बिगत पांच बर्ष देखि लण्डनमा बस्दै आएका गुल्मी नेपालका ३४ बर्षीय अनिल जंग थापाको गत आइतबार बिहान लण्डन सेन्ट थोमस हस्पिटलमा आकस्मिक हृदयघात बाट उपचार गर्दा गर्दै मृत्यु भयो । प्रशस्तै साथीभाइ कमाएका अनिलको श्रीमती बाहेक नाताले नजिकको नातेदार कोही थिएन लण्डनमा, भलै आफन्तको भूमिका निभाउनेको कमी भने देखिएन । अमेरिकामा रहेका उनका मामा मोहन ज्ञवालीले यहांका केही समाजसेवीलाई घटनाको बारेमा बताएपछि उनको घरमा शोकाकुल अवस्थामा रहेकी स्वर्गीय अनिलकी श्रीमती सुनितालाई भेट्न पुग्नेको घुईचो छ ।
सिटिङ्ग रुमको एउटा कुनामा धपक्कै बोल्ला जस्तो नौजवानको फोटोमा क्यान्डल बालिएको छ । श्रीमती सुनिता अर्ध चेतनाको अवस्थामा माथि बिस्तारामा पल्टिएकी छन् । तल बैठकमा उपस्थितहरु दैवको लिला भन्दै सुईय गरिरहेका थिए । “अलिकति छाती दुख्यो भनेर संगै हस्पिटल गयौं, उतै छोडेर आउनु पर्यो, मलाइ त अझै पनि फर्केर आउला जस्तो लाईराछ “, अनिलका साथी नारायण अधिकारीले बोल्दा बोल्दै गला अवरुद्द पारे । “उसले हालैका दिनमा नेपाल जाने कुरा गरि रहेकोले पनि नेपालमै लगेर दाह संस्कार गर्ने परिवारको सोचाई छ, जिउंदो जान नपाएपनि उसको आत्मालाई शान्ति मिल्ला” घटना पश्चात परिवारसंग सम्पर्क र कोओर्डिनेशन गरिरहेका लण्डन बस्ने गुल्मी अर्खलेका भरत थापाले बताए । तेक्वान्दो खेलाडी समेत रहेका अनिल स्वस्थ जीवन शैलीमा जिउने व्यक्ति भएको कुरा उपस्थित हरु बताउंदै थिए । शोकमग्न घरमा जम्मा भएका साथीभाई नेपालमा रहेका परिवारको पीडा कल्पना गर्दा अमिलो मन पार्छन् । तीसौ बर्ष गुल्मी चारपालाको बिद्यालयमा प्रध्यानाध्यापक रहेका अनिलका बुवा लक्ष्मण अवकाश पश्चात परिवार सहित काठमान्डूमा बस्छन् । “बुवा पनि प्रेसरको बिमार भएकोले परिवारमा झन् चिन्ता थपिएको छ ” शोकाकुल सुनिता संगै रहेकी उनकी साथीले भनिन् ।
चार भाई मध्येका साइला अनिल परिवारका मात्रै होइन साथीभाईमा पनि अति नै प्रिय र मिलनसार भएर होला, दक्षिण पूर्वी लण्डनको नेपाली समुदायनै शोकमा डुबेको छ यतिखेर । मान्छेको जीवनमा मृत्युले कहांनेर पर्खेर बसेको छ भन्ने त कसलाई के थाहा, तर अकस्मात आइपर्ने यस्ता घटनाले परिवारजन लाई अकल्पनीय पीडाको भारी त दिन्छ नै, देख्ने सुन्नेलाई पनि जीवनको क्षणिकता महसुस गराई दिन्छ । उज्यालो सपना देखेर सात समुद्र पारीको सानो संसारमा रमाउदै गर्दा अचानक फुटेको त्यो जीवनको फोकोले प्रवासीहरुमाझ विदेशिनुको संवेदनशीलता अझै खडकाए जस्तो देखिन्थ्यो । मृत्युले परिवारमा दिने पीडाको मापन उमेरको हिसाबले पनि बढि हुदो रहेछ, जिउनै नपाएर जीवन छोड्न पर्नु अस्तित्वकै नजरमा पनि दुर्भाग्य हो । त्यस माथि परिणाम उही रहे पनि परिवार संगसंगै हुंदाको सुख दुख र टाढा हुंदाका घटनाको अनुभूतिको नापतौल फरक हुने देखिन्छ । हो यही फरक कस्टकर अनुभूतिको भोगाई बाट गुज्रेको छ अहिले अनिलको परिवार ।
इमर्जेन्सीमा भर्ना भए पछि पनि होसमै रहेका अनिल हस्पिटलको बेडमै बेहोस बने पश्चात उनलाई स्थानिय हस्पिटल बाट सेन्ट थोमस हस्पिटलमा चिकित्सक सहित सरुवा गरियो । तर त्यहां भएको मुटुको शल्यक्रिया पश्चात उनलाई मृत घोषणा गरियो । घरमै ठुलै स्केलको हार्ट एट्याक भएकालाई पनि समयमै हस्पिटल पुर्याएर बचाइने वर्तमान चिकित्सा विधिमा साथीभाई र श्रीमतीसंगै कुराकानी गर्दै हस्पिटल पुगेका अनिललाई लन्डन जस्तो सुविधा सम्पन्न हस्पिटलमा किन बचाउन सकिएन भन्ने चासो ब्यक्त भइरहे पनि पोस्ट मार्टम रिपोर्ट कुर्नुको विकल्प देखिएन ।
“अनिलका मामा मोहन भोलि न्यूयोर्कबाट आउंदै हुनुहुन्छ, त्यसपछि सबै तारतम्य मिलाएर नेपाल पठाउने काममा सहयोग र समन्वय गर्दैछौ”, केही साथीहरु संगै शोकमग्न घरमा पुगेका गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुन गौतमले बताए । उनीसंगै रहेका अर्का गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार समाजसेवी दाशु पाण्डे शव नेपाल पठाउनको लागी मृत्यु पर्यन्त सेवा दिने फ्युनेरल कम्पनीसंग फोनमा कुरा गर्दै थिए । “झन्डै चार लाख नेरु सम्ममा पठाउन सकिने भो” फोन राखे पछि उनले भने । “पोस्ट मार्टम रिपोर्ट र मृत शरीर हस्पिटलबाट फिर्ता पाए संगै नेपाल पठाउने तयारी छ”, गुल्मेलीहरुको टिमसंगै पुगेका सल्लाहकार खड्क रेश्मीले भने । मर्दा पर्दा भन्ने भावना बोकेका गुल्मेलीहरु यो दुःखद घडीमा सहयोगको लागि सक्रिय रुपमा खटेका छन् । यस अघि समाजकै उपाध्यक्ष बिनोद ज्ञवाली त्यहां पुगेर फर्किसकेका थिए । सहयोग र समाचार दुबैका लागि घरमा पुगेको म आफैं भावुक बनेर फर्किंए ।