा बिचल्लीमा परेका, गरिब, विपन्न, अनाथ करिब एकहजार बालबालिकालाई पालनपोषण, शिक्षादिक्षा, विहाबारी गरेर कुशल मातृत्व प्रदान गरिसकेकी छिन् । अहिले बालबालिकाका लागि काठमाडौँको साँखुमा आफ्नै भवन छ । त्यस्तै संस्थाको कार्यालय रहेको नयाँबजारमा करिब तीन दर्जन बालबालिका बस्छन् । पाल्पा, झापा, म्याग्दी लगायत देशका विभिन्न भागमा बालबालिकालाई उनले आश्रयस्थल र स्कुल खोलिदिएकी छिन् ।
इन्दिरालाई आफ्नो सिर्जनात्मक र नविन कार्यबारे प्रवचन दिन अहिले विदेशबाट निम्तो आउँछ । उनी चाहिँ आफ्नो कार्यका साथमा नेपाल चिनाउँदैछिन् । ब्राजिलको आठ राज्यका ३० शहर, अमेरिकाका दर्जनौँ राज्य, युरोपको १० देश र एसियाका पनि विभिन्न देशमा उनले प्रवचन दिइसकेकी छिन् । तर अफसोच नेपालमा भने उनलाई कुनै कलेजसम्मले यस्ता प्रवचनका लागि बोलाएको छैन ।
जीवनयात्रामा उनलाई धेरैपटक धेरैले अवरोध गर्न खोजे तर उनले त्यसलाई वास्ता गरिनन् । उनी भन्छिन् कसले कसले सास्ती दिए त्यसको पछि लागेर हिँडिन । सफल प्रोजेक्ट चलाएकाहरुको त कुरै छाडौँ घिटीघिटी चलाएकाहरुको पनि समाजमा फाइँफुट्टी अलग्गै हुन्छ । तर उदाहरणीय परियोजना चलाएकी इन्दिरा भने कवि लेखनाथ पौड्यालको फलेको वृक्षको झुकेको हाँगो झैँ साइकल चढेर यात्रा नाप्छिन् । भन्छिन्–यो मेरो प्रोजेक्ट होइन, परिवार हो ।
कुशल व्यवस्थापनका कारण अहिलेसम्म बालबच्चालाई भोकै राख्नु परेको छैन उनले । न त बालबालिकालाई ऋण गरेर नै खुवाएकी छिन् । भन्छिन् –ऋण गरेर पनि कसैले समाजसेवा गर्छ ?
कसैलाई धन कमाउने सौख । कसैलाई विलासितामा रम्ने सौख । चिल्ला गाडी बंगलाको सौख । निजी घरबार, सवारी नभएकी इन्दिरा पनि आफूलाई धनी दाबी गर्छिन् । आफ्नो बुद्धि, विवेक र क्षमताले जे दिएकी छिन् त्यो नै उनको सम्पत्ति रे । कस्तो महान् विचार । सलाम इन्दिरा तिम्रो महान् कार्य र विचारलाई ।Indira Rana

प्रतिक्रिया

सम्बन्धित सामाग्री