लन्डन । बेलायतका लागि नेपाली पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसे चार वर्ष लामो कार्यकाल सकेर नेपाल फर्केको पनि लगभग ९ महिना बितेछ । तर, उनले छाडेको यो खाली कुर्चीमा आसिन हुन नयां महामहिम तत्काल आउने छांट अझै छैन् ।
‘नयां को आउनुहुन्छ अहिलेसम्म केही भेउ पाउन सकिएन’, दूतावास कर्मचारी यत्ति भन्छन्, ‘काठमाण्डौंमा सार्क सम्मेलनको तयारी तीव्र भइरहंदा सम्मेलन सकिएपछि यसले पूर्णता पाउंछ कि भन्ने आशामात्र छ ।’
राजनीतिक भागवण्डा नमिलेरै यो महत्वपूर्ण कुर्ची धेरै समयदेखि वेवारिसे रहेको अधिकांशलाई ज्ञात छ । अहिले राजदूतको अफिस संग्रहालय जस्तो दूतावास घुम्न आउनेलाई प्रदर्शनी गराउन मात्र उपयोग भए झैं देखिन्छ ।
नेपाल सरकारले ५० प्रतिशत कर्मचारी र ५० प्रतिशत राजनीतिक क्षेत्रबाट राजदूत नियुक्ति गर्ने निर्णय बमोजिम ६ जना कर्मचारीले हालै राजदूतको जिम्मेवारी सम्हालेका छन् । क्यानडा, बैंकक, फ्रान्स्, दक्षिण अफ्रिका, जिनिभा र कुवेतमा नियुक्ति भइसकेको हो । तर, राजनीतिक नियुक्ति मार्फत गरिनुपर्ने देशहरुमा अहिलेसम्म छिनोफानो हुन सकेको छैन् । बेलायत, भारत, बहराइन, ओमान, ब्राजिल, इजिप्ट, श्रीलंका, अमेरिका, कतार र जर्मनी नेपाली राजदूत विहीन छन् ।
लन्डनमा नेपाली राजदूत नआउंदा कामको चापमात्र होइन, नकारात्मक सन्देश समेत जान सक्ने चिन्ता कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको छ । ‘हामीलाई राष्ट्रका लागि केही बढि समय दिनु अप्ठेरो होइन तर धेरै समय राजदूत विहीन हुंदा बेलायत जस्तो सबैभन्दा ठूलो दातृराष्ट्रमा नकारात्मक सन्देश जान सक्छ’, क्षेत्रीले वीनेपालीसंग भने ।
यहां झण्डै डेढ लाख नेपाली भइसकेका र बेलायत कुटनीतिक सम्वन्ध स्थापना भएको पहिलो मुलुक भएकाले पनि राजदूतको आवश्यकता तड्कारो देख्छन् क्षेत्री ।
सन् १८१६ मा कुटनीतिक सम्वन्ध र सन् १९३४ मा लन्डनमा नेपाली दूतावास स्थापना भएयता हालसम्म १९ जना राजदूत यहां आइसकेका छन् । राजदूतहरुको जिम्मेवारी बेलायत नेपाल कुटनीतिक सम्वन्ध सुदृढ बनाउनु र नेपाली समुदायसंग निकट रहेर उनीहरुका पीर मर्कामा साथ दिनु रहेपनि अधिकांश महामहिमहरु व्यक्तिगत स्वार्थपूर्तिका लागि बढि समर्पित रहने गरेको आरोप बेला बेला सुनिने गरेको छ । ‘महामहिमज्यूहरु आफ्नो परिवारलाई जागिर दिलाउन र कार्यक्रमतिर डुल्दैमा व्यस्त रहनुहुन्छ’, एक अग्रजको गुनासोमिश्रित सुझाव थियो, ‘बेलायतजस्तो ठाउंमा आउने राजदूत अलिक योग्य हुन पनि जरुरी छ । धेरैमा भाषाकै समस्या देखिन्छ ।’