लण्डन । नेपालभित्र अवसर नभएको दर्शाउँदै दैनिक सयौँ नेपाली विदेशिरहेको बेलामा बेलायतमा राम्रैसित जमेका नेपालीहरु भने नेपाल फर्किरहेका छन् ।
बेलायतमा स्थायीरुपमा बसोबास गर्न कागज भइसकेका, आर्थिक रुपले पनि आत्मनिर्भर त्यस्ता नेपालीहरु कोही नेपाल फर्किइसके त केही नेपाल फर्कने गोरेटो कोरिरहेका छन् ।
को को फर्किए ?
यति नेपाली एसोसिएन कुनै बेला युकेका नेपालीहरुको एउटै मात्र संस्था थियो । यो युकेमा रहेका सबै नेपालीको भेटघाट हुने चौतारी मात्र थिएन बेलाबखत युके आउने राजपरिवारसित त्यही संस्थामार्फत भलाकुसारी हुने गर्थ्यो । त्यसका एक कार्यकाल अध्यक्ष थिए नीमा लामा । लण्डनको एक्टनमा हिमालचुली रेष्टुरेण्ट चलाउने लामा आर्थिक रुपले स्वतन्त्र त हुने नै भए, सामाजिक प्रतिष्ठाका हिसाबले चिनिएकै थिए । तर उनी केही वर्षदेखि नेपालमा सरेका छन् । नेपालमा उनी रियल स्टेट व्यवसायमा संलग्न भएको बताइन्छ ।
अल्डरसटमा युरोपा होलसेल फुड लिमिटेड, युरोपा इन्भेष्टमेण्ट लगायतका व्यावसायिक प्रतिष्ठान खोलेका श्रीराम न्यौपाने नेपाल फिरेका छन् । पेशाले इन्जिनियर लामिछानेको नेपालस्थित कम्पनीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको केही भाग निर्माण गर्ने टेण्डर हात पारेको छ । यसबाहेक उनको हाइड्रोमा पनि लगानी रहेको बुझिएको छ ।
शुरुमा क्यास एण्ड क्यारी, त्यसपछि ट्याक्सी र फेरि क्यास एण्ड क्यारी व्यावसाय गरेका पत्रकार दीपक न्यौपाने पनि अहिले नेपालमै व्यवसाय गर्न फर्केका छन् ।
नर्थक्याम्पमा क्यास एण्ड क्यारी र एभरेष्ट तन्दुरी चलाएका हिमाल गुरुङ २० वर्ष युकेको बसोबास त्यागेर नेपाल फर्किएका छन् । युकेस्थित नेपाली काँग्रेसको संस्था नेपाली जनसम्पर्क समितिमा नेतृत्व तहमा रहेर काम गरेका उनले चितवनको सौराहामा होटल किनेको बताएका छन् ।
साउथइष्ट लण्डनका ब्यालकहिथमा खान रेष्टुरेन्ट चलाउाथे गुल्मीका ओमीलाल गौतम । माइला भेना भनेर साथीभाइ माझ चिनिने गौतमले त्यस क्षेत्रमा पुरानो मानिएको खान रेष्टुरेन्ट किनेका थिए । केही वर्ष भो उनी रेष्टुरेन्ट छोडेर नेपाल गएका छन् । गौतमका साथीभाइका अनुसार नेपालमा उनले प्रोपर्टीमा लगानी गरेका छन् ।
रेडिङमा पुरानो नेपाली रेष्टुरेन्टमध्ये एक हो हिमालयन हटस्पट तन्दुरी । त्यसका सञ्चालक थिए असलमान तामाङ । उनी पनि केही वर्षअघि नेपाल फर्किएका छन् । उनको रेष्टुरेन्टमा कुनैबेला काम गरेका व्यावसायी सुरेन्द्र श्रेष्ठका अनुसार तामाङ आफ्नो पुर्ख्यौली गाउँमै जग्गा किनेर कृषि व्यवसायका लागि फर्किएका हुन् ।
बेलायतबाट २४ घण्टा प्रसारण हुने नेपाली टिभीका संस्थापकमध्ये एक थिए सुशील थापा । सञ्चार क्षेत्रमा लगानी गरेका थापालाई युकेका नेपालीमाझ केन्द्रीत टेलिभिजन साँघुरो लाग्यो कि कुन्नि नेपाल पुगे र त्यहाँ त्यतिबेला चर्चामा रहेको ट्याबलोइड दैनिक नयाँपत्रिकामा लगानी गरे । अहिले उनको जुत्ता कारखाना, बैँक लगायत धेरै व्यवसायमा लगानी रहेको बताइन्छ ।
त्यसो त करिब दशकअघि नै सेन्ट्रल लण्डनको वारेन स्ट्रीटमा रहेको रेष्टुरेन्ट छोडेर नेपाल फिर्नेमा पर्छन् कलाकार विनोद मानन्धर । नायिका करिश्मा मानन्धरसित विवाहपछि उनले लण्डनमा रहेका मातापितालाई मात्र होइन आफू नै साझेदार रहेको रेष्टुरेन्ट समेत छोडेर नेपाल फर्किएका थिए ।
रेडिङको अर्को पुरानो रेष्टुरेन्ट स्ट्याण्डर्ड तन्दुरीका सञ्चालक चन्द्रसागर लामाका छोरा रेशम लामा पनि नेपाल फर्किएका छन् । रेडिङ युनिभर्सिटीबाट एमबीए गरेका लामा अहिले नेपालीहरुबीच लोकप्रिय मःमलाई व्यावसायीकरण र अन्तर्राष्ट्रियकरणको तिलस्मी सपना बोकेर नेपाल हाम्फालेका छन् । क्षेत्रपाटीमा मःम स्टेशन नामक कम्पनी खोलेका उनी देशविदेशमा मःम स्टेशनको फ्रेञ्चाइज खोल्ने महत्वाकांक्षी योजनामा छन् ।
बेलायतमा स्थापित कति नेपाली व्यवसायीहरु, कति प्रवुद्ध व्यक्तित्वहरु नेपाल फर्के त्यसको कुनै कसैसित तथ्याङ्क छैन ।एक व्यवसायी सुरेन्द्र श्रेष्ठ भन्छन्, “भित्रभित्रै नेपाल फर्कने धेरै छन् । मिडियामा बोल्ने, सामाजिक कार्यमा चन्दा दिने, कार्यक्रममा भाषण गर्नेहरु नेपाल फर्केको थाहा हुन्छ । अरुका बारेमा थाहा पत्तै हुँदैन ।”
प्वाँख लगाउँदैछन् अरु पनि
नेपाल फर्किन मन भए पनि यहाँ गरिआएको इलमधन्दा, चलिरहेको व्यवसाय चट्टै छोडेर जाने जोखिम उठाउनै गतिलै हिम्मत चाहिन्छ । त्यसैले होला अहिले धेरै व्यवसायीहरु नेपालमा लगानी गर्दै त्यसको परिणाम कस्तो आउला भनेर नाडी छामिरहेका छन् । भनेजस्तो भयो भने नेपाल फर्केर जाने उनीहरुको योजना छ ।
स्लाउमा एज एशिया नामक रेष्टुरेन्ट सञ्चालन गरिरहेका सुरेन्द्र श्रेष्ठले छोरी र श्रीमतीलाई केही महिनाअघि नेपाल छाडेर आए । उनी पनि रेष्टुरेन्ट बेच्न पाए नेपाल नै गएर बस्ने सोचाइमा छन् । तर अहिलेलाई भने स्थायीरुपमा उतै बस्ने होइन आउने जाने गरिरहने उनी बताउँछन् ।
युकेको अर्को व्यावसायिक घराना इभरेष्ट इन रेष्टुरेन्ट समूहले अहिले नेपालमा हाइड्रो, होटल र रिसोर्टमा लगानी गरेको छ । समूहका पशुपति भण्डारी भन्छन्, “काठमाडौँ र चितवनमा रिसोर्ट खोलिसक्यौँ। अब पोखरा र भैरहवामा पनि खोल्दैछौँ ।”
युकेमा २४ वर्ष बिताएका उनको समूहमा भाइ यादव भण्डारी पनि छन् । सो समूहले युकेमा मकारा बियर बिक्री गर्छ भने रेष्टुरेन्ट र नेपाली उपहार पसल चलाउँदै आएको छ । भण्डारी भन्छन्, “नेपालमा बिजनेस सेट अप भएपछि एक भाइ उता, एक भाइ यता बस्छौँ ।”
उता युकेको अर्को व्यावसायिक घराना कँडेल समूहले पनि केही वर्षयता नेपालमा लगानी बढाएको छ । ग्रुपका नरेन्द्र कँडेलका अनुसार अहिले द ब्रिटिश कलेजका अलावा हाइड्रो, अस्पताल, क्याटरिङ, होटल, आइटी आउटसोर्सिङमा ग्रुपले लगानी गरिसकेको छ । चाँडै नै स्कुल खोल्ने योजना पनि उनले सुनाए ।
युकेमा रेष्टुरेन्ट, कलेज, फार्मेसी, ग्रोसरी, मिडिया सञ्चालन गरिरहेको कँडेल ग्रुपका तीन भाइमध्ये एक पालैपालो नेपाल बस्ने गर्दछन् । कँडेल भन्छन्, “अहिले नै नेपाल फर्किने सोच त छैन । आउने-जाने भने गरिनै रहन्छौँ। हाम्रो सोच त ग्लोबल इन्भेष्टमेण्ट गर्ने छ ।”
यसबाहेक व्यक्तिगत र समूहगत रुपमा धेरै नेपालीले नेपालमा लगानी गरिरहेका छन् । बेलायतमा सम्भवतः सबैभन्दा धनी नेपाली मानिने युमी फेसनका उत्तम नेपालले ग्लोबल आइएमई बैाक, चन्द्रागिरी केबलकार, हाथवे इन्भेष्टमेण्ट आदिमा लगानी गरेका छन् । नेपालमा उनका भाइ नवराज नेपालले उनको लगानी रेखदेख गर्दछन् ।
युकेमा होली काउ नामक टेकवे चलाइरहेका एनआरएनए युकेका पूर्व अध्यक्ष कुल आचार्यको हाइड्रो, इन्टरटेन्मेण्ट कम्पनी, बैँक आदिमा लगानी रहेको छ । त्यस्तै, २०० जना पूर्व गोरखाहरुले सामूहिक लगानीमा गोरखा रिर्सोस कम्पनी स्थापना गरी पाल्पाको मन्दाकिनी हाइड्रोमा लगानी गरेका छन् ।
किन फर्कन्छन् नेपाल ?
आम मानिसहरु भन्छन्-नेपालमा नियम कानुन छैन । ढिलासुस्ती छ । कर्मचारी घुस माग्छन् । गुण्डाहरुलाई नपालेसम्म सुरक्षा हुँदैन । बत्ती छैन । पानी छैन । आन्दोलन हड्ताल हुन्छ । भनेको समयमा माग आपूर्ति गर्न मुश्किल छ । त्यसविपरीत युकेमा कानुनको राज छ । सुरक्षा छ । सरकारले साना होस् या ठूला लगानीकर्तालाई प्रोत्साहित गर्छ । तैपनि किन फर्कन चाहन्छन् नेपाली ?
बेलायतको व्यावसायिक र सामाजिक जीवन त्यागेर नेपाल फर्किएका हिमाल गुरुङले एभरेष्ट टाइम्स साप्ताहिकसितको अन्तर्वार्तामा भनेका छन्, “विदेशमा बसेर ‘आइडेण्टिटी’ गुमाउन चाहन्न । नेपालमै बसेर ‘आइडेण्टिटी’ बनाउन चाहन्छु । बरु मर्नै परे पनि नेपालमै मरे आत्मालाई शान्ति मिल्ला ।”
नेपाल जान एक खुट्टा उचालेर बसेका एनेकपा माओवादीको युके इञ्चार्ज समेत रहेका सुरेन्द्र श्रेष्ठ भन्छन्, “धेरै वर्ष यहाँ बसियो । अझै कति बस्ने ?” १८ वर्ष युकेमा बिताएका श्रेष्ठ ‘एकचोटी आउने ‘लाइफ’ कति ‘रुटिन लाइफ’मा मात्र बिताउने’ भनेर नेपाल जाने सोचाइ बनाएको बताउँछन् ।
युरोपमा थोरै नेपाली मात्र राम्रो कमाएको विश्लेषण तेर्स्याउँदै श्रेष्ठ भन्छन्, “नेपालमा राम्रो हुँदैछ । राम्रो भयो भने जो पनि नेपाल फर्कन्छ ।” युकेमा बस्दा सीमित नेपालीले मात्र चिन्ने तर नेपालमा सिंगो नेपालले चिन्ने सम्भावना भएकाले ठूलो परिधिमा चिनिन नेपालीहरु नेपाल फर्कन लागेको आँकलन उनको छ ।
उता पशुपति भण्डारी भने कति बाहिर मात्र लगानी गर्ने भनेर मातृभूमिप्रतिको मायाले नेपालमा लगानी गरेको प्रष्टिकरण दिन्छन् । शुरुमा पढाइ, त्यसपछि बच्चाबच्ची भए, त्यसपछि आफैँलाई स्थापित गराउन समय लाग्यो अब बालबच्चा बितरा पर्दैनन् भन्ने लागेपछि नेपालमा लगानी गर्न होमिएको उनी बताउँछन् । “हाइड्रोमा ‘रिटर्न’ तुरुन्त पाइने र होटल क्षेत्रमा पनि छिटोछिटो लगानी फिर्ता हुन्छ । अहिले थोरै भए पनि लगानी गर्न पाएकोमा गर्व लागेको छ” उनले भने ।
नेपाल क्याटरिङ एसोसिएसन, युकेका अध्यक्ष तथा नेपाली टिभीका सञ्चालक विजय थापाको विचारमा नेपालमा लगानीको प्रतिफल चाँडो आउने र सबै क्षेत्रमा वृद्धि हुँदै गरेकाले बेलायतका व्यवसायीहरु त्यता लागेका हुन् । “युकेको दबदबेमा फसेपछि नेपाल फर्कन मन लाग्छ । छोराछोरीको पढाइ, विहाबारी भैसकेका, आधा परिवार उतै भएका र ठूलो लगानी भएकाहरुलाई नेपाल फर्कन सजिलो छ” थापा भन्छन् ।
कँडेल ग्रुपका नरेन्द्र कँडेल भने नेपालमा फाइदाभन्दा मातृभूमिप्रतिको माया नै लगानीको कारण मान्छन् । नेपालमा बसेकाले भन्दा नेपाल बाहिरका नेपालीले नेपाललाई धेरै माया गरेजस्तो आफूलाई लाग्ने जिकिर गर्दै उनले भने, ‘बेलायतमा काम गर्न सजिलो त छ तर चुनौती र जोखिम झेल्दै आफ्नै देशमा अघि बढ्दा मिल्ने आनन्द बेग्लै हुन्छ ।’
नेपालीहरुलाई नेपालमा लगानी गर्न वा नेपाल फर्कनमा गैरआवासीय नेपाली अभियानले आत्मबल बढाएको अवश्य हो । र, उनीहरु नेपाल फर्कनुमा दामसहित र नाम कमाउने लोभले पनि थोरबहुत काम गरिरहेको छ ।