‘नर्सेज एसोसिएसन राजनीति गर्न खोलिएको होइन’ : सुशीला कार्की अध्यक्ष, नेपलिज नर्सेज एसोसिएसन, युके

sushila karki
युकेमा कार्यरत नेपाली नर्सहरुको संस्था नेपलिज नर्सेज एसोसिएसन, युकेको अध्यक्षमा हालै सुशीला कार्की निर्वाचित भएकी छिन् । नेपालमा कोशी अस्पताल र कान्ति बाल अस्पतालमा नर्सिङको कार्यानुभव सम्हालेकी कार्कीले इटहरीस्थित इटहरी नर्सिंङ क्याम्पसको संस्थापक प्रमुखको पनि जिम्मेवारी वहन गरेकी थिइन् । करिब नौ वर्षअघि बेलायत छिरेपछि लण्डनस्थित एक अस्पतालमा कार्यरत उनीसित गरिएको कुराकानी :

युकेमा नेपाली नर्सहरुको संख्या कति छ ?
संख्याका बारेमा विवाद नै छ । नेपाल नर्सिङ काउन्सिलमा रजिस्टर्ड भएर युके आएका नर्सहरुको संख्या २ हजार आठ सयदेखि ३ हजार छ । त्यसबाहेक यहीँ आएर अध्ययन पूरा गरी नर्सिङ पेशामा लागेकाहरु पनि छन् । डेन्टल नर्सहरु पनि छन् । युकेका विभिन्न भागमा छरिएका सबै नर्सहरुको संख्या लगभग ५ देखि १० हजारसम्म होला ।

युके त नर्सहरुका लागि स्वर्ग भन्छन् । कस्तो छ उनीहरुको अवस्था ?
तपाईले एकदमै ठीक भन्नु भयो । योग्य नर्सहरुको युकेमा एकदमै आवश्यकता छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले त्यस्ता योग्यता पूरा गरेका नर्सहरुलाई विश्वभरबाट आउनसक्ने सहुलियत दिएको छ । त्यसमा पनि नेपाली नर्सहरुको भविष्य युकेमा सुरक्षित छ ।

एउटा नर्सले वार्षिक कति कमाउन सक्छ ?
एनएचएसमा विभिन्न ब्याण्डअनुसार तलवमान तोकिएको हुन्छ । नर्सहरुको तलव वार्षिक २४ हजार पाउण्डदेखि शुरु हुने गरेको छ । त्यो त खाली तलवमात्र हो, यसबाहेक अन्य भत्ताहरु पनि हुन्छन् । नर्सहरुको प्रायः लामो ड्यूटी पर्ने भएकाले तोकिएको काम तीन दिनमा नै सकिन्छ र बाहिरफेर पनि प्रशस्त काम पाइन्छ ।

अनि समस्या पनि त होलान् नि ?
यहाँ स्वास्थ्य सेवा धेरै संवेदनशील छ । एकदम जोगिएर होशियारी र सावधानीपूर्वक काम गर्नुपर्ने हुन्छ ।
नेपालबाट योग्यता पुगेर यहाँ आएका नर्सहरु पनि बेरोजगार छन् । कोही केयररमा छन् । उनीहरुका लागि एसोसिएसनले के गर्न सक्छ ?
यो नेपालीको मात्र होइन विश्वव्यापी समस्या हो । नेपालबाट स्टाफ नर्सको मान्यता पाए पनि यहाँको मापदण्डअनुसार अंग्रेजी भाषाको परीक्षा आइइएलटीएस्मा सबै ब्याण्डमा सात अंक ल्याउनु पर्ने हुन्छ । त्यो अंक ल्याउन नसक्ने नर्सहरुलाई वैकल्पिक पेशा अपनाउने उपायहरु छन् । केयररबाट पनि वर्क परमिट पाउन सकिन्छ । नेपालमा ग्राजुयसन गरेको छ भने यहाँ पब्लिक हेल्थमा मास्टर्स पनि गर्न सकिन्छ । यस्ता धेरै बाटाहरु छन् । एसोसिएसन बनेकै यसैका लागि हो ।

अघि यहाँले योग्यता पुगेका नर्सहरुलाई युके आउन सजिलो छ भन्नु भो । अलि खुलस्त पारिदिनुहोस् न ।
युकेमा नर्सहरुको खाँचो परेको हुनाले नेपाल नर्सिङ काउन्सिलमा रजिस्टर्ड भएका र हरेक ब्याण्डमा आइइएलटीएसमा ७ अंक ल्याएका नेपाली नर्सहरुले युकेको एनएचएसमा आफैँले वा कुनै माध्यममार्फत पठाएको खण्डमा एनएचएसले उनीहरुलाई सोझै पिन नम्बर पठाउने गरेको छ । पहिले योग्यता पुगेका नर्सहरु युके आएपछि पनि तीन महिना कोर्स गरेपछि मात्र त्यस्तो पिन नम्बर दिइन्थ्यो र काम गर्न पाइन्थ्यो । अनि यो सुविधा नेपालीलाई मात्र होइन संसारभरका सबै नर्सहरुलाई उपलब्ध छ ।

तपाईहरुले यसअघि पनि प्रलोभनमा पारेर युके ल्याएका नर्सहरुलाई उद्धार गर्छौँ भनेर भन्नुभएको थियो । खै त्यस्तो उद्धारको कथा त बाहिर आएन । कि त्यो भनाइ मात्र थियो ? 

हामीले भनेको मात्र होइन काम पनि धेरै गरेका छौँ । तर यहाँको नियम कानुन, व्यक्तिको व्यक्तिगत अधिकार आदिका कारण धेरै कुराहरु ‘कन्फेडेन्सियल’ राख्नुपर्ने हुन्छ । हामीले त्यस्ता समस्याहरु ट्रेड युनियनसम्म पनि पुर्याएका छौँ । जसलाई सहयोग गरेका छौँ उहाँहरुलाई थाहा छ । त्यस्ता कुरा बाहिर ल्याउन हामीलाई केही सीमाबन्देज छ ।

तपाईको भनाइअनुसार तीन हजारदेखि १० हजारसम्म नेपाली नर्स रहेछन् युकेमा । तर तपाईहरुको अधिवेसन, कार्यक्रमहरुको उपस्थिति हेर्दा त तपाईहरुले धेरैलाई समेट्न नसकेको देखिन्छ नि ?
हो, हामीले धेरैलाई समेट्न नसकेको होला । कार्यक्रमहरुमा जहाँसम्म उपस्थितिको कुरा छ ‘अनसोसल आवर’मा, चौबीसै घण्टा जहिलेसुकै काम गर्नुपर्ने हाम्रो व्यवसायको प्रकृतिका कारण पनि भौतिकरुपमा उपस्थिति हुन हामीलाई गाह्रो छ । तर हामीलाई हाम्रा सदस्यहरुको पूर्ण सहयोग र समर्थन प्राप्त छ । उपस्थितिलाई मात्र आधार बनाउने हो भने यहाँ डेढ लाख नेपालीको भनिएको संस्थाले गरेको कार्यक्रममा पनि ५०, ६० जना उपस्थित हुन्छन् त्योसित तुलना गर्ने हो भने हामी १० हजारको संस्थामा ३० जना उपस्थित हुनु कम्ती हो र ? तैपनि हामी लण्डनबाहिर जान सकेका छैनौँ । त्यो हाम्रो चुनौती हो ।

भन्नलाई व्यावसायिक भनिए पनि तपाईहरुको संस्थामा भित्रभित्रै राजनीति हाबी छ भन्छन् नि ?
नेपलिज नर्सेज एसोसिएसन विशुद्ध पेशागत संस्था हो । यहाँभित्र मतभेद हुनु, विचारधारा हुनु ठीकै हो । संस्थालाई अगाडि बढाउन त्यो हुनु पनि पर्छ । एउटा जीवन्त संस्थामा विभिन्न मत, विचार आउनु स्वाभाविक हो । विभिन्न विचार आउँछन् त्यसलाई छलफल गरेर एउटा निस्कर्षमा पुग्छौँ । त्यसैगरी, नेतृत्वमा आउन पनि धेरै साथीहरुको इच्छा हुनसक्छ तर बहुमतले जसलाई छान्छ उसलाई मानेर जान्छौँ । हाम्रो साधारणसभा नै यसको उदाहरण हो । एउटा कुरा चाहिँ प्रष्ट छ यो संस्था राजनीति गर्नलाई खोलिएको होइन ।

अध्यक्षमा निर्वाचित भएपछि संस्थालाई कसरी अगाडि बढाउने भन्ने तपाईको योजना पक्कै होला । के छ तपाईका योजनाहरु ?
मेरो कार्यकाल दुई वर्षको मात्रै भए पनि आगामी पाँच वर्षका लागि योजना ल्याऊँ भन्ने मेरो सोचाइ छ । युकेको मापदण्ड अुनसार नेपाली नर्सहरुको व्यावसायिक दक्षता अभिवृद्धि, क्षमता बढाउने किसिमका सेमिनारहरुको आयोजना गर्ने, एसोसिएसनबाटै लाइसेन्स नविकरण गर्ने व्यवस्था मिलाउने, मुगुमा वर्थिङ सेन्टर स्थापनाको कुरा पहिल्यै शुरु भएको हो त्यसलाई कार्यान्वयनमा ल्याउने र नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्ने लगायतका छन् ।

युकेजस्तो प्रविधिसम्पन्न देशको उच्चगुणस्तरीय स्वास्थ्य क्षेत्रमा काम गर्ने तपाईहरुले आफूले सिकेको सीप मातृभूमि नेपालका लागि साट्ने योजना त रहेनछ ?
हामीले आफूले यहाँ सिकेको सीप नेपालमा पनि सिकाउनका लागि काम गर्दै आएका छौँ । म आफैँले पनि पटकपटक नेपाल जाँदा विभिन्न अस्पताल र नर्सिङ कलेजहरुमा हामीले यहाँ कसरी काम गर्छौँ भन्ने बारेमा जानकारी गराएको छु । त्यसैगरी अरु साथीहरुले पनि नेपाल जाँदा त्यसो गर्दै आउनुभएको छ । हामीले प्रकाशन गरेका जर्नलहरु विभिन्न अस्पताल र कलेजहरुमा बाँड्दै आएका छौँ । हाम्रो कामको प्रचारप्रसार नपुगेको हुन सक्छ तर हामीले यस्तो कार्य स्थापनाकालदेखि गर्दै आएका छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री