लण्डन । खेलमा उति सारो रुचि थिएन उनको । त्यसो त युवावयमा खेलकुदबाट अछुतो रहने को नै पो होला र ? स्कुल पढ्दा पनि उति सारो उनलाई खेलले छोएन । अलिअलि सहभागिता जनाउन दौडिन्थे । वश !
सन् २००२ मा बेलायती सेनामा भर्ती भएपछि पनि कुशल लिम्बुको खेलसितको सम्बन्धमा कुनै आकाश जमिनको परिवर्तन आएन । त्यसो त गोर्खाली पल्टनभित्र खेलकुदका लागि गोरा पल्टनमा जस्तो प्रचुर अवसर र प्रोत्साहन पनि थिएन त्यसबेला ।
खै किन हो कुन्नि । सन् २००८ को बेइजिङ ओलम्पिक भने उनले पूरै हेरे टेलिभिजनमा । मूल ओलम्पिक सकिएको केही समयपछि हुने प्यारा ओलम्पिक पनि उनले छुटाएनन् ।
गोडा गुमाएकाहरुले कृत्रिम खुट्टा लगाएर दौडेको दृश्यले उनको मन खिच्यो । कृत्रिम खुट्टाका भरमा पनि कति हलुकासित फिलिलि दौड्न सकेको होला ? उनको मनमा यस्तै तरङ्ग उठिरह्यो ।
शायद त्यो पूर्व जनाउ थियो क्या रे । पारालम्पिक्स सकिएको महिना दिन नपुग्दै उनले दुवै गोडा गुमाउनु पर्यो ।
अफगानिस्तानको हेलमण्ड प्रान्तमा खटिएका थिए उनी । सन् २००८ नोभेम्बर १५ तारिखको दिन । दिउँसो १२/१ बजेतिर पट्रोलबाट गाडीमा फर्कँदै थिए । मुसाकला भन्ने ठाउँमा तालिवानले थापेको धरापमा उनको गाडी पर्यो । उनीसँगै गाडीमा बसेका गुरुजी ठाउँको ठाउँ भए । उनी र अर्का एक जना भाइ धन्नले बाँचे ।
हस्पिटलमा उपचार गराइरहँदा उनलाई त्यही प्यारालम्पिक्सको दृश्यले लखेटिरह्यो । लौरो टेकेर हिँड्नसक्ने हुन उनलाई एक वर्ष लाग्यो । तर यति बीचमा उनलाई त्यो बेइजिंग पारालम्पिक्सको दृश्यले अठोट गर्न बाध्य पारिसकेको थियो कि- अब मैले कृत्रिम खुट्टा लाएर दौड्नुपर्छ ।
दौड्ने निश्चय गरेपछि त्यही अनुसारले नक्कली खुट्टा बनाइयो । फिजियोथेरापी सोही मुताबिक गराइयो । बेलायतको आसफोर्डमा स्थानीय क्लवमा उनले आफूलाई भर्ना गराए । अब शुरु भयो वास्तविक कसरत । हप्ताको दुई/तीन दिन उनी अभ्यास गर्थे । त्यतिले नपुगेर जिमखानामा पनि स्वअभ्यास गर्थे ।
घाइते अमेरिकी सैनिकहरुबीच सन् २०१० देखि अमेरिकामा खेलकुद गराइन्थ्यो । वारिय गेम्स नाम दिइएको सो प्रतियोगितामा अमेरिकी सेनाभित्रका चारवटा टीमले मात्र भाग लिन्थे । सन् २०१३ मा कोलोराडोमा भएको खेलमा पहिलोपटक बेलायती सेनालाई पनि एउटा टीम लिएर आउन भनियो । राजकुमार ह्यारी बेलायती टीमसहित त्यहाँ पुगे ।
कुशलले त्यहाँ दुई स्वर्ण र एक काँस्य पदक जिते । एकसय मिटर र दुई सय मिटर दौडमा स्वर्ण जिते भने बसेर खेल्ने भलिबलमा काँस्य ।
प्रतियोगिताबाट कुशलले पदक भित्र्याए भने युकेले नयाँ खेल । सो प्रतियोगिताबाट प्रभावित भएर फर्किएका राजकुमार ह्यारीले विश्वभरकै घाइते, अशक्त भएका सैनिकहरुका लागि युकेमा इन्भिक्टियस गेमको शुरुवात गरे ।
क्वीन एलिजावेथ ओलम्पिक पार्कमा यसैवर्ष भएको सो खेलमा कुशलले जति खेलमा भाग लिएका थिए ती कुनैमा पनि खाली हात फर्कनु परेन । १३ देशका करिब ४०० खेलाडीले भाग लिएको सो खेलमा २०० मिटर दौड र सिटिङ भलिबलमा उनले स्वर्ण पदक जिते । १०० मिटर दौडमा रजत र १०० मिटर रिलेमा काँस्य । सिटिङ भलिबलमा उनीसितै स्वर्णपदक जित्ने नेपालीहरुमा विनोद बुढाथोकी, नेत्र राना र अनिल गुरुङ छन् ।
“१०० मिटरमा पनि मैले स्वर्णपदक जित्थेँ होला । त्यतिबेला श्रीमती ‘हेभी प्रेग्नेन्ट’ भएकाले दुईतिर समय दिनुपर्यो” थकथकी मान्दै उनी भन्छन् ।
त्यसो त उनले लण्डन २०१२ को प्यारालम्पिक्सका लागि जोड नगरेका होइनन् । उनको टाइमिङ पनि पुगेकै थियो तर प्रशासकीय त्रुटी पारालम्पिकमा ब्रिटेनको झण्डा फहराउने उनको मिसनको बाधक बनिदियो ।
अर्को इन्भिक्टिएस गेमका लागि अभ्यास गर्ने निर्णय उनले गरिसकेका छन् तर प्यारालम्पिक्सका बारेमा ? पहिले गाँजेमाजे भएकाले पनि होला उनी त्यति उत्साहित छैनन् । उनले भने ‘कोसिस चाहिँ गर्छु तर के हुन्छ भन्न सकिन्न’ ।
‘हेर्दा केही सकेण्ड दौड्ने जस्तो मात्र देखिन्छ तर त्यसका लागि खानपिन अभ्यास कति धेरै हुन्छ ? धेरैलाई थाहा हुँदैन’ उनी भन्छन् ।
तेह्रथुममा ३२ वर्षअघि जन्मेका लिम्बु अहिले पत्नी र भर्खरै जन्मेकी छोरीका साथ मेडिस्टोनमा बस्छन् । सेकेण्ड सेकण्ड गोरखा राइफल्सका उनलाई २११७०६६७ भनेर साथीभाइले चिन्छन् ।
पहिले अरु कृत्रिम खुट्टाका भरमा दौडेको टेलिभिजनमा हेरेका लिम्बुलाई यसपटक उनी आफैं कृत्रिम खुट्टाको सहारामा दौडेको टेलिभिजनमा अरुले हेरे । उनलाई चाहिँ यतिबेला कस्तो अनुभूति भैरहेको होेला ?
“सबै सोचेर ल्याउँदा मिश्रित अनुभूति हुन्छ । दुःख सोच्दा दुःखै लाग्छ । सफलता मात्र सोच्यो भने गर्व लाग्छ” गम्भीर हुँदै उनले भने ।
“पहिला जस्तो थिइयो अब त्यस्तो त गर्न सकिँदैन । दैनिक जीवन कृत्रिम गोडाका भरमा चलाउन सकिन्छ । धेरै गर्न सकिन्छ तर कतिपय काम अब सोच्न मात्र सकिन्छ” बोल्दाबोल्दै उनी भावुक बने ।
कुन इन्द्रियले उनलाई खेलकुदमा लाग्न प्रेरित गर्यो कुन्नि ? तर अहिले उनी खेलजीवनबाट अत्यन्त खुशी छन् । “पुरानो कुरा बिर्सन, दुःख बिर्सन धेरै मद्दत गर्यो । सफलताले आत्मविश्वास भरिदियो । नयाँ सोचाइ जगाइदियो” हर्षित हुंदै उनले भने ।
हुने हार दैव नटार भन्छन् । दुर्घटना र जन्मजात अपाङ्गता भएका कैयौँ नेपालीहरु अहिले पनि आफ्नो जीवनलाई आफैं भार ठानेर बााचिरहेका छन् । उनीहरुलाई तपाइँको केही सन्देश छ कि ? उनलाई सोधियो ।
“म अर्ती उपदेश दिने मान्छे होइन । दुर्घटनापछि धेरै कुराको ज्ञान हुँदो रहेछ । जो हुनु भइगो, त्यो चाहेर भएको पनि होइन । मैले जस्तो अवसर सबैले पाउँदैनन् तर मौका पाउँदा केही गरेर देखाउँ । अरुलाई प्रेरणा दिउँ ।”
कस्तो असल विचार !
सलाम छ कुशल तिम्रो आँटलाई ।
सबै तस्वीर कुशल लिम्बुको सौजन्यबाट प्राप्त भएका हुन् ।